नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले लाओसविरुद्ध ९० मिनेट नै रातो र चन्द्र सूर्यअंकित गीत गुन्जिएको हेर्न मन भएको बताएका छन्।
नेपालले बिहीबार अपराह्न दशरथ रंगशालामा साढे ५ बजे फिफा विश्वकप २०२६ को एसिया छनोटमा लाओसविरुद्ध खेल्दै छ।
खेलअघि भएको पत्रकार सम्मेलनमा कप्तान किरणले भने, ‘हामी लाओसविरुद्ध खेल खेल्न तयार छौँ। दशरथ रंगशालामा दर्शकमाझ खेल्न रमाइलो लाग्छ। बाहिर खेलको भन्दा पनि देशभित्र ठूलो मात्रामा दर्शकमाझ खेल्दा राम्रो लाग्छ। भोलि धेरै दर्शक आउने आशा छ। ९० मिनेट नै रातो र चन्द्र सूर्य गुन्जियोस् र सबैभन्दा ठूलो झन्डा पनि रहोस्।’
उनले १५ हजार दर्शक आएर रंगशालाको माहोल तात्ने बताएका छन्। ‘धेरै दर्शक आउने र समर्थन गर्ने विश्वास छ। भोलि हामी फरक दर्शक देख्छौँ। आशा छ भोलि रंगशालामा दर्शक अटाउनेछैनन्,’ किरणले भने।
किरणले नेपाली टोली निकै बलियो रहेको र तयारी पूरा भएको बताए। किरणका अनुसार टोली शारीरिक, मानसिक र प्राविधिक रूपमा खेल्न तयार रहेकाे र उनको कप्तानीमा भएको प्रशिक्षणमध्ये सबैभन्दा राम्रो अहिले छ।
नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले तयारी राम्रो भएको र दोस्रो चरण प्रवेशका लागि खेल्ने बताएका छन्। ‘यो अवसर मेरो र नेपालकै लागि हो। म पहिलोपटक विश्वकप छनोटका खेलमा छु। नेपाल पनि दोस्रो चरण पुग्न चाहन्छ।’