१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख १८ मंगलबार o६:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

जुगल क्षेत्रमा हिमाल आरोही र पर्यटक बढे

भर्जिन हिमालमा पर्यटक

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:३३:oo

सरकारले जुगल हिमाल आरोहण खुला गरेपछि यस क्षेत्रमा आरोही र विदेशी पर्यटक बढेका छन् । सफा मौसमको फाइदा लिँदै विदेशी पर्यटक जुगल क्षेत्रको प्राकृतिक दृश्यावलोकन गर्न हिमाली क्षेत्र आएका हुन् । 

दसैँ लागेयता जुगल गाउँपालिकामा सयभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । दुई समूह हिमाल चढ्न आएका छन् भने अरू समूह हिमालमुनि रहेको नेपेमासालसम्म आएका छन् । 

जुगल हिमाल क्षेत्रको आरोहणमा आएका दुई समूह अहिले याङ्खर्क बेसक्याम्पमा छन् । एउटा समूह ६,७३७ मिटर अग्लो फुर्वाघेच्यु हिमाल आरोहण गर्न प्रयत्न गरिरहेकाे छ । अर्को समूह जुगल– ३, जुगल– ४ र जुगल– ५ मध्ये कुनै एक चढ्ने योजनामा छ । यी सबै भर्जिन हिमाल हुन् । नेपाल सरकारले गत वर्ष मात्रै यी हिमालको आरोहण अनुमति खुला गरेको थियो । 

पर्यटन विभागमा दुई सय डलर तिरेपछि जुगल हिमाल आरोहण गर्न अनुमति पाइन्छ । आरोहीमध्ये एक समूह जुगल गाउँपालिकाको गुम्बा हुँदै बेसक्याम्प पुगेकाे छ भने अर्को समूह मेलम्ची, भोताङ, पाँचपोखरी हुँदै जुगलको दीपु निस्केर याङ्खर्क पुगेकाे छ । दुवै समूहले हिमाल आरोहण प्रयासलाई जारी राखेका छन् ।

यसअघि ६,१५० मिटर अग्लो ग्याल्जेन पिकको सफल आरोहण भइसकेको छ । हिमाल आरोहण र पर्यटन क्षेत्रलाई मजबुत पार्न स्थानीय सरकार लागिरहेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । पर्यटक आगमनलाई ध्यान दिएर विकट भूगोल भए पनि पूर्वाधारको काम जारी रहेको उनले बताए।

भौगोलिक कठिनाइ र पूर्वाधारकाे विकास नहुँदा थुप्रै काम अधूरा

विदेशी पर्यटक आउँदा आवश्यक पूर्वाधार तयार पार्न स्थानीय सरकार लागिपरे पनि भौगोलिक कठिनाइले थुप्रै काम अधुरा छन् । जुगल क्षेत्रको माथिल्लो बस्ती र हिमाली आधार क्षेत्रमा फोन लाग्दैन । गाउँमा विद्युत् पुगेको छैन । गोरेटो बाटो पनि भरपर्दा छैनन् । पूर्वाधार निर्माणमा लगानी बढाउन आवश्यक रहेको सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङले बताए । 

जुगल क्षेत्रमा हिमाल आरोहण गर्ने र पर्यटक बढेको बताउँदै जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्षसमेत रहेका तामाङले बेसक्याम्प पुग्ने बाटो राम्रोसँग बनाउन आवश्यक रहेको औँल्याए ।

यस क्षेत्रमा होटेल नभएकाले पर्यटक आफैँले काठमाडौंबाट खाद्यसामग्री लिएर जानुपर्ने बाध्यता छ । पूर्वाधार निर्माणमा ध्यान दिन सके यस क्षेत्रमा पर्यटक अझै बढ्ने र स्थानीय उत्पादनबाट आम्दानी लिन सक्ने देखिन्छ । 

ad
ad