१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

टी-२० ट्र्यांगुलर सिरिजमा नेपालको दोस्रो जित, हङकङ ६ विकेटले पराजित, करण बने नायक

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५४:oo

करणको घातक बलिङपछि ९४ रनमै अलआउट भएको हङकङमाथि नेपालले ६ विकेटको जित निकालेको छ । 

टी–२० ट्र्यांगुलर सिरिजअन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको थियो । 

९५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आज पनि कप्तान रोहित पौडेलले विजयी रन प्रहार गरे । जितका लागि दुई रन आवश्यक रहेका वेला उनले विशाल छक्का प्रहार गर्दै नेपाललाई ६ विकेटको जित दिलाए । 

नेपालले १३.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे । नेपालको तर्फबाट ओपनर आसिफ शेखले ३४ बलमा सर्वाधिक ४२ रन बनाए । उनले ६ चौका प्रहार गरे । रोहित २० बलमा २५ तथा गुल्सन झा पाँच बलमा १४ रन बनाई अविजित रहे । 

अर्का ओपनर कुशल भुर्तेल र विस्फोटक ब्याटर कुशल मल्लका लागि आज पनि राम्रो दिन रहन सकेन । कुशल भुर्तेल आठ बलमा आठ रन बनाएर तथा कुशल मल्ल ६ बलमा एक रन बनाएर आउट भए । ब्याटिङमा स्तरोन्नति गरेर माथि पठाइएका सन्दीप जोराले पनि ११ बलमा केवल तीन रन बनाए । 

त्यसअघि तीव्र गतिका बलर करण केसीको घातक बलिङसामु हङकङ घुँडा टेक्न बाध्य भएपछि नेपालले जितका लागि ९५ रनको लक्ष्य पाएको थियो । 

टी–२० ट्र्यांगुलर सिरिजअन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको हङकङले पूरा २० ओभर पनि खेल्न सकेन । चार ओभरमा १५ रन दिएर करणले चार विकेट लिएको म्याचमा हङकङ १९.३ ओभरमै ९४ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि सोमपाल कामी र अविनाश बोहोराले दुई–दुई तथा कुशल मल्ल र मौसम ढकालले पनि एक–एक विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा टस जितेपछि नेपालका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ रोज्ने निर्णय गरेका थिए । रोहितको निर्णयलाई सही साबित गर्दै करणले पहिलो बलमै सफलता दिलाए । 

उनले हङकङका कप्तान  निजाकत खानलाई पहिलो बलमै बोल्ड गरेपछि हङकङको कमर तोडियो । लगत्तै आफ्नो दोस्रो ओभरमा करणले अंशुमन राथलाई सात रनको अवस्थामा आसिफ शेखको हातबाट क्याचआउट गराए । 

तेस्रो ओभरमा करणले आफनो तेस्रो विकेटका रूपमा बाबर हायातलाई सिकार बनाए । बाबर पाँच रनमा आउट भएपछि हङकङले ठूलो धक्का खायो । करणले आफ्नो चौथो ओभरमा हरुन अर्सदलाई दुई रनको अवस्थामा बोल्ड गरे । 

यस्तै, सोमपाल कामीले मार्टिन कोइटजी र एहसान खानको विकेट लिए भने अविनाश बोहोराले यसिम मुर्तजा र अदित गोरावारालाई सिकार बनाए । दोस्रो टी–२० खेलिरहेका मौसम ढकालले जिशान अलीलाई आउट गर्दै पहिलो विकेट लिए । कुशल मल्लले पनि एक विकेट लिए । 
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

ad
ad