१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Monday, 23 September, 2024
तिवारी यादव वीरगन्ज
२o८o कार्तिक १ बुधबार १६:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मधेश प्रदेशकै ठूलो धनराशिको प्रथम वीरगन्ज गोल्डकप प्रतियोगिता हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार १६:२७:oo

झन्डै पाँच वर्षपछि मधेश प्रदेशको ठूलो धनराशिको प्रथम वीरगन्ज फुटबल गोल्डकप प्रतियोगिता २०८० आगामी १८ कात्तिकदेखि हुने भएको छ। भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा पर्यटन प्रवर्द्धन एवं खेलको विकास गर्ने उद्देश्यका साथ प्रथम वीरगन्ज फुटबल गोल्डकप प्रतियोगिता हुन लागेको हो। 

बुधबार आयोजित पत्रकार सम्मेलनमा वीरगन्जमा हुन लागेको फुटबल प्रतियोगिता मधेश प्रदेशकै ठूलो धनराशि भएको प्रतियोगिता रहेको आयोजक क्लबका अध्यक्ष सविन बस्नेतले जानकारी दिए। 

एक हप्तासम्म चल्ने प्रतियोगितामा नेपालका पाँचवटा टिम, भारतका दुईवटा टिम र आयोजक क्लबसहित आठवटा टिम प्रतियोगितामा सहभागी हुन लागेको अध्यक्ष बस्नेत बताए। उनका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब,  संकटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी क्लब सहभागी हुनेछन्।

यस्तै, भारतको क्लाइभ हाउस डमडम कोलकाता, नर्थ जोन फुटबल टिम दिल्ली र आयोजक भेट्रान सिटी क्लब वीरगन्जकाे सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने आयोजक क्लबका उपाध्यक्ष रोशन श्रेष्ठले बताए। 

यस्तै, प्रतियोगितामा खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई र म्याम अफ दी सिरिज हुने खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिनेछ। 

करिब ८० लाखको लागत हुन लागेको प्रतियोगितामा वीरगन्ज महानगरपालिका कार्यालयले २५ लाख सहयोग गर्ने र बाँकी लागत रकम विभिन्न प्रायोजक र टिकटको रकमबाट उठाउने उपाध्यक्ष श्रेष्ठले बताए।