मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २ बुधबार १८:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

सरकार परिवर्तनका लागि विपक्षी मोर्चाबन्दी मसिना ढुंगा टिपेर विशाल नदी थुन्ने प्रयास जस्तै हो : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १८:४३:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै विकास निर्माणलाई तीव्रता दिन अध्यादेश ल्याएपछि विपक्षी पार्टीहरूले मोर्चाबन्दीको प्रयास गरेको भन्दै कटाक्ष गरेका छन्।

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बुधबार प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नका लागि विपक्षीहरूले गरिरहेको प्रयासलाई मसिना ढुंगा हानेर विशाल नदी थुन्न खोज्ने व्यर्थको प्रयासको संज्ञा दिएका छन्। ‘अध्यादेश बुझेर सरकार परिवर्तन गर्न सक्छु भन्नु एउटा विशाल नदीको किनारमा बसेर एउटा एउटा साना ढुंगा टिप्दै फ्याँके जस्तै हो । के गरेको भन्दा नदी थुन्न खोजेको भन्ने बेकारको कुरा,’ प्रधानमन्त्रीले भने। उनले विपक्षी मोर्चाले गर्ने आन्दोलनप्रति सम्मान रहेको भन्दै सभ्य, शान्तिपूर्ण र संयमतापूर्वक सञ्चालन गर्न सुझाव पनि दिए। 

 ‘कता-कता मोर्चाले आन्दोलन गर्ने रे भन्ने पनि सुनिराख्या छु। त्यो उहाँहरूको अधिकारको कुरालाई रेस्पेक्ट गर्छु। तर सभ्य तरिका, सभ्य भाषा, सभ्य क्रियाकलाप गर्नुस् भन्ने मात्र मेरो सुझाव छ। शान्तिपूर्ण र संयमतापूर्वक होस्, अधिकार त प्रयोग गर्न पाइन्छ, गर्नुस्,’ उनले भने। 

‘अध्यादेशको एउटा अक्षरमा पनि असहमति छैन, एकता झन् सुदृढ’
प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहित कर्मचारीतन्त्रको उच्च नेतृत्व, विज्ञहरू, उद्यमी, व्यसायीहरूसँगको सघन छलफल र सहमतिमा अध्यादेश आएको भन्दै एउटा अक्षरमा पनि असहमति नरहेको प्रस्ट्याए। 

‘कांग्रेस र एमालेको शीर्ष नेतृत्व तह ब्युरोक्रेसीको नेतृत्व तह र एक्सपर्टहरूको समेत सल्लाह, राय परामर्श सघन र विस्तृत छलफलपछि सबै पक्षहरूको सहमतिमा र खासगरी उद्यम व्यवसायीहरूको समेतको समस्या सुनेर, ती समस्याहरूको समाधान कसरी हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उहाँहरूसँगका पनि अन्तर्क्रियापश्चात् सबै पक्षमा ध्यान दिएर नै अहिले अध्यादेश जारी गर्नैपर्ने अवस्था देखिएको हुनाले बहुतै सावधानी र मिहेनतका साथ तयार गरेर मन्त्रिपरिषद्ले सिफारिस गरेको हो,’ ओलीले भने। 

उनले अध्यादेशको एउटा अक्षरमा पनि असहमति नरहेको पनि बताए। ‘एमाले र कांग्रेस नेतृत्वको संयुक्त सरकार काम गर्नका लागि बनेको हो। स्थिरताका लागि बनेको हो। जनताका समस्याहरू सम्बोधन गर्छ, सुशासन र विकासलाई पनि अगाडि बढाउँछ। कुनै कुराले यसको प्रतिबद्धता र गतिलाई रोक्न सक्दैन भन्ने देखाएको छ,’ प्रधानमन्त्रीले भने, ‘सरकारमा रहेका दलहरूको एकता यसपटक सुदृढ ढंगले प्रकट भएको छ। एउटा अक्षरमा पनि असहमति कतै छैन। पूर्ण सहमतिका साथ अध्यादेश आएका छन्।’