Skip This
घोषणा हुँदै नोबेल शान्ति पुरस्कार, ३५० जनाबाट छानिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १५:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

घोषणा हुँदै नोबेल शान्ति पुरस्कार, ३५० जनाबाट छानिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:२१:oo

आज शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कारको घोषणा हुँदै छ। नर्वेमा विशेषज्ञहरूको एक प्यानलले आज शुक्रबार तीन सय ५० जना नामांकनको सूचीबाट छानेर नोबेल शान्ति पुरस्कारको घोषणा गर्दै छ।  

गत वर्ष उक्त पुरस्कार युक्रेन, बेलारुस र रुसका मानव अधिकार कार्यकर्ताहरूले जितेका थिए। यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उनको बेलारुसी समकक्षी र अन्य सहयोगीहरूको कडा आलोचनाका रूपमा हेरिएको थियो।

नोबेल शान्ति पुरस्कार व्यक्तिगत वा संस्थागत रूपमा प्रदान गरिन्छ। विगतमा यो पुरस्कार पाउनेहरूमा नेल्सन मण्डेला, बाराक ओबामा, मिखाइल गोर्बाचेभ, आङ सान सु की र संयुक्त राष्ट्रसंघलगायत थिए। 

स्टकहोममा छनोट र घोषणा गरिने अन्य नोबेल पुरस्कारभन्दा फरक यो शान्ति पुरस्कार यसका संस्थापक अल्फ्रेड नोबेलले पाँच सदस्यीय नर्वेली नोबेल कमिटीले ओस्लोमा प्रदान गर्ने निर्णय गरेका थिए। यो पुरस्कार छनोटका लागि नर्वेली संसद्ले एउटा स्वतन्त्र प्यानेल नियुक्त गर्दछ। 

यो वर्ष उक्त कमिटीले व्यक्तितर्फ दुई सय ५९ र संस्थागततर्फ ९२ गरी कुल तीन सय ५१ को मनोनयन प्राप्त गरेको छ। मनोनयन गर्न सक्नेहरूमा पूर्वनोबेल शान्ति पुरस्कार विजेता, कमिटीका सदस्यहरू, राष्ट्रप्रमुखहरू, सांसदहरू र राजनीतिशास्त्र, इतिहास तथा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक छन्। 

नोबेल शान्ति पुरस्कार यो वर्ष घोषणा गरिने पाँचौँ नोबेल पुरस्कार हो। बिहीबार नोबेल कमिटीले नर्वेली लेखक जोन फोसालाई साहित्यतर्फको पुरस्कार प्रदान गरिने घोषणा गरेको थियो। बुधबार रसायनशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकहरू मुंगी बावेन्डी, लुई ब्रस र अलेक्सेई इकिमोभलाई प्रदान गरिने घोषणा भएको थियो।

त्यसैगरी, मंगलबार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली मूलका स्विडिस वैज्ञानिक एन लहुइलियर, फ्रान्सेली वैज्ञानिक पिएरे अगोस्टिनी र हंगेरी मूलका फेरेन्क क्रुस्जलाई दिने घोषणा भएको थियो। 

सोमबार चिकित्सातर्फको पुरस्कार हंगेरी मूलका अमेरिकी नागरिक क्याटालिन कारिको र अमेरिकी चिकित्सक ड्रिउ वेसम्यानले जितेका थिए। 

नोबेल पुरस्कारको सिजन सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणासँगै सकिनेछ। अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई औपचारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा अर्थशास्त्र विज्ञानमा बैंक अफ स्विडेन प्राइज भनिन्छ। 

यी पुरस्कार आगामी डिसेम्बरमा ओस्लो र स्टकहोममा प्रदान गरिनेछ। पुरस्कारको रकम एक करोड १० लाख स्विडिस  क्रोनर (करिब १० लाख अमेरिकी डलर) छ। डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा विजेताहरूले १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्राप्त गर्नेछन्। 

ad
ad