१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Sunday, 22 September, 2024
मञ्जु टेलर काठमाडाैं
२o८o असोज ८ सोमबार o७:२२:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१९औँ एसियाड : पदकबाट चुके प्रेम

१९औँ एसियाली खेलकुदमा तेक्वान्दोका प्रेमबहादुर लिम्बू क्वार्टरफाइनलमा पराजित हुँदा नेपाललाई पहिलो पदक दिलाउन चुके

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार o७:२२:oo

प्रेमबहादुर लिम्बू १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपाललाई पहिलो पदक दिलाउनबाट चुकेका छन् । प्रेम क्वार्टरफाइनलमा पराजित भएसँगै तेक्वान्दोबाट आउने आशा गरिएको पहिलो पदक पूरा हुन सकेन । पुम्सेतर्फको क्वार्टरफाइनलमा प्रेम फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएका थिए । पेरेजले क्वार्टरफाइनलमा औसत ७.५६० अंक जोडेका हुन् । प्रेमले ७.१६० अंक निकाले । यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै प्रेमले कम्तीमा कांस्य पदक प्राप्त गर्ने थिए । 

यससँगै प्रेमको चुनौती समाप्त भएको छ । पेरेजको यात्रा पनि सेमिफाइनलमा समाप्त भएको छ । पेरेज चाइनिज ताइपेईका मा युन जोङसँग पराजित भएका थिए । दक्षिण कोरियाका काङ वान्जिनले स्वर्ण पदक जितेका छन् । लिनान स्पोर्टस् कल्चर एन्ड एक्जिबिसन सेन्टरमा प्रेमले अन्तिम १६ को स्पर्धामा पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई पराजित गरेका हुन् ।

प्रेमले ७.३६० र कादिरले ७.२५० अंक प्राप्त गरेका थिए । यस्तै, महिला पुम्सेतर्फ नेपालको चुनौती पहिलो खेलबाटै सकिएको छ । अन्तिम १६ को प्रतिस्पर्धामा स्वस्तिका तामाङ सिंगापुरकी अकिदा बिन्ते दियानासँग पराजित भएकी हुन् । स्वस्तिकाले औसत ७.२५ अंक ल्याउँदा दियानाले दुवै राउन्डमा ७.६ अंक प्राप्त गरिन् । आज नेपालकी अञ्जली तामाङले महिला ४९ केजी तौलसमूहमा कम्बोडियाकी लाइदेन क्रीसँग खेल्ने तालिका छ । 

सुटर स्लिसाको कीर्तिमान 
नेपालले सुटिङबाट खराब सुरुवात गरे पनि १९ वर्षीया स्लिसा भण्डारीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सुटिङको १० मिटर महिला एयर राइफल्समा स्लिसा भण्डारी ४७औँ र सुस्मिता नेपाल ५८औँ स्थानमा रहे । यो इभेन्टमा ५९ खेलाडी सहभागी छन् । सुटर स्लिसाले १९औँ एसियाली खेलकुदअन्तर्गत १० मिटर एयर राइफलको महिलातर्फ राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । स्लिसाले ओलम्पियन कल्पना परियारको नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । स्लिसाले कुल ६१६.९ अंक जोडिन् । सन् २०२० मा कल्पनाले ६१६.८ अंक जोडेकी थिइन् । 

बक्सर दीपक र संगीता पनि पराजित 
पदक आशा गरिएको बक्सिङतर्फ पहिलो खेलमै दुई खेलाडी पराजित भएका छन् । पुरुषतर्फ दीपक श्रेष्ठ र महिलातर्फ संगीता सुनारको चुनौती पहिलो खेलमै समाप्त भएको हो । दीपक ८० केजीमुनि तौलसमूहमा उज्वेकिस्तानको खबिबउल्लेब तुराबेकसँग पराजित भए । संगीता भियतनामकी हा थी लिनसँग पराजित भइन् । दुवै बक्सरको चुनौती ५–० ले समाप्त भएको थियो । यसैगरी, १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता मिनु गुरुङ पनि पहिलो खेलमा नै पराजित भइन् । महिला ५०–५४ केजी तौलसमूहमा उनी जापानकी किनोसिन्ता रिंकासँग ५–० ले नै पराजित भएकी हुन् । पदक जित्ने आशासहित भारतमा विशेष प्रशिक्षण गरेको बक्सिङबाट १३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

विजयको उत्साहजनक प्रदर्शन
उसुतर्फ १३औँ सागका स्वर्ण पदक विजेता विजय सिन्जाली मगरले पहिलो खेलमा उत्साहजनक प्रदर्शन गरेका छन् । छानछ्वान विधामा उत्साहजनक प्रदर्शन गरे पनि नतिजा विजयको पक्षमा भने आएन । ९.७०३ अंक प्राप्त गरेका विजय सातौँ स्थानमा रहेका थिए । यस विधामा स्वर्ण जितेको चीनका सुन पेयुनले ९.८४० अंक ल्याए ।

रजत विजेता इन्डोनसियाका मार्भेलो जाभियरले ९.७८६ अंक र कांस्य विजेता मकाउमा ची कुवानले ९.७६० अंक ल्याए । १३औँ सागकै स्वर्ण विजेता सबिता राईको प्रदर्शन निराशाजनक रह्यो । सबिताले ८.७९६ अंक ल्याउँदा उनी १४औँ स्थानमा रहिन् । उसुको सान्सौं (फाइट)मा इलिना चौधरी र रोहित चुनारोको पराजित भए । महिला ५२ केजी तौलसमूहको क्वार्टरफाइनलमा इलिना इरानकी मानसोर्‍यान इलाहेसँग पराजित भइन् । रोहित पुरुष ५६ केजी तौलसमूहको क्वार्टरफाइनलमा किर्गिस्तानका एमान बेकोभ अभाजबेकसँग २–० ले पराजित भएका थिए ।

जुडोमा पनि हार
जुडोको प्रतिस्पर्धामा सबै नेपाली खेलाडी पराजित भएका छन् । अन्तिम १६ मा विकास विक तुर्कमिनिस्तानका खेलाडीसँग १०–० ले पराजित भए । देवकी श्रेष्ठ अन्तिम १६ मा मंगोलियाको खेलाडीसँग र इन्द्र श्रेष्ठ हङकङका खेलाडीसँग समान १०–० अंकले पराजित भएका छन् ।

रग्बीमा नेपाल जितविहीन
पुरुष रग्बी सेभेन्समा नेपाल जितविहीन हुँदै बाहिरिएको छ । पोल ‘डी’मा रहेको नेपाल आइतबार सम्पन्न तीनवटै खेलमा पराजित भएको हो । हाङझाउ नर्मन युनिभर्सिटी चाङकियान एथलेटिक्स फिल्डमा तेस्रो तथा अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ४१–० ले निराश बन्यो । अफगानिस्तानले ९ ट्राई गरेको थियो । पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ५५–७ ले पराजित भयो । दोस्रो खेलमा नेपालले घरेलु टोली चीनसँग ६५–० को फराकिलो हार बेहोर्न पुगेको थियो । 

प्रदीपको विजयी सुरुवात
टेनिसमा प्रदीप खड्काले पुरुष एकलतर्फ विजयी सुरुवात गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्टस् सेन्टरमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरेका हुन् । जितसँगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन् । क्वार्टरफाइनल प्रवेशका लागि सोमबार प्रदीपले जापानका खेलाडी मोचिजुकी सिन्तारोसँग प्रतिस्पर्धा गर्नेछन् ।

महिला एकलमा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा बाई पाएका थिए । दोस्रो चरणमा अभिलाषा थाइल्यान्डकी चोगसाम्जाभसँग ६–० र ६–० को सोझो सेटमा पराजित भइन् । माहिका दक्षिण कोरियाली खेलाडी पार्क सोहयुनसँग ६–० र ६–१ ले पछि परेकी हुन् । पुरुष युगलतर्फ प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–२ र ६–३ ले चुके ।सोमबार प्रदीपसँगै अभिषेकले पुरुष एकल तथा अभिलाषा र माहिकाले महिला युगलतर्फ प्रतिस्पर्धा गर्नेछन् । यस्तै, अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने तालिका छ । 

अन्य खेलको नतिजा
ई–स्पोर्टस्अन्तर्गत ई–फुटबलमा नेपालका समीर गुरुङ मकाउका खेलाडीसँग २–१ ले पराजित भएका छन् । बाई पाएर सीधै क्वार्टरफाइनल पुगेको नेपालको एरिना अफ भालोर टिम पनि बाहिरिएको छ । थाइल्यान्डसँग पराजित भएपछि नेपालको सेमिफाइनल पुगेर पदक जित्ने सम्भावना सकिएको छ । पौडीको सय मिटर फ्री–स्टायल हिट राउन्डमा एलेक्स शाह अन्तिममा रहे । एलेक्सले ५४.१४ सेकेन्डमा दूरी पूरा गरेका थिए । महिला ह्यान्डबलअन्तर्गत समूह बीको प्रारम्भिक छनोटमा नेपाल आयोजक चीनसँग फराकिलो अन्तरले पराजित भयो । जेजियाङ युनिभर्सिटी जिओसान जिम्न्यासियममा भएको खेलमा चीनले नेपाललाई ५७–१० ले हराएको हो ।