एकै दिन ५० हजारबराबरको माछा जफत गरी नष्ट
धादिङको मलेखु माछा बजारमा पाइने माछामा अखाद्य वस्तुको मिसावट भेटिएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले गरेको अनुगमनको क्रममा माछामा मानव स्वास्थ्यका लागि हानिकारक कोलतार रङ (सिम्पेथिक फुड कलर) मिसावट पाइएको हो । यस्तै, झिंगा, कमिलालगायतको फोहोर भेटिएको छ ।
मलेखु बजारका होटेलहरूमा बाँसको कप्टेरामा उनेर राखिएको माछा झट्ट हेर्दा खाउँखाउँ लाग्ने देखिन्छन् । पृथ्वी राजमार्गको छेउमै रहेका होटेलहरूमा माछा खानेको भिड नै लाग्ने गरेको छ । तर, माछा प्रशोधन गर्ने व्यवसायीहरूले आलो माछामा नै रंग दलेर सुकाउने र त्यही माछा होटेलहरूले बिक्री गर्दै आएको भेटिएको हो ।
बिक्रीका लागि सजाएर राखिएका अधिकांश माछामा खानै नमिल्ने रंग मिसाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन समितिका संयोजक हुमनाथ पराजुलीले बताए । राम्रो देखाउनका लागि माछा प्रशोधन गर्ने र आगोमा सुकाउने वेलामा नै रंग मिसाउने गरेको पाइएको छ । उनले भने, ‘अखाद्य वस्तु मिसावट गरिएको करिव ५० हजार रुपैयाँबराबरको माछा जफत गरिएको छ । होटेलहरूले सिलमा सजाएर पसलअगाडि झुन्ड्याएका माछा र प्रशोधन गर्दै गरेको ठाउँबाट स्वास्थ्यको दृष्टिकोणले खान अयोग्य देखिएको सबै माछा जफत गरेर नष्ट गरिएको हो ।’
पटकपटक अनुगमन गरेर अखाद्य वस्तुका बारेमा सिकाए पनि अटेर गरिरहेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटका खाद्य निरीक्षक नवराज श्रेष्ठले बताए । बिक्रीका लागि माछा सेकाउने वेलामा नै कोलतार रंगको प्रयोग गरेको पाइयो । उनले भने, ‘यो रंग पकाएर खाँदा रासायनिक प्रतिक्रिया गरेर विषाक्त वस्तु बन्छ, त्यस्ता विषाक्त वस्तु मानव शरीरमा प्रवेश भएपछि क्यान्सर, किड्नीलगायतका अंगमा प्रत्यक्ष असर पार्नेछ । अर्गानिक रंग प्रयोग गर्न पाइने भए पनि केमिकलयुक्त रंगले मानव स्वास्थ्यमा नकारात्मक असर पार्दछ । राम्रो देखाउनकै लागि यस्ता रंगको प्रयोग नगर्न सुझाव दिएका छौँ ।’ सामान्य कारबाहीले नसुध्रिएका राजमार्गका होटेल तथा पसललाई हदैसम्मको कारबाही गरिने घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले भने, ‘एकपटकको लागि जरिवाना नगराई सुध्रिन र सुधार गर्न निर्देशन दिएका छौँ, अर्काेपटक फेरी रंगको मिसावट गरेर बिक्री गरेको भेटियो भने ऐनअनुसार कारबाही हुन्छ । अनुचित व्यापारिक क्रियाकलापअन्तर्गत दुईदेखि तीन लाखसम्म जरिवाना हुन सक्छ ।’