१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) चीनको पूर्वी सहर हाङझाउमा भव्यताका साथ चलिरहेको छ। पछिल्लो समय चीनले द्रुत गतिमा विकास गरेको सहरहरूको प्रत्यक्ष अवलोकन गर्न यहाँ एसिया, युरोप र क्यानडाका पत्रकार आएका छन्। पाँच वर्षअघि हाङझाउले एसियाडको झन्डा बोकेर आउँदा चीनमा कस्तो व्यवस्थापन हुन्छ ? यहाँको नियम कानुनसँग विदेशीले कसरी सामना गर्ने ? आदि–इत्यादि सम्बन्धमा कुरा उठेको थियो। तर, आयोजक सहर हाङझाउमा यस्तो केही पनि देखिएको छैन।
पाहुनादेखि पत्रकारहरूले सहजै ‘एक्सिस’ पाइरहेका छन्। जसका कारण उनीहरू दंग छन्। ती विदेशीहरूले निकै नजिकबाट चीनले प्रत्येक पक्षमा गरेको भौतिक पूर्वाधारको विकास हेरिरहेका छन्। एसियाडमा लगभग ११ हजार पत्रकार सहभागी छन्। झेझाङ प्रान्तका पाँच ठूला सहरमा एसियाड चलिरहँदा विदेशी पाहुना प्रत्येक दिनजसो यहाँको विकास भइरहेको पक्षका समाचार र तस्बिर कैद गर्दै हिँडिरहेका छन्। यो क्रम ८ अक्टोबरसम्म चलिरहनेछ। आयोजकले राम्रो संगठन, व्यापक तयारी र विचारशीलहरू नै अहिले विदेशीहरूका प्रमुख शब्द हुन्।
एसियाडको मुख्य मिडिया सेन्टरबाट १० मिनेटको बस दूरीमा एथ्लेटिक्स भिलेज छ। जहाँ सबैजसो देशका विदेशी पत्रकार बसेका छन्। दक्षिण कोरियाका फोटो पत्रकार सेआउवान योले एसियाडको नयाँ अनुभव गरेका छन्। उनी विशेषतः यहाँको चिल्ला, चौबाटो तथा मेट्रो ट्रेनबाट प्रभावित बनेका छन्। उनी भन्छन्, ‘जब म यहाँ आएँ, के होला जस्तो लागेको थियो, तर हाङझाउमा पाइला टेकेपछि यस्तो केही पनि भएन।’
आयोजकले एसियाड सफलतापूर्वक सञ्चालन गर्न करिब ३७ हजार ६ सय स्वयंसेवक परिचालन गरेको छ। उनीहरूले विदेशी कहाँ जाने ? कसरी जाने ? के गर्न हुने–नहुने ? सम्बन्धमा जानकारी दिने गरेका छन्। ‘चीनले सफलतापूर्वक विन्टर र समर ओलम्पिक गरेको थियो। मसँग यी दुवै ओलम्पिकको अनुभव छ,’ कतारका टिभी जर्नालिस्ट अली अल नाजाफीले अनुभव सुनाए, ‘तर, हाङझाउको अनुभव पछिल्ला दुई ओलम्पिकभन्दा फरक लागेको छ।’
उनले अहिलेसम्म हेरेका एसियाडमध्ये फरक लागेको बताएका छन्। ‘यसमा कुनै शंका छैन, चीनले कुन स्तरमा एसियाडको आयोजना गरेको छ भनी यसबारे प्रतिक्रिया दिन योभन्दा अरू शब्द नै छैन,’ उनले भने, ‘असाध्यै राम्रो एसियाड’ । १९औँ एसियाडमा ४० इभेन्ट्समा १२ हजार खेलाडीले भाग लिइरहेका छन्। एसियाडको इतिहासमा खेल र खेलाडीको संख्या अहिलेसम्मकै धेरै हो। यति मात्र होइन, समाचार संकलन गर्नमा पनि रेकर्ड राखेको छ।
अहिले एसियाका देशहरूसँगै बेलायत, इटाली, अस्ट्रेलिया तथा क्यानडाका पत्रकार एसियाडको फरक अनुभव गरिरहेका छन्। सन् २०१८ मा हाङझाउमै भएको स्विमिङ च्याम्पियनसिपमा क्यानडाका पत्रकार अलान जर्जे एडम यहाँ आएका थिए। उनले पाँच वर्षको अवधिमा यो सहरको विकास हेरी रनभुल्लमै परेको बताएका छन्। चिल्लो कालो सडक, गगनचुम्बी भवन, हरियाली तथा प्रविधिमा हाङझाउमा नसोचेको विकास गरेको उनको अनुभव रह्यो।
‘वास्तवमै चीनले नयाँ जोसका साथ यस सहरलाई विकास गरेको रहेछ, जहाँ हेरे पनि वातावरणमैत्री प्रविधि विकास गरेको छ,’ एडमले भने, ‘यतिसम्म कि जेसुकैको रकम तिर्नका लागि पनि मोबाइलबाहेक अरू काम नै लाग्दैन।’ हाङझाउमै विश्वप्रसिद्ध अलिबाबाको मुख्य अफिस रहेको छ।
इरानका पत्रकार मोहमद सावाज मौका पाउँदा लोकल गाउँदेखि सहर घुम्न जान्छन्। उनको यो पहिलो चीन भ्रमण हो। युरोपसमेत घुमेका मोहमदले एसियाड सहरको विकासबाट आफू चित खाएको बताए। ‘यद्यपि, यो मेरो पहिलो चीन भ्रमण हो, तर यहाँ आउँदा पहिलोपटक आएजस्तो लागेन, यहाँका मानिसको बसोवास अन्तर्राष्ट्रिय स्तरको छ,’ उनले भने, ‘म यहाँ पुनः एकपटक आउन चाहन्छु।’ यसैगरी साउदी अरेबियाका पत्रकारले सपनाको सहरमा आएजस्तो प्रतिक्रिया दिएका छन्।’