
विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार
बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुईवटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको विद्युतगृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । मुख्य क्यालनमा रहेको अस्थायी पाइप हटाई उक्त स्थानमा पाइप जडान गर्ने कार्य भइरहेकाले विद्युत् सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाका प्रमुख नारायणप्रसाद कर्णले बताए ।
यही कात्तिक ९ देखि २२ गतेसम्म पुनर्निर्माण कार्य हुने भएकाले १३ दिनसम्म यहाँ विद्युत् सेवा उपलब्ध नहुने प्रमुख कर्णले जानकारी दिए । हिउँदयाममा भारी हिमपात हुने, तर विद्युतका लागि आवश्यक पानी नपुग्नुका साथै पहिरो जाने भएको हुँदा हिमपात हुनुअगावै मर्मत गरिएको हो ।
विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको छ भने दसैँ बिदा सकिएलगत्तै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय खुला हुने भए पनि विद्युत् सेवा अवरुद्ध हुँदा काम गर्न असहज हुने भएको छ । यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब दुई हजार दुई सयभन्दा बढी सेवाग्राही प्रभावित भएका छन् ।