कुनै समयमा गौतम बुद्ध एउटा आँपको बगैँचामा विश्राम गरिरहेका थिए । आँप पाक्ने मौसम थियो । त्यहाँ बालबालिकाको एउटा समूह आइपुग्यो । उनीहरू सबैले अपरिचित बुद्धको कुनै पर्वाह नगरी रुखमा ढुंगा बर्साए । रुखबाट हुरुरु आँप झरे । झरेका मिठा आँप खाँदै उनीहरू खुब रमाए । झरेका आँप खाइसकेपछि उनीहरू फेरि रुखतिर ढुंगा बर्साउन थाले । यसपटक भने संयोगले एउटा ढुंगा बुद्धको खुट्टामा बज्रिन पुग्यो । उनको खुट्टामा चोट लाग्यो । खुट्टाबाट रगत बग्न थाल्यो ।
त्यो देखेपछि त्यहाँ उपस्थित बालबालिका निकै डराए । उनीहरू त्यहाँबाट कुलेलम ठोक्न चाहन्थे । तर, बुद्धले उनीहरूलाई देखिसकेको हुनाले उनीहरू भाग्न पनि सकेनन् । त्यसैले, उनीहरूले आफूहरूको गल्ती स्विकार्दै बुद्धसँग माफी मागे । आफ्नै गल्तीले गर्दा बुद्धको खुट्टामा चोट लागेको भन्दै उनीहरूले आफूहरूलाई माफी दिन आग्रह गरे ।
आफ्नो अगाडि हात जोडेर उभिएका बालबालिकालाई हेर्दै बुद्धले शान्त हुँदै भने– बाबुनानीहरू हो ! माफी त तपाईंहरूले होइन, मैले पो माग्नुपर्छ । किनकि, एउटा सामान्य रुखले तपाईंहरूले प्रहार गरेको ढुंगाको बदलामा आँप दियो । तर, एउटा मान्छे भएर पनि मसित तपाईंहरूलाई दिन केही छैन । उल्टै मैले त तपाईंहरूलाई त्रास दिएँ । बरु, सक्नुहुन्छ भने तपाईंहरू मलाई माफी दिनुहोस् है !