योग मन र शरीरको अभ्यास हो । योगका विभिन्न शैलीले शारीरिक आसन, सास फेर्ने विधि र ध्यान वा विश्रामलाई जोड्छन् । योग शारीरिक तथा मानसिक व्यायामको एक प्राचीन अभ्यास हो । योगले शारीरिक तथा मानसिक लाभ मिल्छ । यसमा चाल, ध्यान र सास फेर्नेजस्ता विधि समावेश हुन्छन् । नियमित योग अभ्यासले व्यक्तिमा सहन सक्ने क्षमताको विकास गर्न मद्दत मिल्छ । शारीरिक तथा मानसिक रूपमा ऊर्जा प्राप्त हुन्छ । शारीरिक रूपमा लचकता ल्याउँछ । योग अहिले विश्वभरि नै व्यायामको रूपमा लोकप्रिय हुँदै गएको छ । यस अभ्यासभित्र धेरै प्रकारका योग र थुप्रै प्रकारका अनुशासन छन् ।
इतिहास
‘योग’ शब्दको पहिलो उल्लेख ऋग्वेदमा देखिन्छ । योग संस्कृत शब्द ‘युज’बाट आएको हो । जसको अर्थ हुन्छ, ‘मिलन’ वा ‘जोड्नु’ । योग करिब पाँच हजार वर्ष पहिलेबाट विकास हुँदै आएको पाइन्छ । सन् १८९० को दशकतिर पश्चिमा मुलुकहरूमा समेत योग फैलिएको पाइन्छ । सन् १९७० को दशकमा पश्चिमी देशहरूमा योग लोकप्रिय हुँदै गयो ।
योगले शारीरिक, मानसिक तथा आत्मीय समग्र पक्षलाई समेट्छ । सामान्यतया योगलाई ६ वटा शाखामा विभाजन गरेर व्याख्या गर्न सकिन्छ । योगका प्रत्येक शाखाले फरक–फरक फोकस र विशेषताको प्रतिनिधित्व गर्छन् । ६ वटा शाखालाई यसरी विभाजन गर्न सकिन्छ– हठ योग, राजा योग, कर्म योग, भक्ति योग, ज्नाना योग, तन्त्र योग ।
आधुनिक योगका प्रकार
आधुनिक योग व्यायाम, बल, चपलता र सास फेर्नमा केन्द्रित हुनेसँग सम्बन्धित छ । यसले शारीरिक र मानसिक रूपमा स्वस्थ राख्छ । योगका धेरै शैली छन् । एक व्यक्तिले आफ्नो लक्ष्य र फिटनेस स्तरको आधारमा योगका शैली छनोट गर्न सकिन्छ । योगका विभिन्न प्रकार र शैली छन् । अष्टांग योग, विक्रम योग, हठ योग, अड्ढयंगार योग, कृपालु योग, कुण्डलिनी योग, पावर योग, शिवानन्द, विनि योग, यिन योग, जन्मपूर्व योग, पुनस्र्थापना योगजस्ता योगका प्रकार तथा शैली हुन् ।
योगका फाइदा
मांसपेशी बलियो बनाउन योग गर्न सकिन्छ । शारीरिक लचकताका लागि योग लाभदायक छ । श्वासप्रश्वासमा सहजता ल्याउनका लागि पनि यो सहयोगी हुन्छ । त्यसैगरी, रक्तचाप तथा मुटुरोगबाट बच्नका लागि योग निकै उपयोगी हुन्छ । तनाव, चिन्ता, डिप्रेसन र पुरानो दुखाइ कम गर्न नियमित योग गर्नु उचित हुन्छ ।
आनन्ददायक निद्राका लागि नियमित योग गर्नु लाभदायक छ । समग्र स्वास्थ्यका लागि पनि योग निकै लाभदायक छ । त्यसो त योगाभ्यास गर्नुअघि चिकित्सक वा सम्बन्धित विषयविज्ञसँग परामर्श लिनु उचित हुन्छ । कुनै दीर्घरोगको समस्या भएका व्यक्तिले योगाभ्यास गर्नुपूर्व चिकित्सकसँग परामर्श लिनुपर्छ ।
योग गर्नुअघि
कुनै पनि योगाभ्यास गर्नुपूर्व केही सावधानी भने अवश्य अपनाउनुपर्छ । आधारभूत तरिकाका बारेमा प्रशिक्षकसँग परामर्श गर्नु उचित हुन्छ । योग अभ्यास गर्न उमेरको सीमा हुँदैन । योग अभ्यास गर्ने सबैभन्दा राम्रो समय बिहानको खाजा खानुभन्दा पहिलेको समय हो । खाना खानेबित्तिकै योग अभ्यास गर्नु उचित हुँदैन ।
योग थाल्दा मार्ग आसन, त्यसपछि प्राणायाम र त्यसपछि ध्यान सुरु गर्नुपर्छ । शान्त, सफा ठाउँ, योगका लागि सबैभन्दा उपयुक्त वातावरण हुन्छ । योगाभ्यास गर्ने व्यक्तिले खुकुलो तथा आरामदायी लुगा लगाउनुपर्छ, जसले शरीरका अंगहरू सजिलै चल्न सहजता मिल्छ । प्रत्येक योग सत्रमा १५ मिनेट व्यायाम गरिन्छ । त्यस्तै, १५ मिनेट श्वास व्यायाम र ध्यान गरिन्छ ।
कसरत गर्नुभन्दा १५ मिनेटअघि एक गिलास पानी पिउनुहोस् । सधैँ नाकबाट नै श्वास फेर्नुहोस्, श्वास लिने र छोड्ने दुवै काम नाकबाटै गर्नुपर्छ । योगाभ्यास गर्दा तनाव लिनुहुँदैन । प्रत्येक आसनको बीचमा केही बेर आराम गर्दै योगाभ्यास गर्नुपर्छ । योगाभ्यास गर्न उपयुक्त वातावरण नभए योगाभ्यास गर्नुहुँदैन ।
योग एक प्राचीन अभ्यास हो । आधुनिक योग आन्तरिक शान्ति र शारीरिक ऊर्जालाई उत्तेजित गर्ने किसिमले ध्यान केन्द्रित गर्ने गरी विकास गरिएको पाइन्छ । पुरातन योगले फिटनेसमा त्यति जोड दिँदैनथ्यो । यसको सट्टा यो मानसिक एकाग्रता प्राप्तिका लागि र आध्यात्मिक ऊर्जा विस्तारको वरिपरि घुमेको थियो ।