१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सरकारी नीतिमा अनावश्यक दबाब नदिन आइएमएफलाई उद्योगीको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४३:oo

सरकारी नीति तथा निर्देशनमा अनावश्यक दबाब नदिन अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)लाई उद्योगीहरूले आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय मुद्राकोषबीच मुलुकको अर्थतन्त्रका विषयमा भएको छलफलमा उद्योगीले उक्त आग्रह गरेका हुन् । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नीति, निर्देशनमा अनावश्यक दबाब नदिन अन्तर्राष्ट्रिय मुद्राकोषलाई आग्रह गरेका हुन् ।

उनले नेपालको अर्थतन्त्रको आफ्नै विशेषता रहेकाले अन्य मुलुक वा सिद्धान्तका उपाय नेपालको अर्थतन्त्रमा हुबहु लागू नहुने र अनावश्यक दबाबसमेत दिन नहुनेमा कोषको ध्यानाकर्षण गराए । उनले पेट्रोलियम पदार्थ र वस्तुहरू आयात हुँदाको असर मूल्यवृद्धिमा पर्ने हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न ब्याज बढाउनु मात्रै उपयुक्त कदम हुन नसक्ने बताए । अर्थतन्त्रमा वस्तुको माग सामान्य अवस्थामा हुँदा ब्याजले खासै असर नगर्ने, तर उद्योग क्षमताको ३० प्रतिशतमा सञ्चालन हुँदा धेरै असर गर्ने उनको भनाइ थियो ।  

अर्थतन्त्र सुधारका लागि हुनुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोषको भूमिका, उद्योगी–व्यवसायीले भोगेको समस्या र अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ सचिवालयमा छलफल भएको हो । उनले मुद्रास्फीति नियन्त्रण गर्न समग्र माग घटाउन ब्याज बढाउने नीति अवलम्बन गर्दाको असर अर्थतन्त्रमा परेको बताए । कोभिड–१९ पछि उचित सुपरिवेक्षणको अभावमा केही मात्रामा कर्जाको दुरुपयोग भएको देखिएको भए पनि कोभिडपछि नियामकीय निकायले बिस्तारै लिनुपर्ने नीतिहरू छिटो समयमै परिवर्तन गर्दा समस्या उत्पन्न भएको उनको भनाइ थियो । 

अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकको नीति, निर्देशन बैंकहरूलाई संरक्षण गर्ने खालको मात्रै भएको बताए । राष्ट्र बैंक र कोषबीचको सम्झौतामा तरलता समस्या समाधानका लागि कर्जाको पुनर्संरचना गर्न दिने भनिएको, तर राष्ट्र बैंकको पछिल्लो नीति यसको विपरीत रहेको उनको भनाइमा मुद्राकोषमा प्रतिनिधिहरूले समेत सहमति जनाए ।

आइएमएफका इसिएफ मिसन प्रमुख टिडियन किन्डा, नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजलगायतका टोलीले चालू पुँजी कर्जा मार्गदर्शन लागू गरेपछि उद्योगी–व्यवसायीलाई परेको असर, सुधारका लागि परिसंघको धारणालगायतका विषयमा छलफल गरेका थिए । छलफलमा परिसंघ बैंक तथा वित्तीय समितिका सभापति अनलराज भट्टराई, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए । 

ad
ad