मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Wednesday, 15 January, 2025
२o८o असोज ११ बिहीबार १o:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनि सयौँ उत्पादन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार १o:२३:oo

फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् मेला फर्नेक्स २०२३ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नवौँ संस्करणको एक्स्पोको उद्घाटन गरेका हुन् ।एक्स्पोको उद्घाटनपछि उद्योगमन्त्री रिजालले देश फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताए । आयात देशका लागि सुखद विषय नभएको भन्दै उनले फर्निचरजन्य उत्पादनमा देशलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकारले पहलकदमी लिने उनले आश्वासन दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशमा बर्सेनि अर्बौँको काठ कुहिएर गइरहेको र फर्निचर तथा फर्निसिङका उत्पादन बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुग्दा सरकार मुकदर्शक भएर बस्न नहुने उनको भनाइ थियो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बैंक वित्तीय संस्थाले आफूखुसी तर्जुमा गर्ने नीति–नियमका कारण उद्योग व्यवसाय धरापमा परेको भन्दै सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए । 

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसायीलाई स्वदेशी काठ खरिदका लागि लिलामीमा सहभागी हुन नपाउने व्यवस्था अव्यावहारिक भएको भन्दै विभेदकारी नीतिको अन्त्य गर्न माग गरे । बैंकको मोनोपोली, उद्योग सञ्चालन गर्ने स्थानको अभाव, तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा लगाइएको अधिक भन्सारले उद्योग सञ्चालन गर्न असहज भएको उनको भनाइ थियो ।

एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालले अर्थतन्त्रमा महŒवपूर्ण योगदान पुर्‍याउँदै आएको फर्निचर तथा फर्निसिङ उद्योग र व्यवसायलाई सरकारले संरक्षण गर्न नसकेको बताएका थिए । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)को आयोजनामा ‘के हामी आत्मनिर्भर छौँ’ ? भन्ने थिममा सुरु भएको एक्स्पो पाँच दिनसम्म चल्नेछ ।