पर्यटन राज्यमन्त्रीसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको पद जोगिएको छ। उनको सांसद हुने योग्यता नपुगेको भन्दै दायर भएको रिट सर्वाेच्च अदालतले खारेज गरेपछि उनको पद जोगिएको हो।
वैकल्पिक कानुनी उपचारको मार्ग अवलम्बन नभएको भन्दै रिट खारेज हुने फैसला सर्वाेच्चको संवैधानिक इजलासले बुधबार गरेको हो।
चौधरी अदालतबाट आगजनीसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए। जुन विवरण ढाँटेर प्रतिनिधिसभा निर्वाचनमा मनोनयन दर्ता गरेकाले उनको योग्यता नपुग्ने भन्दै रिट दायर भएको थियो। निर्वाचित भएपछि करिब एक महिना जेल बसेका चौधरी राष्ट्रपतिबाट माफी मिनाहा पाएर छुटेका थिए। चौधरी कैलाली–३ बाट निर्वाचित सांसद हुन्।