१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Wednesday, 03 July, 2024
कमलराज भट्ट काठमाडाैं
२o८o कार्तिक १ बुधबार o६:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

संघ, प्रदेश र स्थानीय तहका २४ ठाउँमा जनप्रतिनिधि रिक्त

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार o६:२३:oo

आयोगले थाल्यो उपनिर्वाचनको तयारी, आयोगको सिफारिसमा सरकारले गर्नेछ निर्वाचनको मिति घोषणा 

स्थानीय तह, प्रदेश सभा र संघीय संसद्का २४ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति घोषणा गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । आयोग त्यसको तयारीमा छ । ०७९ वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश सभा र संघीय संसद्को निर्वाचन भएको थियो । 

दल त्याग प्रयोजनमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह सोमबार पदमुक्त भएसँगै देशभर २४ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य एक, जिसस प्रमुख दुई, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, वडाध्यक्षको १७ पद रिक्त भएको छ । 

दिनेश थपलिया,प्रमुख निर्वाचन आयुक्त
माघमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ । त्यसपछि उपनिर्वाचनको तयारीमा लाग्छौँ । मैले बुझेअनुसार वैशाखसम्ममा गर्नुपर्छ कि भन्ने छ । मिति घोषणा भएपछि आयोग तयारै छ ।

आयोगको तथ्यांकअनुसार संघीय संसद्तर्फ प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि उनी निर्वाचित इलाम क्षेत्र नम्बर २ रिक्त भएको छ । यसैगरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उनी निर्वाचित बझाङ १ (१) रिक्त भएको आयोगले जनाएको छ । 

जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेल अघिल्लो पुसमा मिर्गौला फेल भएर निधन भएपछि यो पद रिक्त छ । त्यस्तै ओखलढुंगाका जिसस प्रमुख डिल्लीराम खनाल गत १३ असोजमा उपचारका क्रममा निधन भएपछि पद रिक्त छ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको उच्च रक्तचापका कारण गत माघमा निधन भएपछि यो पद पनि रिक्त छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातबाट निधन भएपछि पद रिक्त छ । 

आयोगका अनुसार सुनसरीको गढी गाउँपालिका– ६, उदयपुर त्रियुगा नगरपालिका– १२, रौतहट इशनाथ नगरपालिका– ७, राजपुर नगरपालिका– ६, काठमाडौं कीर्तिपुर नगरपालिका– ४, नुवाकोट ककनी गाउँपालिका– २, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, गुल्मी मुसीकोट गाउँपालिका– १, रोल्पा रुन्टीगढी गाउँपालिका– ४, बर्दिया ठाकुरबाबा नगरपालिका– ४, कालिकोट तिलागुफा नगरपालिका– ४, जाजरकोट कुशे गाउँपालिका– ७, दार्चुला दुहुँ गाउँपालिका– ५, बझाङ सुर्मा गाउँपालिका– ४, डोटी पूर्वीचौकी गाउँपालिका– ६ र काठमाडौं महानगरपालिका– १६ मा वडाध्यक्ष पद रिक्त छ । 

जनप्रतिनिधिको रिक्तता मुख्यतः मृत्यु भएका कारण भएको आयोगको प्रतिवेदनमा छ । ‘केही वडाध्यक्ष तल्लो तहबाट उपल्लो तहमा जानुभयो, जिसस प्रमुख हुनुभयो । एकाधले राजीनामा पनि दिनुभएको हो,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

रिक्त पदपूर्तिका लागि आयोगले उपनिर्वाचनको तयारी थालेको छ । रिक्त रहेका स्थानको जानकारी सरकारलाई गराइसकिएको प्रवक्ता पौडेलले जानकारी दिए । ‘उपनिर्वाचनको हकमा स्थानीय तहको निर्वाचन आयोगको परामर्शमा सरकारले घोषणा गर्ने हो । प्रधानमन्त्री, उपप्रधानमन्त्री भेटेर आयोगले सरकारलाई जानकारी गराएको छ । सरकारले मिति घोषणा गरेपछि आयोगले चुनाव गराउँछ,’ उनले भने । उनका अनुसार आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम उपचुनाव गराउनेछ । साथै, संघ र प्रदेशको रिक्त स्थानमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम उननिर्वाचन सम्पन्न गरिनेछ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर आउँदो वैशाखमा उपनिर्वाचन गर्न सकिने बताए । ‘माघमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ । त्यसपछि उपनिर्वाचनको तयारीमा लाग्छौँ । मैले बुझेअनुसार वैशाखसम्ममा गर्नुपर्छ कि भन्ने छ । मिति घोषणा भएपछि आयोग तयारै छ,’ उनले भने । 

राष्ट्रिय सभा निर्वाचनको तयारीमा आयोग : अध्यक्ष गणेश तिमिल्सिनासहित २० जनाको पद रिक्त हुँदै  

०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल २० फागुनमा सकिँदै छ । पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । माघभित्रै निर्वाचन गर्ने गरी तिहारपछि मिति घोषणा हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

आगामी २० फागुनमा पदावधि सकिने सांसद
अध्यक्ष : गणेश तिमिल्सिना
कांग्रेस : मुख्य सचेतक अनिता देवकोटा, संसदीय दलका नेता रमेशजंग रायमाझी, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव
एमाले : प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, खिमलाल भट्टराई, दीपा गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल
माओवादी : विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी
एकीकृत समाजवादी : नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा 
जसपा : शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव
स्वतन्त्र :  खिमलाल देवकोटा

ad
ad
ad
ad