आइसिसी विश्वकप २०२३ को पहिलो म्याच खेलिरहेको आयोजक भारतले अस्ट्रेलियाविरुद्ध ब्याटिङमा खराब सुरुवात गरेको छ।
दुई सय रनको सामान्य लक्ष्य पछ्याएको भारतले दोस्रो ओभरभित्रै केवल दुई रनको अवस्थामा तीन विकेट गुमाएको छ।
दुवै ओपनरहरू कप्तान रोहित शर्मा र ईशान किसन तथा मध्यक्रममा श्रीयस ऐयर आउट भइसकेका छन्। दुई रनको अवस्थामा भारतले पहिलो विकेट गुमाएको थियो।
सुभमन गिल डेंगुको कारण अस्वस्थ भएपछि टिममा मौका पाएका ईशान गोल्डेन डक हुन पुगे। मिचेल स्टार्कको चौथो बलमा उनी ग्रिनको हातबाट समातिए ।
दोस्रो ओभरको तेस्रो बलमा कप्तान रोहितलाई ह्याजल उडले एलबिडब्लु धरापमा पारे। ६ बल खेलेका रोहितले पनि कुनै रन बनाउन सकेनन्। दोस्रो ओभरको अन्तिम बलमा श्रीयसलाई पनि ह्याजल उडले सिकार बनाए। तीन बल खेलेका श्रीयसलाई डेभिड वर्नरले समाते।
ताजा अवस्थामा भारतले तीन विकेट गुमाएर २६ रन बनाएको छ। दसौँ ओभरको खेल चलिरहँदा क्रिजमा विराट कोहली र केएल राहुल छन्। भारतको स्कोर २० रन हुँदा कोहलीको क्याच छुटेको थियो।