![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/bali-main2023-10-23-09-55-59.gif)
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा–आराधना गरी बलि दिएर मनाइँदै छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निसानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निसानापूजा र कोतपूजा गर्ने प्रचलन छ । प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट बोका र राँगाको बलि दिइने चलन छ ।
यसैगरी तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।