दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीनजना पदाधिकारीले कारबाही छल्न राजीनामा दिएका छन् । तत्कालीन सरकारले कानुन मिचेर ०७८ मा नियुक्त गरेका चारमध्ये शिक्षाध्यक्ष डा. वसन्त लामिछाने र रजिस्ट्रार प्रकाश थापाले स्वास्थ्य मन्त्रालय तथा र डेपुटी रजिस्ट्रार झंकार लामिछानेले प्रतिष्ठानबाट राजीनामा दिएका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्रले ती तीनजनासहित प्रशासन म्यानेजर राजेन्द्रप्रसाद न्यौपानेको नियुक्ति अवैध ठहर गर्नुका साथै थप अनुसन्धानका लागि गत साउनमा मात्र फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको थियो । अख्तियारले समेत छानबिन थालेपछि तीन पदाधिकारी कार्यकाल दुई वर्ष बाँकी छँदै राजीनामा दिएर हिँडेका हुन् । मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका शिक्षाध्यक्ष र रजिस्ट्रारको राजीनामापत्र प्राप्त भए पनि स्वीकृत हुन बाँकी रहेकोे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘उहाँहरूले व्यक्तिगत कारण भनेर राजीनामा बुझाउनुभएको छ, मन्त्रीस्तरबाट राजीनामा स्वीकृत हुन्छ, स्वीकृतिको चरणमा छ,’ उनले भने ।
प्रतिष्ठानकी तत्कालीन उपकुलपति डा. संगीता भण्डारीको संयोजकत्वमा बसेको कार्यकारी परिषद् बैठकको सिफारिसका आधारमा तत्कालीन स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका एवं प्रतिष्ठानका सहकुलपति कृष्णगोपाल श्रेष्ठले २२ असार ०७८ मा लामिछाने र थापाको नियुक्ति गरेका थिए । भंmकार र न्यौपानेको नियुक्ति तत्कालीन उपकुलपति संगीता भण्डारीले फरक–फरक मितिमा गरेकी थिइन् । उपकुलपतिबाट नियुक्त भएका झंकारले प्रतिष्ठानमा राजीनामा बुझाएका हुन् । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले झंकारको राजीनामा स्वीकृत भइसकेको, तर राजेन्द्रप्रसाद न्यौपानेको हकमा कुनै समस्या नरहेकाले राजीनामा नआएको बताए । सतर्कताले नियुक्ति सिफारिस गर्नेलाई कानुनअनुसार कारबाही तथा नियुक्त पदाधिकारीले खाइपाई आएको तलबभत्ता र सुविधा असुल गरेर कारबाही गर्न सिफारिस गरेको थियो ।
यसरी गरिएको थियो कानुनको उल्लंघन
राप्ती प्रतिष्ठानको ऐन, नियम र नियमावलीको उल्लंघन गरेर योग्यता नै नपुगेकालाई पदाधिकारी नियुक्त गरिएको थियो । कर्णाली प्रतिष्ठानको ऐनमा टेकेर डा. वसन्त लामिछानेलाई राप्ती प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त गरिएको थियो भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत रहेका प्रकाश थापाले चारवर्षे बेतलबी बिदा लिएर राप्तीमा रजिस्ट्रारको नियुक्ति खाएका थिए । प्रतिष्ठानकै शाखा अधिकृत झंकार लामिछानेलाई नियुक्ति दिन ‘डेपुटी रजिस्ट्रार’ पद सिर्जना गरिएको थियो । त्यस्तै, प्रतिष्ठानको प्रशासनिक पदबाट अनिवार्य अवकाश पाएका राजेन्द्रप्रसाद न्यौपानेलाई प्रशासन म्यानेजर पदमा नियुक्त गरिएको थियो ।
राप्तीमा शिक्षाध्यक्ष हुन चिकित्साशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी प्राध्यापक रहेको हुनुपर्ने प्रावधान छ । तर, २४ साउन ०७६ मा सहप्राध्यापक रहेका लामिछानेलाई २२ असार ०७८ मा शिक्षाध्यक्षमा नियुक्त गर्दा योग्यता नपुग्ने देखिएपछि छिमेकी कर्णालीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ को दफा २०, २१, २२, २३ र २४ मा भएको व्यवस्था (शिक्षाध्यक्ष र डिनका हकमा चिकित्साशास्त्र विषयमा स्नातकोत्तर गरी कम्तीमा सहप्राध्यापक वा मन्त्रालयसम्बद्ध निकायमा कम्तीमा १०औँ वा सोसरहको पदमा काम गरेको)लाई टेकेर राप्तीमा नियुक्ति दिइएको सतर्कताको छानबिनबाट खुलेको छ ।
त्यस्तै, पाटन स्वास्थ्य प्रतिष्ठानको नियमावलीमा एकपटकमा एक वर्षमा नबढाई र सेवा अवधिभरमा तीन वर्षमा नबढ्ने गरी बेतलबी बिदा दिन सकिने रहे पनि थापालाई चार वर्षको बेतलबी बिदा दिइएको थियो । त्यति मात्र होइन, बेतलबी बिदाका लागि पनि १० वर्षे सेवा अवधि पूरा गरेको हुनुपर्ने भए पनि थापा स्थायी भएको पाँच वर्ष तीन महिनामै बेतलबी बिदा स्वीकृत भएको छ । झंकारले आफू नियुक्ति खान आफैँले अन्तर्वार्ता समिति गठन गरेका थिए । ७ मंसिर ०७७ मा बसेकोे प्रतिष्ठानको कार्यकारी समितिको बैठकमा उनले सदस्यसचिवको रूपमा आफ्नो नियुक्ति तथा तलबभत्ता तोक्ने काममा हस्ताक्षरसमेत गरेका थिए ।