देशभर करिब ६० प्रतिशत घर एकतले रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जनगणनाको बाँकी विवरण सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । नेपालभर रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले रहेको उल्लेख छ । अर्थात्, देशभर ४५ लाख १७ हजार ६ सय ४५ घर एकतले रहेका छन् ।
तथ्यांकअनुसार देशभर दुईतले घर २८.७८ प्रतिशत, तीनतले घर ९.१७ प्रतिशत र चारतले घर १.३ प्रतिशत रहेका छन् । त्यस्तै, पाँचदेखि साततले घर ०.६४ प्रतिशत, ८ देखि ९ तले ०.०१ प्रतिशत र १० भन्दा बढी तला भएका घर ०.००३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
मधेश प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४.४२ प्रतिशत रहेका छन् । पाँच वा सोभन्दा बढी तला भएका घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् २.३४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
सय वर्ष आयु भएका घर ०.५ प्रतिशत मात्रै
घर तथा घरपरिवार सूचीकरण फाराममा संकलित विवरणमध्ये घरको मुख्य प्रयोग र घरको आयुअनुसार नतिजा सार्वजनिक गरिएको छ । घरको आयुलाई १२ प्रकारका गरी ० वर्ष, १ वर्ष, २ वर्ष, ३ वर्ष, ४ वर्ष, ५–९ वर्ष, १०–१४ वर्ष, १५–१९ वर्ष, २०–२९ वर्ष, ३०–४९ वर्ष ५०–९९ वर्ष र १०० वर्षभन्दा माथिमा वर्गीकरण गरिएको छ । जसअनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ० देखि ४ वर्षका रहेका छन् । सबैभन्दा कम १०० भन्दा बढी वर्षका ०.५ प्रतिशत घर रहेका छन् ।
घरनिर्माणमा सरकारी अनुदान कतिले लिए ?
देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
जनसंख्याको २५.५६ प्रतिशतसँग बैंक खाता
देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये ४१ लाख २२ हजार ६ सय ९० (६१.८९ प्रतिशत) परिवारमा कम्तीमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिन्छ । यस्तै, कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १ सय ८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्था (सहकारी संस्थाबाहेक)मा कम्तीमा एउटा खाता रहेको देखिन्छ ।
यसैगरी, कुल १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको नतिजामा उल्लेख छ ।
कुल परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिन्छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत देखिन्छ ।
देशभरका कुल परिवारमध्ये ८ लाख ३६ हजार १ सय २७ अर्थात् १२.५५ प्रतिशत परिवारमा कम्तीमा १ जना व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएको देखिन्छ । त्यस्तै, १८ वर्ष वा सोभन्दा माथि उमेरसमूहको कुल जनसंख्यामध्ये १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात् ५.६७ प्रतिशतले यस्तो तालिम लिएको देखिन्छ ।
कार्यालयले गत ३० भदौ ०७८ देखि १८ असोसम्म (बीस दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २५ कात्तिक ०७८ देखि ९ मंसिरसम्म (पन्ध्र दिन) प्रत्येक व्यक्ति तथा परिवारको बारेमा विस्तृत विवरण संकलन गरिएको थियो । राष्ट्रिय जनगणनाका प्रमुख नतिजाहरू सार्वजनिक गरिसकेको थियो । अन्य थप विस्तृत नतिजा तथा विश्लेषणात्मक प्रतिवेदनहरू सार्वजनिक गर्ने क्रममा छन् ।
यसै सन्दर्भमा घर तथा घरपरिवार सूचीकरण फारामअन्तर्गत संकलित विवरणहरूमध्ये घरको मुख्य प्रयोग, घरको तला, घरको मुख्य प्रयोगअनुसार घरको आयु, सरकारी अनुदान प्राप्त गरी आवासीय घर निर्माण गरेका परिवार, बैंक तथा वित्तीय संस्थामा खाता भएका परिवार, प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका परिवार र बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएका परिवारसम्बन्धी सूचकहरू समेटी नतिजा प्रकाशन गरिएको हो ।