आइतबारदेखि झापाकाे दमकमा आयोजना दोस्रो रोयल महिला फुटबल प्रतियोगिताको तयारी सकिएको छ। रोयल स्पोटिङ क्लबको आयोजनामा हुने प्रतियोगिताको तयारी सकिएको आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।
‘मेरो गोल महिला हिंसाविरुद्ध बोल’ भन्ने नाराका साथ प्रतियोगिता आइतबारदेखि ५ कात्तिकसम्म दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने खेल संयोजक राजु खड्काले जानकारी दिए।
प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सिएफसी काठमाडौं, धरान महिला फुटबल क्लब सुनसरी, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका, बिवाइसी इलाम, बसाह फुटबल क्लब उदयपुर र आयोजकले सहभागिता जनाउने खड्काले बताए।
आयोजकले राष्ट्रिय महिला टोलीका दीपा शाही, अमिसा कार्कीलगायतलाई मैदानमा उतार्ने तयारी गरेको उनले बताए। ‘महिला फुटबल प्रतियोगिता खासै आयोजना हुँदैन। जसले महिला खेलाडी उत्पादनमा पनि असर गरेको छ,’ खड्काले भने, ‘महिलाका फुटबल प्रतियोगिता निरन्तर गर्दा महिला खेलाडी उत्पादनमा सहयोग पुग्छ। पुरुष प्रतियोगिता जतिकै महिलाका पनि गरिरहनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।’ क्लबले यसअघि ०७८ मा पनि महिला फुटबल प्रतियोगिता आयोजना गरेको थियो।
प्रतियोगिताको बिजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमणपत्र पाउनेछ। उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमणपत्र पाउने आयोजक रोयल स्पोटिङ क्लबका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए।
प्रतियोगिताका विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने उनले बताए। प्रतियोगिता सम्पन्न गर्न झन्डै पाँच लाख ७५ हजार खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष मैनालीले बताए।