स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उच्च योगदान पुर्याएका डा. गौरीशंकरलाल दासलाई सय वर्ष पुगेको अवसरमा अभिनन्दन गरिएको छ।
काठमाडौं महानगरपालिका र मूल समारोह समितिले उनलाई मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्मानपत्र तथा दोसल्ला ओढाई अभिनन्दन गरेको हो।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलगायत पूर्वमन्त्री, सांसद, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीलगायतले शताब्दी पुगेको अवसरमा अभिनन्दन गरेका हुन्। डा. दासलाई सय वर्ष पुगेको अवसरमा नागरिकस्तरबाट दिव्य शताब्दी पुरुषको मानार्थ दिइएको छ।
वि.सं. १९९१ मा सिराहाको इनरवामा जन्मिएका डा. दास वि.सं. २००९ मा वीर अस्पतालमा आवासीय चिकित्सा अधिकारी भएर स्वास्थ्य सेवा सुरु गरेका थिए। उनले राष्ट्रिय मानव अधिकार आयोग सदस्य, लोकसेवा आयोगको सदस्य, स्वास्थ्य मन्त्रालयमा मुख्य योजना अधिकृत, स्वास्थ्य सेवा निर्देशकलगायत जिम्मेवारीमा रहेर काम गरेका थिए।
डा. दासले समाजसेवा र त्यससँग सम्बन्धित संघसंस्थामा रहेर काम गरेका छन्। उमेरले शताब्दी पुगेका डा. दासले आफ्नो जीवन सामाजिक र स्वास्थ्य सेवाको क्षेत्रमा समर्पित गरेको बताउँदै कर्मले आफूलाई स्वस्थ बनाएको बताए। ‘स्वास्थ्य क्षेत्र र समाजसेवा क्षेत्रमा काम गर्दा मलाई आत्मसन्तुष्टि मिल्यो,’ उनले सुनाए, ‘यसबाहेक जीवनका उकाली–ओराली र तितामिठा अनुभव थुप्रै छन्।’
सय वर्ष पुगेको अवसरमा उनको जीवनी र विभिन्न लेखमा आधारित चयनिका पुस्तक प्रकाशन भएको छ। डा. दास गीत–संगीत र साहित्य लेखनमा अब्बल मानिन्छन्।
तस्बिर : संजित परियार/नयाँ पत्रिका