चाडपर्वको सिजन सुरु भए पनि सुस्त रहेको जनकपुरधामको बजार माथि उठ्न सकेको छैन । सामान्य दिनभन्दा चाडपर्वमा व्यापार–व्यवसाय राम्रो हुने अपेक्षा गरे पनि यस वर्ष दसैँ, तिहार र छठ पर्वको मौसम सुरु भइसक्दासमेत जनकपुरधामको बजारमा रौनक आउन सकेको छैन ।
आर्थिक मन्दीका कारण आमउपभोक्ताहरूको क्रयशक्ति घटेकाले बजारमा चहलपहल नदेखिएको जनकपुरका व्यापारीहरू बताउँछन् । बजारमा चहलपहल नहुँदा व्यापारीले घाटा व्यहोरेको मात्र नभई विगत चार दशकदेखि दसैँ–तिहारको अवसरमा जनकपुरधाममा लाग्दै आएको दसैँ सस्तो बजारमा पनि यस वर्ष किनमेल गर्ने पातलिएका छन् ।
घटस्थापनाको दिन उक्त बजारको उद्घाटन भएको थियो । तर, अहिले किनमेल गर्ने सर्वसाधारणको भिड विगतका वर्षहरूभन्दा न्यून रहेको साबुनको स्टल लगाउँदै आएका सन्तोष कर्ण बताउँछन् । विगत दुई दशकदेखि जनकपुरधाममा व्यापार गर्दै आएका जागेश्वर साहले चाडपर्वको अवसरमा पनि सोचेजस्तो व्यापार नरहेको बताए । कुनै दिन बोहनीसमेत नभएको गुनासो गर्दै उनी भन्छन्, ‘बैंकको ऋण, घरभाडा कसरी तिर्ने र घरपरिवार कसरी चलाउने चिन्ताले सताइरहेको छ ।’
कपडा व्यापारीसमेत रहेका धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहले दसैँ सुरु भए पनि अन्य वर्षको तुलनामा यस वर्ष बजारमा उपभोक्ताको उपस्थिति पातलो रहेको बताए । व्यापार नहुँदा घरभाडा, बैंक ऋण तिर्न मुस्किल पर्ने अवस्था आएको उनी सुनाउँछन् ।
खुला सीमाको कारण अधिकांश उपभोक्ता भारतीय बजारतर्फ आकर्षित हुनु, कोरोनाको प्रभाव लामो समयसम्म देखिनु, बैंक ब्याज चर्को हुनु, जथाभावी रूपमा घरभाडा बढ्नुजस्ता कारणले जनकपुरधाम बजार क्षेत्रका १५० भन्दा बढी सटरहरू बन्द गरेर व्यापारीहरू पलायन भई सकेका छन् भने आर्थिक मन्दीको कारण एक अर्बभन्दा बढी पुँजी पलायन भएको यहाँका व्यापारीहरूको अनुमान छ ।
जनकपुरधाम बजारमा मात्र पहिले दैनिक ५० लाखभन्दा बढी व्यापार हुने गरेकोमा अहिले आर्थिक मन्दीको कारण दैनिक १० लाखको पनि व्यापार हुन नसकिरहेको जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरूको भनाइ छ ।
१० हजार पसल रहेकोमा अहिले आर्थिक मन्दीको कारण व्यापारीहरू पलायन हुँदा ७ हजार जति पसल मात्र जनकपुर बजार क्षेत्रमा रहेको छ । यहाँका ९५ प्रतिशत व्यापारी बैंकबाट ऋण लिएर व्यापार गरिरहेका छन्, तर बैंकको ब्याज लिने नीति गलत भएकाले व्यापार घाटा उच्च रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनीषरमण साह बताउँछन् ।
बैंकहरूले सहज रूपमा ऋण प्रवाह नगर्नु, चर्को ब्याजदर असुल गर्नु, निर्माण कम्पनीहरूको लामो समयदेखि ७० अर्ब रुपैयाँ संघीय सरकारले भुक्तानी नदिनु, मिटरब्याजीलगायतका समस्याका कारण व्यापार–व्यवसायको अवस्था दयनीय हुँदै गएको साहको भनाइ छ ।
दसैँ–तिहारमा जनकपुरधामका बजारमा ८० प्रतिशत ग्राहक पहाडी समुदायका हुने गरेका थिए । शिवचोकका व्यापारी पशुपति सुल्तानिया भन्छन, ‘तर पहाडी समुदाय पलायन भएकाले व्यापार प्रभावित हुन पुगेको हो ।’ जनकपुरधामबाट ३५ किलोमिटर उत्तर–पश्चिममा रहेको महोत्तरीको बर्दिवास बजारको अवस्था अहिले जनकपुर बजारभन्दा राम्रो हुन
पुगेको छ ।