मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
रमेश सुवेदी काठमाडाैं
२०८० असोज ६ शनिबार ०७:१८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानको निर्वाचन आज

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० असोज ६ शनिबार ०७:१८:००

नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदै छ । अध्यक्षमा  चतुरबहादुर चन्द र बर्दियाका विनयराज भण्डारीले उम्मेदवारी दिएका छन् । जिल्ला, प्रदेश तथा केन्द्रबाट आएका ८६ सदस्यहरूले निर्वाचनमा मतदान गर्नेछन् । साधारणसभामा सहभागी सदस्यहरू आगामी चार वर्षका लागि क्यानको नयाँ कार्यसमितिलाई सर्वसम्मत बनाउने प्रयासमा लागेका छन् । 

क्यानको साधारणसभाले नयाँ कार्यसमितीको आधार बढाउने निर्णय गरेको छ । अब क्यानको कार्यसमितिको सदस्य संख्या १९ हुनेछ । यसअघि १७ सदस्यीय केन्द्रीय सदस्य थिए । क्यानमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष मात्रै रहने व्यवस्था थियो । पछिल्ला वर्षमा पदाधिकारी कम भएपछि क्यानभित्र निकै चर्चा भयो । सचिवले राजीनामा दिएपछि कार्यभार सम्हाल्ने पदाधिकारी नै रहेनन् । 

यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले वरिष्ठ उपाध्यक्ष र सहसचिव पद थप गर्न स्वीकृत गरेको छ । पदाधिकारीमा कम्तीमा सर्वसम्मत गर्न सबै इच्छुक देखिएका छन् । वरिष्ठ उपाध्यमा काठमाडौं जिल्ला संघका अध्यक्ष दिवाकर घले सर्वसम्मत हुने पक्का छ ।  उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष सिंह र सचिवमा पूर्वकप्तान तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का चयन हुन सक्छन् । 

अध्यक्ष चन्दले आफू पारसको पक्षमा रहेको बताएका छन् । ‘मेरो चाहना नै पारस हुन् । उनलाई साथ दिन्छु,’ चन्दले नयाँ पत्रिकासँग भने । कोषाध्यक्षमा कर्णालीका अध्यक्ष पदम खड्का रहनेछन् । सहसचिवमा दुर्गाराज पाठक या प्रशान्तविक्रम मल्ललाई सर्वसम्मत गर्ने प्रयास गरिएको छ । 

मल्ल सचिवमा खड्कासँग प्रतिस्पर्धा गर्ने स्थितिमा पुगेका छन् । चन्दले खड्कालाई साथ दिएको अवस्थामा मल्ललाई गाह्रो पर्न सक्छ । सदस्य पदका लागि धेरै जिल्लाबाट आकांक्षी रहेकाले निर्वाचन हुने देखिएको छ ।

झापाको मताधिकारी खोसियो
दुई प्रतिनिधि आएपछि शुक्रबारको साधारणसभाले झापा जिल्लाको मताधिकार नै खारेज गरिदिएको छ । क्यानले जिल्लामा रहेको विवादका कारण झापाको मताधिकार खारेज गरेको हो । क्यानको विधानअनुसार एक जिल्लाबाट एक प्रतिनिधि मात्र निर्वाचनमा सहभागी हुन्छन् । झापाबाट प्रशिक्षक मनोज कटुवाल र पूर्वखेलाडी लाक्पा लामा साधारणसभामा आएका थिए । बन्दसत्रबाट प्रहरीले लाक्पालाई अध्यक्ष चन्दको निर्देशनसँगै निकालेको थियो ।