नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर, नेपालले अवसरको सदुपयोग गर्ने युनेस्कोको विश्वास
चलचित्र विधाबाट युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रिएटिभ सिटिज नेटवर्क)मा काठमाडौं महानगर छनोट भएको छ । हरेक वर्ष २१ अक्टोबरमा मनाइँदै आएको विश्व सहर दिवसको अवसरमा युनेस्कोले मंगलबार काठमाडौंलाई सिर्जनशील सहरमा छनोट गरेको हो ।
रचनात्मक सहरका लागि तोकिएका सात क्षेत्रमध्ये काठमाडौं महानगरले चलचित्र विधा चयन गरेको थियो । युसिसिएन (युनेस्को क्रिएटिभ सिटिज नेटवर्क)मा आबद्ध हुन शील्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये एक विधालाई छान्नुपर्ने प्रावधान थियो । यीमध्ये महानगरले चलचित्र विधा छानेको थियो । सञ्जालमा एक सय देशका तीन सय ५० सहर आबद्ध छन् । यसपटक ५५ वटा सहर थपिएका छन् । रचनात्मक सहरका सबै विधा काठमाडौंसँग सम्बन्धित भएकाले चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने हुँदा यो विधा छानेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘सातमध्ये चलचित्र विधाले बाँकीलाई समेट्ने भएकाले हामीले यो छनोट गरेका थियौँ,’ प्रवक्ता मानन्धरले भने, ‘काठमाडौं चलचित्र सहरको रूपमा छनोट भएसँगै राष्ट्रलाई निकै फाइदा हुने भएको छ । सिंगो देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन अवसर प्राप्त भएको छ ।’
रचनात्मक सहरमा आबद्ध हुन महानगरले गत ४० पृष्ठको फाराम भरेको थियो । काठमाडौंसहित ललितपुर महानगरले पनि विधामा फाराम भरेको थियो, तर काठमाडौं मात्र छनोट भएको हो । यस वर्ष सञ्जालमा जोडिएका सहरमध्ये काठमाडौंसहित पाँच सहर चलचित्र विधातर्फका छन् । यस्तै, संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा सातवटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार)मा सात, मिडिया कलामा चार सहर जोडिएका छन् । महानगरले रचनात्मक सहरमा आबद्ध हुने निर्णय गरेपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको थियो । सरोकारवालाबीच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पत्तिको नक्सांकनसहित चार वर्षका लागि कार्ययोजना तयार पारेर प्रस्तावसहित पेस गरिएको थियो ।
युनेस्को रचनात्मक सहरमा छानिए के हुन्छ ?
कार्यक्रम अन्तर्गत चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योग सन्चालन, संरक्षण र प्रवद्र्धनका लागि आवश्यक नीति, अनुसन्धान र विकासका लागि काठमाडौं क्रिएटिभ आट्र्स काउन्सिल (केसिएसी, केएमसी) स्थापना हुनेछ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रम र गतिविधि कार्यान्वयन गर्नेछ । उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माणलाई प्रतिभाको रूपमा प्रोत्साहन गरिनेछ । चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति–तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिनेछ ।
चलचित्र र अन्य रचनात्मक उद्योगका लागि विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गरिनेछ । पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने सहर निर्माण गरेर लागतप्रभावी चलचित्र निर्माणको वातावरण बनाइनेछ । ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरूको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवद्र्धन, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पु¥याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ । चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधा, चलचित्र विद्यालय, उद्योगका विधागत सीप र सिकाइहरूलाई सञ्जालमा आबद्ध गरेर प्रवद्र्धन गरिनेछ । अभिलेख, पुस्तकालय र संग्रहालयको विकास हुनेछ । स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्योग सञ्चालन गर्न सहयोग पुग्नेछ । व्यञ्जन, कला र शिल्प, हस्तकला उद्योगको प्रवद्र्धन र मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीको आयोजना गरिनेछ । अन्तर्राष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिटजस्ता कार्यक्रम सञ्चालन हुनेछन् ।
युनेस्को क्रिएटिभ सिटिज नेटवर्कका लागि पाँच करोड बजेट
कार्यक्रम सञ्चालनका लागि महानगरले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले बजेट अभाव हुन नदिनेसमेत प्रतिबद्धता जनाएको छ । युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले नेपाल प्रकृति र सम्पदामा अलौकिक रहेको भन्दै यो विधालाई उपयोग गर्नुपर्ने बताए । ‘नेपाल आउनुअघि यहाँको प्राकृतिक र सांस्कृतिक विविधताका विषय थाहा थिएन । यहाँ आएपछि बुझेँ, यहाँको प्रकृति र सम्पदा अलौकिक रहेछन् । मजस्तै नेपाल र काठमाडौंका विषयमा जानकारी नहुनेलाई चलचित्र विधाबाट गरिने क्रियाकलाप प्रवद्र्धनका लागि उपयोगी हुनेछन् । यो काठमाडौंका लागि अवसर हो । यसलाई उपयोग गर्नुपर्छ,’ उनले भने ।