१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नेपाल र युएईबीचको खेलमा समर्थन गर्दै घरेलु दर्शक । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:५८:oo
Read Time : > 5 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्वकप एसियन छनोट : विश्वकपमा पुर्‍याउने नेपालका सारथि

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:५८:oo

सन् २०१४ पछि विश्वकपमा स्थान सुरक्षित गर्ने क्रममा नेपालले सेमिफाइनलमा कट्टर प्रतिद्वन्द्वी युएईमाथि आठ विकेटको सानदार जित निकाल्यो

नेपालले मूलपानीको माथिल्लो मैदानमा युएईलाई हराउँदै दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान रक्षा गरेको छ । अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालले शुक्रबार युएईलाई आठ विकेटले हराउँदै स्थान पक्का गरेको हो । पहिलो ब्याटिङ गरेको युएईले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३४ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले १७.१ ओभरमा दुई विकेटको नोक्सानीमा एक सय ३५ रनको योगफल खडा गर्‍यो । 

नेपालको जितमा ओपनर आसिफ सेखले सर्वाधिक ६४ रनको योगदान गरेका थिए । यसैगरी, गुल्सन झा र रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि महत्ववपूर्ण ६८ रनको साझेदारी गरे । यसअघि बलिङका क्रममा अलराउन्डर कुशल मल्लले ११ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारेका थिए । सन्दीप लामिछानेले दुई तथा रोहितले एक विकेट लिए । 

युएईको ब्याटिङमा तेस्रो क्रमका ब्याट्सम्यान भृत्या अरविन्दले ५१ बल सामना गरी आठ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ६४ रन बनाए । ओपनर मुहमद वासिमले २६ रन बनाए । नेपालले अब आइतबार उपाधिका लागि ओमानको सामना गर्नेछ । समूह ‘ए’को अन्तिम खेलमा ओमानले नेपाललाई पाँच रनले हराएको थियो । ओमानले त्रिवि मैदानमा बहराइनमाथि १० विकेटको जित निकाली विश्वकप स्थान सुरक्षित गरेको हो । 

कुशल प्रशिक्षक देसाई
नेपालको विश्वकप यात्रामा भुल्न नमिल्ने नाम हो, प्रशिक्षक देसाई । गत फेब्रुअरीमा उनी नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक बनेका थिए । जब उनको आगमन भयो, त्यसपछि नेपाली क्रिकेटले एकपछि गर्दै अन्तर्राष्ट्रिय खेलमा सफलता चुमिरहेको छ । आइसिसी विश्वकप लिग–२ मा तेस्रो स्थान दिलाउन र एकदिवसीय विश्वकप ग्लोबल छनोट पुर्‍याउनमा उनको योजना र भूमिकालाई सलाम नै गर्नुपर्छ ।

चाहे एसिया कप होस् वा १९औँ एसियाडमै निक नहोस् । नेपाली खेलाडीले गरेको बहादुरी प्रदर्शनको पछाडि प्रशिक्षक देसाईको रणनीतिक योजना नै मुख्य आधार हो । निकै छोटो समयमै उनले नेपाली खेलाडीलाई जितको बानी दिलाए । क्षमता र खेल अवस्थाअनुसार खेलाडी छनोट गर्ने र खेलाउने खुबी उनको हो । साथसाथै उनको अर्को विशेषता भनेको नतिजाजस्तो आए पनि सधैँ ‘हयाप्पी ड्रेसिङ रुम’ अवधारणा हो ।

चालू विश्वकपमा समेत अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएर बाहिर रहे, उनले सन्दीप जोरा र विवेक यावदलाई प्रयोग गरे । एक किसिमले यो प्रयोग सफल नै भएको देखिन्छ । छोटो अवधिमै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा चिनाउन सफल भएका देसाईको अबको लक्ष्य टी–२० विश्वकपमा समेत नेपाललाई राम्रो नतिजा दिलाउने हो । 

नेपाली क्रिकेटका सारथि

कुशल भुर्तेल 
ओपनर भुर्तेल आकर्षक स्ट्रोक मेकर हुन् । टी–२० र एकदिवसीय खेलको पावर प्लेमा उनी आकर्षक ब्याटिङ गर्न रुचाउँछन् । नेपाललाई दोस्रोपटक टी–२० विश्वकपमा उनको योगदान महत्ववपूर्ण मानिन्छ । सिंगापुर, मलेसिया, ओमान र युएईविरुद्धको सेमिफाइनलमा भुर्तेलले नेपाललाई राम्रो सुरुवात दिलाए । नेपालको ब्याटिङमा उनी धेरै रन बनाउने सूचीको शीर्ष स्थानमा छन् । उनले चार इनिङ्समा ३८.५० औसतमा एक सय ५४ रन बनाए । उनले सिंगापुरसँगको खेलमा ४८ बलमा सर्वाधिक ७४ रन जोडे । मलेसियाविरुद्ध २५ बलमा ४३ रन, ओमानसँग १८ बलमा २६ रन र युएईविरुद्ध उनले ११ रनको योगदान दिए । यसक्रममा उनले नौ छक्का प्रहार गरे । 

आसिफ शेख
शेखको सबैभन्दा राम्रो पक्ष नै धैर्यता हो । जब क्रिजको एकछेउमा साथी विस्फोटक ब्याटिङ गरिरहेका हुन्छन् । त्यसवेला शेख शान्तसँग खेलिरहेका हुन्छन् र स्ट्राइक परिवर्तन गरिहन्छन् । चारै खेलमा उनले यस्तै भूमिका निर्वाह गर्दै नेपाललाई १० वर्षपछि विश्वकप पुर्‍याउन योगदान दिए । नेपाली खेलाडीमध्ये दोस्रो सर्वाधिक रन बनाउनेमा उनी पर्छन् । उनले चार इनिङ्समा ४२.६६ औसतमा एक सय २८ रन जोडेका छन् । शेखले आफ्नो टी–२० करिअरमा युएईसँगको इनिङ्स उनले जीवनभर सम्झिरहनेछन् । यस खेलमा उनले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । म्यान अफ दी म्याचसमेत भएका उनले अन्तिमसम्म नेपाललाई सानदार जित दिलाए ।

रोहितकुमार पौडेल
नेपालले विश्वकपमा स्थान बनाउन रोहितले कुशलतापूर्वक कप्तानी गरेका छन् । गत वर्ष कप्तानीको जिम्मेवारी काँधमा आएदेखि नै उनले आफूलाई खेलसँगै कप्तानीको नेतृत्वमा समेत परिपक्वता गराएका छन् । ओमान र मलेसियासँगको खेलबाहेक उनले विश्वकपको छनोट यात्रामा राम्रै प्रदर्शन गरेका छन् । आवश्यक परेका वेलामा बलिङ गर्न र खेलाडीलाई मौका दिन उनी चुकेनन् । युएईसँगको सेमिफाइनलको अति नै महत्ववपूर्ण खेलमा उनले एक किसिमले अलराउन्डर प्रदर्शन नै गरे । ब्याटिङमा नटआउट ३४ रन जोडेका उनले एक ओभर बलिङ गरी एक विकेट लिए । यद्यपि, उनले मलेसियासँगको खेलमा १८ रन खर्चेर एक विकेट लिन 
सफल भए । 

सन्दीप लामिछाने
गत साता नेपाल, हङकङ र युएईबीच भएको त्रिकोणात्मक टी–२० सिरिजमा सन्दीप व्यक्तिगत कारण देखाउँदै सहभागी भएनन् । तर, उनले नेपाली क्रिकेटकै महत्ववपूर्ण खेलका रूपमा रहेको टी–२० विश्वकपमा भने खेले । त्रिवि र मूलपानीको माथिल्लो मैदानमा सन्दीपको बलिङ चल्यो । कुनै पनि खेलमा उनी विकेटविहीन हुनुपरेन । नेपालले १० वर्षपछि विश्वकपको स्थान सुरक्षित गर्दा उनको प्रभावशाली प्रदर्शनलाई विर्सन हुन्न । सेमिफाइनलमा मेडन विकेट लिएका थिए । उनले युएईविरुद्ध १४ रन खर्चेर दुई विकेट लिए । समग्रमा उनले चार खेलमा सात विकेट लिँदा ८४ रन खर्चेका थिए । चालू विश्वकपको छनोटमा उनी इकोनोमी बलिङ गर्ने बलरमा पर्छन् । 

सोमपाल कामी
नेपाली क्रिकेटरमा भाग्यमानी खेलाडीमा सोमपाल पर्छन् । दोस्रोपटक विश्वकप खेल्ने खेलाडीमा उनी एक्लो खेलाडी हुन् । सन् २०१४ को विश्वकप खेलेका उनी दोस्रोपटक त्यही यात्रामा पुग्दा दंग छन् । १० वर्षदेखि निरन्तर टोलीमा परेका सोमपालले एसियन छनोटको खेलमा तीन विकेट लिएका छन् । सुरुवाती स्पेलमै बलिङ गर्दा उनले विपक्षी ब्याट्सम्यानलाई सहजै धरापमा राख्न सक्छन् । ओमानविरुद्ध दुई र युएईसँग उनले एक विकेट हात पारे । समूह ‘ए’को अन्तिम खेलमा उनले ओमानविरुद्ध १२ रन जोडे । उनले मलेसिया र सिंगापुरविरुद्धको खेलमा स्तरीय बलिङ गरे पनि विकेट लिन सकेनन् । 

कुशल मल्ल
टी–२० फर्म्याटमा कुशलले निकै आक्रामक खेल खेलिरहेका छन् । टी–२० खेलमा उनको नाममा एउटा गज्जबको रेकर्ड छ । उनले १९औँ एसियाडमा मंगोलियाविरुद्ध केवल ३४ बलमा शतकीय इनिङ्स खेले । त्यसपछि उनी एकाएक अन्तर्राष्ट्रिय क्रिकेटमा छाए । कम बलमा विस्फोटक ब्याटिङ गर्ने र स्ट्राइक रेट दुई सयभन्दा बढीमा खेल्न रुचाउने मल्लले चालू विश्वकप छनोटमा ब्याटिङ र बलिङका क्रममा एक–एक खेलमा चम्के । युएईसँगको सेमिफाइनलमा उनले नपत्याउँदो रूपमा ११ रन खर्चेर तीन विकेट लिए । मलेसियाविरुद्ध उनले ६५ रन जोडे । यद्यपि, उनी एक खेलमा ब्याटिङ क्रममा चम्के पनि उनी क्रिजमा हुँदा विपक्षी बलर डराउने गर्छन् । जुन उनको खुबी नै यही हो । 

करण केसी
लगभग एक दशकदेखि करण नेपालकै प्रारम्भिक पेस बलरका रूपमा छन् । विपक्षी ओपनर ब्याट्सम्यानलाई आफ्नो पेसमा पेभेलियन फर्काउन सक्षम करणले विश्वकप छनोटमा एकपटक ब्याटिङको अवसर पाउँदा न्याय दिए । उनले ओमानसँगको समूह विजेता हुने खेलमा ब्याटिङ र बलिङमा चम्के । सो खेलमा उनले बलिङतर्फ ४३ रन खर्चेर तीन विकेट लिए । ब्याटिङमा १५ रन बनाए । समग्रमा उनले चार खेलमा पाँच विकेट लिए । युएई र मलेसियासँगको खेलमा उनी विकेटविहीन भए । 

गुल्सन झा
गुल्सनले नेपाली टोलीमा डेब्यु गरेको एक वर्षभन्दा अलि धेरै भयो । यस अवधिमा उनले आफूलाई टोलीका एक महत्ववपूर्ण खेलाडीका रूपमा स्थापित गरेका छन् । निरन्तर नेपालको अन्तर्राष्ट्रिय खेलको अनुभव बटुल्दै उनले अलराउन्डर भूमिकाका रूपमा आफूलाई स्थापित गर्न कोसिस गरिरहेका छन् । प्रशिक्षक मोन्टे देसाईले वेला–वेलामा खेलाडीका अर्डर परिवर्तन गरिरहेका हुन्छन् । सेमिफाइनलमा पनि उनले एउटा प्रयोगका रूपमा गुल्सनलाई तेस्रो क्रममा पठाए । गुल्सनले पनि आफ्नो जिम्मेवारीलाई न्याय दिन सफल रहे । उनले आसिफसँग दोस्रो विकेटका लागि ४१ रनको महत्ववपूर्ण साझेदारी गरे । उनले २४ बलमा तीन चौका प्रहार गरी २२ रन जोडे । उनले समग्रमा उनले चार खेलमा चार विकेट लिएका छन् । युएईसँग उनले २४ रन खर्चिँदा विकेटविहीन भए । 

सन्दीप जोरा
मध्यक्रमका ब्याट्सम्यान जोराले चालू विश्वकप एसियन छनोटमा दुई खेलमा मौका पाए । ओमानसँगको खेलमा माथिल्लो अर्डर ब्याटिङ गर्ने अवसर पाउँदा उनी चुके । तर, नेपालले दोस्रोपटक विश्वकपमा स्थान बनाउन उनले मलेसियाविरुद्ध अविजित १८ रनको योगदान दिएका थिए । सन् २०१९ मा उनले युएईविरुद्ध अन्तर्राष्ट्रिय टी–२० मा डेब्यु गरेका थिए । 

विवेक यादव
घरेलु क्रिकेटमा विवेक नाम चलेका खेलाडी नै हुन् । अलराउन्डर दीपेन्द्रसिंह ऐरी सिंगापुरविरुद्धको खेलअगाडि नै चोटग्रस्त भए । उनको सट्टामा विवेकले स्थान पाए । ओमानसँगको खेलमा नेपाल निकै खराब अवस्थामा रहँदा विवेकले विस्फोटक ब्याटिङ गर्दै जितको आशा दिलाए । यद्यपि, नेपाल पाँच रनले पराजित भए पनि विवेकको इनिङ्स सबैले सम्झेका छन् । उनले नवौँ क्रममा ब्याटिङ गरी २४ बलमा पाँच छक्का प्रहार गरी ३९ रनको योगदान दिए । मलेसियासँगको दुई खेलमा उनले दुई रन जोडे । 

अभिनाश बोहरा
१९औँ एसियाडपछि बोहरा उत्कृष्ट फर्ममा छन् । मध्यगतिका बलर बोहराले विश्वकप छनोटमा आफ्नो प्रभावशाली बलिङले प्रभावित पारेका छन् । उनले युएईसँग बोहक अन्य खेलमा विकेट लिँदै नेपाललाई सेमिफाइनलसम्म पुर्‍याए । समग्रमा उनले चार खेलमा आठ विकेट लिए । सिंगापुरविरुद्धको प्रतिस्पर्धामा १८ रन खर्चेर उनले दुई विकेट हात पारे । कुनै समय नेपालको प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहेको मलेसियासँगको खेलमा उनले सर्वाधिक चार विकेट नै लिए । यसक्रममा उनले चार ओभरमा २७ रन मात्र खर्चेका थिए । समूह विजेता छिनोफनो हुने खेलमा उनले कसिलो बलिङ मात्र गरेनन्, एक ओमानी ब्याट्सम्यानलाई समेत आउट पारे । 

ad
ad