१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस चितवन
२o८१ बैशाख २४ सोमबार १३:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

भरतपुर महानगरपालिकामा असल करदातालाई स्टिकर

Read Time : > 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१४:oo

भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताहरूकोमा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो।

महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान थालेसँगै स्टिकर वितरण सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको थियो। करको दायरा आएकाहरूलाई स्टिकर वितरण गरिएको हो।

महानगरपालिकाले विभिन्न पाँच शीर्षकमा फरकफरक स्टिकर तयार गरेको छ। व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँच रङका स्टिकर तयार भएको जनाउँदै उनले तीन स्टिकर टाँस्न सुरु गरिएको बताए। क्रमशः अन्य स्टिकरसमेत टाँस्दै जाने उनको भनाइ छ। 

उनले भने, ‘करदाताले जुन कर तिर्नुहुन्छ, उहाँहरूको फार्ममा सोही स्टिकर टाँस्न सुरु गरेका छौँ ।’ स्टिकरका आधारमा अनुगमन तीव्र बनाइने उनले बताए। वडा र टोल विकास समितिहरूलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आह्वान गर्न लगाइएको छ।

महानगरपालिकाले कर संकलनका लागि ‘टास्कफोर्स’समेत बनाउँदै छ। यसले कर संकलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमनसमेत गरिनेछ । महानगरमा उठ्नुपर्ने करको २० प्रतिशत मात्रै उठेको भन्दै उनले चालू आर्थिक वर्षमा लक्ष्यभन्दा बढी कर उठाइने बताए। चालू आवमा महानगरले रु. एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । उनले चालू आवमा रु. दुई अर्बभन्दा बढी राजस्व उठाउने योजना बनाइएको बताए।

गत आवमा रु. एक अर्ब २५ करोड हाराहारी मात्रै राजस्व संकलन भएको थियो। अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाइने जनाउँदै उनले दायरा बढाएर कर संकलन गर्न लागिएको बताए। महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत् प्राधिकरणलगायतका कार्यालयसँग समन्वय गरेर कर संकलन अभियानलाई अघि बढाएको छ । महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत वञ्चित हुने गरी योजना अघि सारिएको हो ।

चालू आवमा हालसम्म रु. १७ करोड कर संकलन भएको छ । महानगरप्रमुख रेनु दाहालले चालू आवमा राजस्व संकलनलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिइन्। उनका अनुसार असल करदाताकामा स्टिकर टाँस्न सुरु गरिएको छ । विगतका वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै उनले चालू आवमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताइन्। महानगरभित्रका सबै टोलसुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उनको भनाइ छ।

महानगरमा संकलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर संकलनलाई अभियानका रूपमा अघि बढाएको उनको भनाइ छ।

ad
ad