१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिमरा विमानस्थलमा दसैँअघि नै इन्धन भर्ने सुविधा

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:४८:oo

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिमरा विमानस्थलमा दसैँअगाडि नै हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउने जानकारी दिएका छन् । काठमाडौंबाट सबैभन्दा नजिक र सोझो रुट रहेको सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध भएपछि आन्तरिक विमान कम्पनीले सबैभन्दा भरपर्दो वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न पाउनेछन् । अहिले त्रिभुवन विमानस्थलमा कुनै कारणले अवतरण गर्न कठिनाइ भए विराटनर वा भैरहवा जानुपर्ने बाध्यता छ ।  

उद्योगमन्त्री रिजालले सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने सुविधाको माग गर्दै नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीहरूले बारम्बार पत्राचार गरिरहेको जानकारी दिए । ‘सिमरामा हवाई इन्धन भर्ने सुविधा चाहियो भनेर सम्बन्धित पक्षले माग गरिरहेका छन् । यस्तोमा आयल निगमले त्यहाँ कार्यालय राखेर इन्धन भर्ने सुविधा नदिनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘दसैँअगाडि नै सिमरामा इन्धन भर्ने सुविधा सरु गर्नु भनेको छु । दसैँअघि जसरी नि सुरु हुन्छ ।’

सिमरामा दैनिक १५ वटासम्म उडान हुने विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय सिमराबाट पोखरामा ‘ट्रान्जिट फ्लाइट’समेत सुरु भएको छ । सिमरा विमानस्थल प्रमुख सूर्यबहादुर खत्रीले हवाई इन्धन भर्ने सुविधा भए सिमरामा उडान संख्या बढ्ने तथा अन्य गन्तव्यमा समेत ट्रान्जिट फ्लाइट थपिने बताए । ‘यहाँ हवाई इन्धन भर्ने सुविधा आवश्यक भइसकेको छ,’ उनले भने, ‘आयल निगमले रिफ्युलिङ सुरु गर्ने हो भने जस्तोसुकै समन्वय गर्न तयार छु । बरु केही समयका लागि कार्यालय राख्ने स्थानसमेत उपलब्ध गराउँछौँ ।’

आयल निगमले इन्धन भर्ने सुविधाका लागि पूर्वाधार बनाउन ५.५ कट्टा जग्गा माग गरेको र सो जग्गा लिजमा तत्कालै उपलब्ध गराउन सक्ने खत्रीले जानकारी दिए । ‘आयल निगमको एउटा टोली १२ असोजमा यहाँ आएर निरीक्षण र छलफल गरेर फर्केको छ,’ खत्रीले भने, ‘चाँडै सेवा सुरु हुनेमा आशावादी छौँ । निगमले भोलि नै आएर इन्धन सुविधा सुरु गरे पनि हुन्छ । बरु कागजी प्रक्रियाहरू बिस्तारै मिलाउँदै जाउँला ।’

आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सिमरामा चाँडै हवाई इन्धन भर्ने सुविधा जडान गर्न लागेको बताए । ‘निगमको काम नै तेल बेच्ने हो । त्यसैले सिमरामा उडान–अवतरण गर्ने विमान कम्पनीलाई तेल बेच्न हामीलाई कुनै समस्या छैन,’ उने भने, ‘चाँडै सेवा सुरु गर्छौँ ।’ निगमले दसैँअगाडिबाट सेवा सुरु गर्दा रिफ्युलर (हवाई इन्धन बोक्ने ट्यांकर) मात्रै राख्ने र बिस्तारै कार्यालयसमेत स्थापना गरी सानो क्षमताको भण्डारणगृहसमेत बनाउने योजना बनाएको छ ।

निगमका अनुसार अहिले दुईवटा रिफ्युलर र एउटा डिस्पेन्सरमार्फत सेवा सुरु हुनेछ । झापाको भद्रपुर विमानस्थलमा पनि सुरुको चार वर्ष निगमले रिफ्युलर र डिस्पेन्सरमार्फत हवाई इन्धन वितरण गरेको थियो । भद्रपुर विमानस्थलमा उपलब्ध हुने हवाई इन्धन आइओसीको पश्चिम बंगालको सिलगुडीस्थित टर्मिनलबाट विराटनगरस्थित निगमको डिपोमा रहेको स्टोरेजमा खन्याइने गरिएको थियो । त्यसपछि विराटनगरबाट डिस्पेन्सरमा राखेर भद्रपुर विमानस्थलमा रहेको रिफ्युलरमा खन्याउने र त्यहाँबाट विमान कम्पनीलाई इन्धन उपलब्ध गराउने गरिएको थियो । एक वर्षअघि भने भद्रपुरमा भण्डारणगृह (बन्डेड ट्यांक) राखिएको छ ।

सिमरामा पनि भद्रपुर विमानस्थलकै मोडलमा सुरुका दिनमा इन्धन वितरण गर्ने र तीन महिनाभित्रै कार्यालय तथा भण्डारणगृह तयार गर्ने निगमको योजना छ । निगमको नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले भैरहवा विमानस्थलमा हवाई इन्धन भण्डारण गर्न मिल्ने ५६ हजार लिटर क्षमतको भूमिगत भण्डारणगृह प्रयोगविहीन अवस्थामा रहेको बताए । ‘सोही भूमिगत ट्यांकको परीक्षण गरी प्रयोग गर्न मिल्ने अवस्थामा भए सिमरा ल्याएर जडान गर्न सकिन्छ,’ उनले भने ।भैरहवाको भूमिगत ट्यांक बिग्रिएको पाइए निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा रहेको १५–१५ हजार लिटर क्षमताका तीनवटा भूमिगत भण्डारणगृह सिमरा ल्याएर प्रयोग गर्न सकिने गोइतले जानकारी दिए ।
 

ad
ad