पाँचौँ संकरणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता ०८१ अन्तर्गत गण्डकी प्रदेशले तीन विदेशी खेलाडी टोलीमा अनुबन्ध गरेको छ।
१२ माघदेखि हुने प्रतियोगितामा घरेलु टोली गण्डकीले पुरुष टोलीमा ट्युनिसियाका फाहिम मिलाडी, केन्याका निकोसल मातुयी र कंगोका यानिक सेसालाई टोलीमा अनुबन्ध गरेको प्रदेश भलिबल संघका गण्डकीका अध्यक्ष नवीन गुरुङले जानकारी दिए। अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङको भनाइ छ।
टोलीका अन्य खेलाडीको नाम केही दिनमा सार्वजनिक गर्ने र यसका लागि छलफल भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए। चौथो संस्करणको उपविजेता गण्डकीले प्रतियोगिताको पहिलो र तेस्रो संस्करणको उपाधि हात पारेको थियो।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको मुख्य प्रायोजनमा १९ माघसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुषतर्फ समान ६-६ गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए।
महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र आयोजकसँगै पाहुना टोली थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ गण्डकीसँगै हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबसँगै पाहुना टोली श्रीलंकाको श्रीलंकन भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा महिला पुरुष दुवैतर्फको विजेताले समान पाँच लाख ८५ हजार ५५५, दोस्रोले समान दुई लाख ८५ हजार ५५५ र तेस्रोले समान एक लाख ८५ हजार ५५५ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।
यसैगरी, प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले समान २५ हजार ७७७, विधागततर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई समान १० हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।