बाजुरा जिल्लाको खप्तड छेडेदह र गौमूल गाउँपालिका तथा बडिमालिका र त्रिवेणी नगरपालिकामा असोज १६ गते गएको भूकम्पले एक हजार दुई सयभन्दा बढी घरमा पूर्ण क्षति गरेको छ। तत्काल बस्नलाई त्रिपाल आए पनि खानालाई भने निकै समस्या भएको भूकम्पपीडितले गुनासो गरेका छन्।
खप्तड छेडेदहमा चार सय ६१ घर पूर्ण रूपमा क्षति भएको छ भने एक हजार नाै सय ७२ मा आंशिक र एक हजार तीन सय २५ सामान्य क्षति भएको छ। त्यसैगरी, त्रिवेणी नगरपालिकामा २५ घर पूर्ण, तीन सय २५ घर आंशिक तथा बडिमालिकामा एक सय १४ घर पूर्ण र एक सय ३७ घरमा आंशिक क्षति भएको छ। बुढीगंगामा एक सय २६ घरमा पूर्ण क्षति भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। जिल्लामा कुल एक हजार एक सय १५ घर पूर्ण र दुई हजार चार सय घरमा आंशिक क्षति भएको उनको भनाइ छ।
भूकम्पपीडितका लागि पहिलो चरणको राहत वितरण कार्य सुरु गरेको र दोस्रो चरणका लागि विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा राहत संकलन कार्य भइरहेको गाउँपालिका अध्यक्ष विशु नाथले बताए। दिनको समयमा भूकम्प गएका कारण मानवीय क्षति नभए पनि घर, टहरा विद्यालयजस्ता सार्वजनिक भवनहरू ठूलो परिमाणमा क्षति भएको उनले बताए।
तत्काललाई बस्नका लागि विभिन्न निकायबाट त्रिपाल पाए पनि गाँसको व्यवस्था सहज नभएको खप्तड छेडेदह– ४ की सुन्दरा रावतले बताइन्। घरभित्र रहेका सबै अन्न र लत्ताकपडा पुरिएपछि आफूहरू कहिले खोलाको साग, सिस्नु र केही दिन भोकै बसेर गुजारा गरेको उनले दुःखेसो सुनाइन्।
खप्तड छेडेदह– ५ दाउरेगडाकी ७५ वर्षीया नन्दा सार्कीले आँखाभरि आँसु बनाउँदै भूकम्प गएको यत्रो दिन भोकभोकै बसे पनि सरकारले वास्ता नगरेको गुनासो गरिन्।
खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत भूकम्पपीडितका लागि तत्काल वासको व्यवस्थापन गरे पनि गाँसको व्यवस्थापन गर्न नसकेको स्विकार्छन्। भूकम्पबाट ठूलो क्षति भएकाले पालिकाले सबैका लागि छिटो व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ।
तत्काल वासका लागि जिल्ला रेडक्रस सोसाइटी, युनिसेफलगायतका संस्थाले त्रिपाल, कम्मल र केही भाँडाकुँडा वितरण गरे पनि खाद्यान्न भने कसैले वितरण गरेका छैनन्।