१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमा : एक महिनालाई मात्र औषधि दिने व्यवस्थाले दूरदराजका बिरामीलाई सास्ती  

स्वास्थ्य बिमामा जोडिएका बिरामी प्रत्येक महिना अस्पताल धाउनु पर्दा हैरानी  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५३:oo

प्रत्येक महिना अनिवार्य रूपमा अस्पताल पुगेर स्वास्थ्य जाँच गरेपछि मात्र औषधि लिन पाउने नयाँ प्रावधानले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीले सास्ती खेप्नुपरेकाे छ। यसअघि स्वास्थ्य कार्यक्रममा सहभागी बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अस्पतालबाट तीन महिनाका लागि औषधि उपलब्ध गराइँदै आएको थियो। तर, नयाँ नियमअनुसार आजभाेलि एक महिनाका लागि मात्र औषधि उपलब्ध गराइन्छ।

पछिल्लो समय दुर्गम भेगबाट आएका बिरामीसमेतलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराइने नयाँ प्रावधानले हैरानी खेप्नुपरेको छ। स्वास्थ्य परीक्षणभन्दा पनि औषधि लिनकै लागि दूरदराजबाट प्रत्येक महिना अस्पताल धाउनुपर्ने स्थितिले बिरामीलाई मर्का मात्रै परेको छैन, एउटै बिरामीलाई पटक–पटक जाँच गर्नुपर्दा अस्पतालमा बिरामीको चाप पनि ह्वात्तै बढ्न गएको छ।

कतिपय अस्पतालले चिकित्सकले परीक्षण गरेकै दिन मात्र औषधि लिनुपर्ने र अन्यथा नपाइने बाध्यात्मक परिस्थितिले पनि बिरामीलाई असजिलो बनाएको छ। एकपटक जाँच गरेपछि एक महिनालाई मात्र औषधि दिइने व्यवस्थाले दूरदराजका बिरामीको त घर र अस्पताल ओहोरदोहोरमै सम्पूर्ण समय बित्ने गरेको मात्र नभई आवतजावत खर्चले समेत ढाड सेक्ने गरेको छ।

एकमहिने प्रावधानले स्वाथ्य बिमा कार्यक्रमबाट थप औषधि नमिल्ने भएपछि बिरामीले बाध्य भएर औषधि आफैँ किनेर जोहो गर्नुपरेको छ। सरकारले स्वास्थ्य सेवातर्फ सामाजिक सुरक्षाको नाममा गरिरहेको खर्चलाई स्वास्थ्य बिमामार्फत दिगो बनाई स्वास्थ्य क्षेत्रमा गर्ने लगानी कम गर्ने ध्येयका साथ स्वास्थ्य बिमा कार्यक्रम अघि बढाएको हो।  

मुलुकभर हाल २२ लाख १६ हजार छ सय ५९ परिवारका ७१ लाख ८१ हजार तीन सय २५ जना स्वास्थ्य बिमा आबद्ध छन्। बिमामा आबद्ध घरपरिवारको संख्या चालू आर्थिक वर्षमा ३१ दशमलब ४ प्रतिशतबाट बढाई ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

कुल बिमितमध्ये ७० प्रतिशतले मात्र वार्षिक रूपमा स्वास्थ्य बिमा नवीकरण गरेको एक तथ्यांकले देखाएको छ। हाल करिब ३२ लाख ३१ हजार पाँच सय ९६ जनाले सेवा उपभोग गरेको अवस्था छ। जुन बिमितमध्ये ४५ प्रतिशत हो। देशभर चार सय ४० स्वास्थ्य सेवा प्रदायक संस्थाबाट यो सेवा प्रवाह भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ चिकित्सक डा. प्रकाश बुढाथोकी उच्च रक्तचाप, मधुमेह, मुटु र मिर्गौलासम्बन्धी बिरामीको साधारणतया एक–एक महिनामा स्वास्थ्य परीक्षण गरी औषधि दिनुपर्ने भएकाले वैज्ञानिक आधारमा एक महिनाका लागि मात्र औषधि दिने व्यवस्था गरिएको बताउँछन्। उनले भने, 'कुनै कारणले एक महिनामै औषधि र औषधिको मात्रा घटाउन र बढाउनु पर्ने परिस्थितिले लामो समयका लागि लगेका औषधि खेर जाने भएकाले त्यसलाई रोक्न हाल एक महिनाको व्यवस्था गरिएको हो।'

स्वास्थ्य बिमा कार्यक्रम लागू भएका जिल्ला अस्पताल र स्वास्थ्य संस्थाबाट पनि औषधि प्राप्त गर्न सकिने भएकाले हालको व्यवस्थालाई अन्यथा भन्न नमिल्नेतर्क गर्दै डा. बुढाथोकीले औषधिको अभाव, मौज्दात कम, टेन्डर समस्याका कारण नभई बिरामीको स्वास्थ्यको पाटोलाई ध्यानमा राखेर सुझबुझका साथ एकमहिने व्यवस्था गरिएको बताए।

स्वास्थ्य बिमा बोर्डका सदस्य चन्द्र थापाले भने, 'पहिले तीन महिनाका लागि औषधि दिने गरिएकोमा कतिपय बिरामीले बिमाबाट औषधि लिएर निजी औषधि पसलमा लगेर बिक्री गरेको भन्ने सूचनाका आधारमा त्यो दुरुपयोग रोक्न पनि एक महिनाका लागि मात्रै उपलब्ध गराउने नीति लिइएको हो ।'

नेपाल सरकारले हाल सर्वसाधारण तथा लक्षित वर्गलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क गरेको छ। मिर्गौला, मुटुरोग, क्यान्सर, स्पाइनल इन्जुरी तथा टाउकाको चोटपटक, अल्जाइमाइर, सिकलसेल, एनिमिया तथा पार्किसनजस्ता आठ प्रकारका गम्भीर रोगको उपचारमा विशेष सुविधा उपलब्ध गराइरहेको छ। ती समस्या भोग्नपरेका बिरामीलाई एक लाखसम्मको अनुदान दिँदै आएको छ। ७५ वर्षमाथिका नागरिक र १५ वर्षमुनिका बालबालिकालाई निःशुल्क रूपमा मुटुको भल्भ फेर्ने र उपचारको व्यवस्था छ।

सरकारले करिब ९८ प्रकारका औषधि विभिन्न स्वास्थ्य संस्थाबाट नि:शुल्क उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य बिमाप्रति छोटो अवधिमै नागरिकको आकर्षण बढ्दो अवस्थामा रहेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए। मुलुकमा कुनै पनि नागरिक स्वास्थ्योपचार गर्नका लागि पैसाको अभावमा वञ्चित हुन नपरोस् भन्ने हेतुले ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम लोककल्याणकारी प्राथमिकताको अवधारणा रहेको उनकाे दाबी छ।

जनतालाई अझै थप सुसूचित गर्दै नागरिकलाई यसमा आबद्ध गर्ने जिम्मेवारीअनुरूप संस्थाले काम गरिरहेको स्वास्थ्य बिमा बोर्ड बागमती प्रदेश कार्यालय संयोजक जीवलाल खरेल बताउँछन्। यो कार्यक्रम हाल सबै जिल्लामा लागू छ। काठमाडौं, ललितपुर, बुढानीलकण्ठ र टोखा नगरपालिकाबाहेक मुलुकका सात सय ४९ वटा स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएकाे छ।

स्वास्थ्य बिमामार्फत तीन हजार पाँच सय तिरेर ९६ हजार पाँच सयबराबरको थप सुविधा लिन सकिने भए पनि घरपायक अस्पताल नभएको, स्वास्थ्य संस्थामा झेल्न नसक्ने गरी बिरामीको भिडभाड र लामो लाइन रहने तथा चिकित्सकले गरेको सिफारिसका सबै औषधि नपाइने  गरेकाे बिरामीकाे गुनासो छ।     
     
   
 
 

ad
ad