Skip This
१९औँ एसियाड : लगातार चौथोपटक तेक्वान्दोमा पदकविहीन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Friday, 26 July, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार o७:५७:oo
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१९औँ एसियाड : लगातार चौथोपटक तेक्वान्दोमा पदकविहीन

सन् २००६ पछि नेपाली तेक्वान्दो खेलाडी एसियाडमा खाली हात फर्किएका छन्

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार o७:५७:oo

सन् २००६ सम्म दक्षिण एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा तेक्वान्दो नेपालको सबैभन्दा सफल खेलमा पथ्र्यो । डेढ दशकपछि एसियाडमा तेक्वान्दोको कथा फेरिएको छ । नेपाली खेलकुदको इतिहासमा स्वर्णिम अक्षरमा अंकित तेक्वान्दो लगातार चौथोपटक एसियाडमा पदकविहीन भएर घर फर्किएको छ । 

नेपाल सन् २०१० को ग्वाङझाउ, सन् २०१४ को इन्चोन, २०१८ को जाकार्ता र सन् २०२३ को हाङझाउ एसियाडमा तेक्वान्दोमा पदकविहीन बन्नुपरेको हो । लगातार एसियाडमा असफल बनिरहेको खेल तेक्वान्दो भए पनि यस खेलबाट नेपालका सम्बन्धित अधिकारीले सधैँ पदकको आशा गरेका थिए । यसका लागि उनीहरूले खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएका पनि थिए । यसपटक कमजोर तयारी र लगानीका कारणले पनि तेक्वान्दोले पुरानो विरासत जोगाउन नसकेको हो । 

चीनको हाङझाउमा १९औँ एसियाडमा ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सहभागीमध्ये तीन खेलाडीले पहिलो चरण पार गरे । अन्य खेलाडी केवल सहभागितामा मात्रै सीमित बने । व्यक्तिगत पुम्सेमा प्रेम लिम्बू, ४९ केजी तौलसमूहमा अन्जली तामाङ र ६३ केजी तौलसमूहमा गोविन्द आलेले मात्र एक–एक खेल आफ्नो नाममा राखे । प्रेम सीधै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका थिए । उनी क्वार्टरफाइनलमा नराम्रोसँग पराजित भए । अन्जली र गोविन्दले पनि अन्तिम ३२ को फाइट जितेका थिए । यी दुवै खेलाडी प्रिक्वार्टरफाइनलबाट बाहिरिए । 

चीनको पूर्वी सहर हाङझाउमा सञ्चालन भइरहेको एसियाडअन्तर्गत बिहीबार लिनान स्पोर्टस् कल्चर एन्ड एक्जिबिसन सेन्टरमा नेपालबाट एक मात्र खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ८० केजीमाथि तौलसमूहमा ज्याकी यादव जोर्डनका साडेकासँग भिडेका थिए । निकै अनुभवी खेलाडी साडेकाले नेपालका यादवलाई दुवै चरणमा खेल्नै दिएनन् । पहिलो चरणमा यादवले केवल १ स्कोर गरे । जोर्डनका खेलाडीले १० स्कोर गरी १–० को अग्रता लिए । 

पहिलो चरणमै थाकिसकेका यादव दोस्रो चरणमा रिङमा चल्नै सकेनन् । साडेकले लगातारजसो तीन स्कोर गर्दै यादवमाथि दबाब राखे । यस चरणमा साडेकाले १३–१ ले बाजी मारे । उनी २–० को जितसँगै अर्को चरणमा पुगे । यादवको पराजयसँगै तेक्वान्दोको एसियाड यात्रा मात्र समाप्त भएन, नेपाल चौथोपटक यस खेलमा पदकविहीन बन्यो । 

 विगतमा तेक्वान्दोमा  एक रजत र १३ कांस्य
एसियाडको पदक हेर्दा तेक्वान्दोले नेपाललाई सर्वाधिक १४ पदक दिलाएको छ । जसमा एक रजत र १३ कांस्य समावेश छ । नेपाललाई अन्तिमपटक तेक्वान्दोले सन् २००६ को दोहा एसियाडमा दिलाएको थियो । त्यसवेला दीपक विष्ट, आयषा शाक्य र मनिता शाहीले कांस्य पदक जितेका थिए । नेपालले सन् १९८६ को दक्षिण कोरियाको सोलमा भएको १०औँ एसियाडमा पदक जितेको थियो । 

सोलमा तेक्वान्दोले सर्वाधिक चार कांस्य जित्दै सनसनी मच्चाएको थियो । सन् १९९८ मा सविता राजभण्डारीले इतिहास नै रचिन् । अहिले अमेरिकाको स्थायी नागरिक बनिसकेकी सविताले बैंकक एसियाडमा नेपाललाई ऐतिहासिक रूपमा रजत पदक दिलाइन् । यद्यपि, नेपाललाई जाकार्तामा पाँच वर्षअघि भएको एसियाडमा प्याराग्लाइडिङको क्रसकन्ट्रीमा नेपाली टिमले रजत दिलाएको थियो । सन् २००२ मा दीपक विष्ट, रेणुका रानामगर तथा जिमी राईले कांस्य जितेका थिए । 

नेपालको तयारी कमजोर
दीपक विष्ट, एसियाडमा दुईपटकको कांस्य विजेता

नेपालमा अहिले तेक्वान्दो खेलको माहोल कम छ । यसको तयारीसमेत राम्रो हुन सकेन । प्रतियोगितामा सहभागी अन्य देशका खेलाडीको तयारी राम्रो थियो । उनीहरूको तुलनामा नेपालको छैन । अहिले नयाँ खेलाडीहरू छन् । उनीहरूले अन्तर्राष्ट्रिय खेलको एक्सपोजरसमेत पाउन सकेनन् । धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलको एक्सपोजर पाउँदा खेलाडीहरूको आत्मविश्वास बढ्छ । 

साथै, खेलमा पहिलेजस्तो लगाव नहुँदा पनि पदकविहीन भएको हो । एसियाडका लागि भनेर अन्य राष्ट्रले कम्तीमा चार वर्षअघिदेखि नै तयारी गरेका छन् । हामी केवल चार महिनाको तयारीका साथ आएका छौँ । पछिल्लो समय हामी पदक ल्याउने बाटोमा छैनौँ । राम्रा खेलाडी विदेश पलायन भइसकेका कारण पनि पदकविहीन हुनुपरेको हो । फेरि तेक्वान्दोमा धेरै विवाद छन् । तेक्वान्दो खेलमा राम्रो वातावरण बनाएर अगाडि बढ्नुपर्ने वेला भएको छ । 

 हाम्रो तयारी तीन–चार महिना
कुमार घिसिङ, प्रशिक्षक, तेक्वान्दो

नेपाली खेलाडीले एसियाडका लागि धेरैमा ३–४ महिनाको तयारी गरेका छन् । यसैको भरमा खेलाडीले प्रतिस्पर्धा गरे । यहाँ आएका अरू देशका खेलाडीले कम्तीमा चार वर्षदेखि अभ्यास गरिरहेका छन् । हामीले चारपटक छनोट गरेर राम्रा खेलाडीलाई एसियाडमा ल्याएका हौँ । हाइटका कारणले नेपाललाई समस्या देखियो । बलिया खेलाडीविरुद्ध अगाडि बढ्नै सकेनन् । देशको खेलकुद राजनीति र खेलाडी पलायनले पनि तेक्वान्दोलाई असर पारेको छ । तेक्वान्दोका सबै सिनियर खेलाडी विदेश पलायन भएका छन् । अहिले थोरै मात्र हामीसँग सिनियर खेलाडी छन् । 

 नविता पराजित

नेपालकी नम्बर एक महिला खेलाडी नविता श्रेष्ठ एसियाडअन्तर्गत टेबलटेनिसको अन्तिम ३२ मा पराजित भएकी छिन् । श्रेष्ठले प्रिक्वार्टरफाइनल प्रवेशका लागि भारतकी मनिका भत्रासँग प्रतिस्पर्धा गरेकी थिइन् । जसमा श्रेष्ठ ४–० को एकपक्षीय रूपमा पराजित भइन् । मनिकाले नवितालाई ११–५, ११–४, ११–३ र ११–२ ले हराइन् । यसैगरी, महिला एकलमा नेपालकी सिका सुवाल श्रेष्ठ जापानकी मिउ हिरानोसँग ४–० ले हारिन् । मिउले सुवाललाई ११–७, ११–१, ११–४ र ११–५ ले पाखा लगाइन् । 

 बक्सिङमा रविन प्रिक्वार्टरफाइनलबाटै बाहिरिए
एसियाडमा बक्सिङ खेलमा सहभागी नेपाली खेलाडीको खराब प्रदर्शन जारी रहेको छ । हाङझाउ जिम्न्यासियम हलमा पुरुषतर्फ ५१ केजी तौल समूहमा नेपालका रविन थापा पराजित भएका छन् । उनी उत्तर कोरियाका सो चोयोङविरुद्ध भिडेका थिए । जसमा उनी ५–० ले पराजित भए । रविन र चोयोङबीच तीन राउन्डसम्म खेल भएको थियो । तीनवटै चरणमा नेपालका रविनले उत्तर कोरियाली खेलाडीलाई चुनौती दिन सकेनन् । खेलका पाँच जजले उत्तर कोरियाका चोयोङलाई पूरै १० स्कोर दिएका थिए । नेपालका रविनले सबै जजबाट तीनवटै चरणमा नौ स्कोर पाए । 

 नेपाली पब्जी टिम दोस्रो चरणमा
पदक आशा गरेको ई–स्पोर्टस्को पिस एलिटको रूपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । चीनको हाङझाउ ई–स्पोर्टस् सेन्टरमा भएको समूह ‘सी’को प्रारम्भिक चरणमा नेपाल आफ्नो समूहमा उत्कृष्ट दोस्रो हुँदै दोस्रो चरणमा पुगेको हो । समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम छन् । नेपाल उत्कृष्ट टाइममा दोस्रो भएको हो । समूहमा शीर्ष स्थानमा दक्षिण कोरिया रह्यो । 

नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ रह्यो । नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङका आधारमा अन्तिम १६ मा छनोट भएको हो । अब दोस्रो चरणमा शुक्रबार नेपालले समूहमा प्रतिस्पर्धा गर्नेछ । उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । पहिलो चरणमा समूह ‘ए’बाट हङकङ, ‘बी’बाट चाइनिज ताइपेई, ‘सी’बाट दक्षिण कोरिया र नेपाल तथा ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा पुगेका छन् । वरीयताका आधारमा चीनसहित चार देश दोस्रो चरणमा पुगेका छन् । समूहबाट सीधै दोस्रो चरणमा पुग्न नसकेका ११ टोलीबीचको प्रतिस्पर्धाबाट सात टोली अन्तिम १६ मा पुग्नेछन् ।

 ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा 
ब्याडमिन्टनमा नेपालको पुरुष टिम इभेन्ट्सका खेलाडी क्वार्टरफाइनलमा पुगेका छन् । नेपालले पुरुषमा मंगोलियालाई ३–१ हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । नेपालका प्रिन्स दाहाल र सुनील जोशीले जित निकालेका हुन् । नेपालका विष्णु कटुवाल पराजित भए । दाहाल र कटुवालको जोडीले डबल्समा जित निकालेका छन् । महिला टिममा नेपाल माल्दिभ्ससँग ३–१ ले पराजित भयो । नेपालका रसिला महर्जन, नङसल तामाङ पराजित भएका थिए । अनुमाया राईले मात्र जित हात पारिन् । डबल्स पनि रसिला र अनुमाया पराजित भए ।

 स्क्वास टोली भारतसँग पराजित
नेपालको पुरुष स्क्वास टोली भारतीय टोलीसँग पराजित भएको छ । एचओसी स्क्वास कोर्टमा पुरुष टिम गेममा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको हो । सिंगल्सको पहिलो खेलमा अमृत थापामगरले भारतका अभय सिंहसँग ११–२, ११–४ र ११–१ ले हार बेहोरे । अर्को खेलमा अराहन्तकेशर सिंह महेश मान्गोनकरसँग ११–२, ११–३ र ११–३ ले पराजित भएपछि भारतले २–० को अग्रता लियो । 

रेखाको गोलमा नेपालको हार टर्‍यो
रेखा पौडेलको गोलमा नेपाल बंगलादेशसँग हारबाट जोगिएको छ । बिहीबार भएको खेलमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यससँगै महिला फुटबल टोलीले एसियाडमा लगातार हार शृंखला रोकेको छ । बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाल पहिलो खेलमा भियतनामसँग २–० र जापानसँग ८–० ले पराजित भएको थियो । भियतनाम र जापान महिला विश्वकप खेलिसकेका टोली हुन् । जापान सन् २०११ को च्याम्पियन पनि हो । लगातारको हारपछि नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो । 

ओलम्पिक स्पोर्टस् सेन्टर स्टेडियममा सविना खातुनको गोलमार्फत बंगलादेशले ४४औँ मिनेटमा अग्रता बनाएको थियो । रेखाले ८३औँ मिनेटमा बराबरी गोल गर्दै लगातार तेस्रो हारबाट नेपाललाई जोगाएकी हुन् । रेखाले चार वर्षपछि राष्ट्रिय टोलीका लागि गोल गरेकी हुन् । सन् २०१९ साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध गोल गरेपछि रेखाको यो दोस्रो गोल हो ।