इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको छ । मंगलबार हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजसहितको लिंगो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले काभ्रेको नालाबाट ल्याइएको लिंगो उठाएर इन्द्रजात्रा सुरु भएको संकेत गर्ने गरिएको बताए । ‘मंगलबार १०:३७ मा लिंगो उठाएसँगै इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको संकेत हो । लिंगो उठाएसँगै विभिन्न देवीनाच, लाखेनाचलगायत सुरु भइसकेको छ,’ अध्यक्ष शाक्यले भने । जात्राअन्तर्गतका वन प्रस्थान, लिंगो नगर प्रवेशलगायत कर्म सम्पन्न भइसकेका छन् । जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवद्र्धनको काम गरिरहेको छ । महानगरले शान्तिसुरक्षा, सरसफाइ, सम्पदाको मर्मत–सम्भार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मतलगायत काम गरेको थियो ।
लिच्छविकालीन राजा गुणकामदेवका पालादेखि जात्रा चलिआएको मानिन्छ । जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रूपमा पूजा गर्ने चलनलाई मल्लकालसँग जोडेर हेर्ने गरिएको छ । तत्कालीन राजामा तान्त्रिक शक्ति भएकाले उनले देवीसँगको नियमित भेट गर्ने गरेको, देवीसँगै खेल खेल्ने गरेको, भेटघाटका क्रममा राजाका मनमा भोग र वासना उब्जिएपछि देवीबाट श्राप प्राप्त गरेकोलगायत किंवदन्ती यससँग जोडिएको छ । यसबाट पाएको दोष कटाउन र शासन बचाउन सुरु गरिएको परम्पराका रूपमा जात्रालाई हेरिन्छ । यसैकारण कुमारीको रथयात्रा हुनुपूर्व गणेश, भैरव र कुमारीको दर्शन गर्न राष्ट्र प्रमुख उपस्थित हुने गरेको भनाइ छ ।
यस्तो छ जात्राको रुट
जात्रा व्यवस्थापन समितिले रथयात्रा अवधिको रुट सार्वजनिक गरेको छ । असोज ११ गते मुख्य दिन वसन्तपुरबाट मरुटोल, जैसीदेवल, लगनटोल, ब्रह्मटोल, ह्युमत, क्वाहिटी, तब्बमार्ग, भीमसेनस्थान हुँदै वसन्तपुर आएर त्यो दिनको रथयात्रा सकिनेछ । दोस्रो दिन १२ गते पनि दिउँसो ३ बजेदेखि नै रथयात्रा सुरु हुनेछ । रथयात्राको रुट वसन्तपुर, प्याफल, नरदेवी, असन, इन्द्रचोक, हनुमानढोका हुँदै वसन्तपुरमै आएर रथयात्रा टुङ्गिनेछ । तेस्रो दिन १५ गते कुमारीघरबाट सुरु हुने रथयात्रा प्याफल, यटखा, नरदेवी, किलाघः, भेडासिङ, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै कुमारीघरमै आएर पूरा हुनेछ । तीन दिन यो क्षेत्रमा अत्यावश्यकबाहेक सवारी निषेध हुनेछ । तीन दिनका लागि वैकल्पिक बाटो व्यवस्था गरिएको समितिले जनाएको छ । ‘हामीले रथयात्रा हुने दिन सवारी निषेध गरेका छौँ । ती दिनका लागि वैकल्पिक बाटोको व्यवस्था भएको छ । यसका लागि ट्राफिक प्रहरीसँग समन्वय गरेर व्यस्थापन गरिसकेका छौँ,’ समितिका अध्यक्ष शाक्यले भने । तीनै दिन रथयात्रा दिउँसो तीन बजेबाट सुरु हुनेछ ।
इन्द्रजात्राको अन्तिम दिन आठ सय महिलाले रथ तान्ने
इन्द्रजात्राको अन्तिम दिन नानीचायाः (नेवारी भाषामा नानी अथवा महिलाले रथ तान्ने)मा आठ सयजना महिलाले रथ तान्नेछन् । उक्त दिन कुमारी, गणेश र भैरव गरेर तीनवटा रथ आठ सय महिलाले तान्ने भएका हुन् । २० वर्षभन्दा माथि र ६० वर्षभन्दा कम उमेरका महिलाहरू रथयात्रामा सहभागी हुनेछन् । ०६९ सालदेखि इन्द्रजात्राको अन्तिम दिन नानीचायाः हुन थालेको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका सल्लाहकार स्व. मोहनकृष्ण डंगोलले महिलाले पनि रथ तान्ने प्रस्ताव अगाडि बढाएका थिए । सोहीअनुसार नानीहीरा महर्जन, सजनी महर्जन, ज्ञानशोभा महर्जनलगायतको १३ समूह बनेको थियो । यी महिलाको समूहले सुरु गरेको रथ तान्ने काम यसपटकसहित गरेर ११औँपटक हुनेछ ।
नान्जिन नगरबाट उपप्रमुख नेतृत्वको टोली इन्द्रजात्रा अवलोकनका लागि काठमाडौंमा
यँया अवलोकनका लागि चीनको नान्जिन नगर उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । सोमबार बेलुका टोली काठमाडौं आइपुगेको हो । टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिन स्कुल अफ एडमिनिस्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तर्राष्ट्रिय मामिलाका उपमहानिर्देशक, झ्याङ बिन, पर्यावरण र वातावरण ब्युरोका उपमहानिर्देशक याङ लिन्फु, सचिवालयका उपप्रमुख वाङ रुइरुई रहेका छन् । महानगरपालिकाको निमन्त्रणामा अमेरिका र चीनबाट २० जना पाहुना आउने निश्चित भएको छ । इन्द्रजात्रा अवलोकनका लागि आउने पाहुनालाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोकाकेन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार स्क्वायरको भ्रमण अवलोकन, कुमारी रथयात्राको अवलोकनमा समेत सहभागी गराइने महानगरले जनाएको छ ।