मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Wednesday, 18 December, 2024
२o८o असोज १५ सोमबार o८:५८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चाडपर्वको मुखमा भारतीय सीमाबाट तस्करी बढ्दो

राजस्व अनुसन्धानले छापामारी बढायो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार o८:५८:oo

चाडपर्व नजिकिँदै जाँदा भारतीय सीमानाका हुँदै लत्ताकपडाको तस्करी बढेको छ । यससँगै राजस्व अनुसन्धान कार्यालयले पनि सक्रियता बढाएको छ । यस क्रममा भन्सार छलीका लत्ताकपडा लगातार बरामद हुन थालेका छन् । सिराहामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको कर्मचारीको सेटिङमा भारतको जयनगरबाट चाडपर्वलक्षित गरी तस्करी फस्टाएपछि राजस्व कार्यालयले छापामारी बढाएको हो । 

आइतबार दिउँसो पनि राजस्व अनुसन्धानको टोलीले भन्सार छलीका सामानसहित प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रक पक्राउ गरेको छ । ट्रकमा सिराहाको माडर भन्सार कार्यालय छलेर लत्ताकपडा ल्याइएको थियो । सुराकीका आधारमा ट्रक नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । उनका अनुसार उक्त ट्रक सिराहाको दक्षिणी सीमावर्ती बजार माडरबाट पूर्व–पश्चिम राजमार्गको चोहर्वा चोकतर्फ जाँदै थियो । ट्रकमा भन्सार छलीको लत्ताकपडालगायत विभिन्न समान रहेको आचार्यले बताए । 

यसअघि राजस्व अनुसन्धानको टोलीले भारतबाट भन्सार छलेर ल्याई सिराहाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्थित एक सामुदायिक विद्यालयको बगैँचामा भण्डारण गरिएको लत्ताकपडा बरामद गरेको थियो । सुराकीका आधारमा पुगेको टोलीले शनिबार बिहान माडर भन्सार कार्यालयनजिकै रहेको सो सामुदायिक विद्यालयको बगैँचाबाट करिब ५० लाख रुपैयाँभन्दा बढीको लत्ताकपडा बरामद गरेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । 

भन्सार कर्मचारी, स्थानीय स्तरदेखि जिल्ला तहका प्रहरी अधिकृतले तस्करीको लाइन क्लियर गरिदएबापत तस्करहरूसँग महिनावारी रकम असुल्दै आएको स्रोतहरूले बताउने गरेका छन् । तस्करसँगको प्रहरी र भन्सार कर्मचारीको सेटिङका कारण पटक–पटक ठूलो परिमाणमा मालसामान तस्करी भइरहेको सिराहाका एक व्यापारीले बताए ।

भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको मिलेमतोमा ट्रकको बाहिर चामल, प्याज र भित्रभित्र भन्सार छलीका लत्ताकपडा राखेर तस्करी हुने गरेको ती व्यापारीले बताए । केही महिनाअघि सिराहाको ठाँडी भन्सारबाट प्याज बोकेको ट्रकमा तस्करीका लत्ताकपडा भेटिए पनि भन्सार पास गरिएको थियो । सो ट्रकलाई सुराकीका आधारमा मकवानपुरको हेटौँडामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको थियो । ट्रकमा डेढ करोडभन्दा बढीको सर्टिङ–सुटिङका कपडा, साडी, तयारी पोसाक राखिएको फेला परेको थियो ।