१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चाडपर्वकेन्द्रित चहलपहलले राजस्वमा सुधार

आयातले उचाल्यो राजस्व, उत्पादनकेन्द्रित राजस्व खस्किँदो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा कमजोर देखिएको राजस्व संकलनमा असोज लागेपछि सुधार देखिएको छ । दसैँ–तिहारकेन्द्रित चहलपहल बढ्दा राजस्वमा सुधार आएको अर्थ मन्त्रालयको विश्लेषण छ ।दसैँ–तिहारलक्षित गरेर व्यवसायीहरूले वस्तु आयात बढाइरहँदा त्यसको प्रभाव राजस्व संकलनमा देखिएको अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख रितेश शाक्यले बताए । उनले भने, ‘सुरुका दुई महिनामा राजस्व घट्दै जाँदा यसपालि राजस्व पोहोरभन्दा पनि कम उठ्ने हो कि भन्ने चिन्ता थियो । तर, चाडबाडकेन्द्रित वस्तुको माग बढ्दा राजस्वमा उत्साह थपिएको छ । यसलाई निरन्तरता दिँदै जानुपर्ने चुनौती पनि छ ।’ 

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको असोज ३० गतेसम्म दुई खर्ब ३४ अर्ब ५७ करोड राजस्व संकलन भएको छ । यो गत आवको पहिलो तीन महिनाको तुलनामा तीन अर्ब २४ करोडले (५.०५ प्रतिशतले) बढी हो । असोजमा भएको राजस्व वृद्धिले तीन महिनाको समग्र संकलनलाई समेत बढी देखाउन मद्दत पुगेको छ । असोजमा मात्रै ८० अर्ब ३३ करोडको राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको असोजमा ६९ अर्ब १० करोड मात्रै राजस्व उठेको थियो । मासिक लक्ष्यसँग तुलना गर्दा भने राजस्व संकलन कमजोर नै छ । तीन महिनाको लक्ष्यको तुलनामा राजस्व संकलन ७५.७७ प्रतिशत मात्रै उठेको छ । मासिक लक्ष्यको तुलनामा हेर्ने हो भने असोजमा राजस्व ७८.०७ प्रतिशत मात्रै उठेको छ । 

 आयातकेन्द्रित राजस्वमा वृद्धि, उत्पादन थप कमजोर
दसैँ–तिहारकेन्द्रित माग बढ्दा भन्सार महसुल संकलनमा वृद्धि भएको छ । भन्सार विभागले असोजसम्मको तथ्य सार्वजनिक गरिसकेको छैन । तर, आयातबापत उठेको राजस्वमा भएको वृद्धिले आयातमा समेत वृद्धि भएको संकेत दिएको हो । मन्त्रालयका अनुसार असोजमा उठेको भन्सार महसुलमा पाँच अर्ब १४ करोड सात लाखले वृद्धि भएको छ । गत आवको असोजमा १४ अर्ब ३१ करोड ३७ लाख महसुल उठेकोमा चालू आवको असोजमा १९ अर्ब ४५ करोड ४४ लाख उठेको छ । आयातबाट उठेको महसुलमा चार अर्ब ७५ करोड वृद्धि भएको छ ।

आयातमा वृद्धि हुँदा मूल्य अभिवृद्धि कर (भ्याट)मा समेत दुई अर्ब ७७ करोड वृद्धि भएको छ । गत वर्ष असोजमा २१ अर्ब ६३ करोड भ्याट संकलन भएको थियो । यसपालि असोजमा २४ अर्ब ४० करोड भ्याट संकलन भएको छ । तर, यसरी भ्याट बढ्नुमा उत्पादन तथा बिक्री वितरणको मात्रै भूमिका छैन । चाडबाडकेन्द्रित मागलाई धान्न आयातमा भएको वृद्धिले नै भ्याट संकलन बढाएको हो । उत्पादन, बिक्री तथा सेवाबापतको भ्याट संकलन ८३ करोड ८१ लाख रुपैयाँले घटेको छ । तर, आयाततर्फ भ्याट संकलन तीन अर्ब ६० करोड ६१ लाखले बढेको छ । 

आन्तरिक उत्पादनमा वृद्धि भएर राजस्व संकलन नबढेकाले तत्कालै अर्थतन्त्रले गति लिएको विश्लेषण गर्न नमिल्ने निजी क्षेत्रको टिप्पणी छ । नेपाल उद्योग परिसंघ राजेशकुमार अग्रवालले उत्पादनकेन्द्रित राजस्व नबढेसम्म अर्थतन्त्र चलायमान भएको टिप्पणी गर्न नमिल्ने बताए । उनले भने, ‘अहिलेको राजस्व वृद्धि स्वाभाविक हो । चाडबाडमा माग बढ्ने भएपछि आयातमा वृद्धि हुने भएकाले राजस्वमा समेत स्वाभाविक वृद्धि देखिन्छ । तर, औद्योगिक वस्तुको माग बढ्न सकेको छैन ।’

पुससम्मको राजस्व संकलनको तथ्यांक नआउँदासम्म राजस्वमा सुधार भए नभएको निक्र्योल गर्न नसकिने उनको बुझाइ छ । खासगरी आयकरतर्फको राजस्वको पहिलो किस्ता संकलन हुने र सरकारी खर्चमा समेत त्यसै महिनामा वृद्धि हुने भएकाले पुससम्मको राजस्व संकलनलाई पर्खिनुपर्ने उनले बताए । उनले भने, ‘बजारमा पैसाको प्रवाह नभएपछि माग बढ्ने कुरा भएन । अर्काेतर्फ, सरकारले तीव्ररूपमा खर्चमा वृद्धि नगरेसम्म बजारमा पैसाको प्रवाह बढ्दैन । आर्थिक गतिविधि चलायमान हुँदैन ।’

आन्तरिक उत्पादनतर्फको अन्तःशुल्क संकलनमा समेत गिरावट आएको छ । असोजमा उत्पादनतर्फको अन्तःशुल्क संकलन ४० करोड १५ लाखले घटेको छ । तर, आयाततर्फको अन्तःशुल्क संकलनमा एक अर्ब ९२ करोडले वृद्धि भएको छ । सरकारले संकलन गर्ने आयकरमा पनि सामान्य सुधार देखिएको छ । गत आवको पहिलो तीन महिनामा ४० अर्ब ६९ करोड आयकर संकलन भएकोमा यसपालि सोही अवधिमा ४५ अर्ब ६ करोड पुगेको छ । अर्थात् चार अर्ब ३७ करोडले आयकरमा वृद्धि भएको छ । 

चाडपर्वले बढायो सरकारी खर्च
चाडपर्वकेन्द्रित खर्च निकासी हुँदा सरकारी खर्चमा समेत वृद्धि भएको छ । महालेखा नियन्त्रकको कार्यालयअनुसार चालू आर्थिक वर्षको तीन महिनामा दुई खर्ब ८० अर्ब ५७ करोड खर्च भएको छ । यो कुल बजेटको १६.०२ प्रतिशत हो । पोहोर सोही अवधिमा दुई खर्ब ७८ अर्ब १६ करोड खर्च भएको थियो । असोजसम्ममा चालू खर्च दुई खर्ब १३ अर्ब ३९ करोड पुगेको छ भने पुँजीगत खर्च १७ अर्ब ८३ करोड पुगेको छ । वार्षिक पुँजीगत बजेटको तुलनामा तीन महिनामा पाँच दशमलव नौ प्रतिशत खर्च भएको छ भने चालूतर्फ वार्षिक विनियोजनको १८.६९ प्रतिशत खर्च भएको हो ।

 

 

 

ad
ad