इप्पानले ऊर्जामा चिनियाँ लगानीदेखि विद्युत् व्यापारका विषयमा छलफल गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण दलमा सहभागी हुन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)काे प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । असोज ६ देखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० सम्म) हुने प्रधानमन्त्रीको चीन भ्रमणमा इप्पानबाट अध्यक्ष गणेश कार्की र उपाध्यक्ष रामप्रसाद आचार्य चीन प्रस्थान गरेका हुन्।
उनीहरूलाई वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा, उपाध्यक्ष आनन्द चौधरी र उत्तम भ्लोन लामाले इप्पानबाट औपचारिक रूपमा बिदाइ गरेका छन् ।
नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानीको खाँचो रहेकाले चीन भ्रमणका क्रममा इप्पानले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्ने अध्यक्ष कार्कीले बताए । नेपाल र चीनबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई जोड दिन इप्पानले प्रधानमन्त्रीलाई आग्रह गर्नेछ । निजी क्षेत्रबाट चीनमा विद्युत् व्यापारका लागि पनि छलफल हुने अध्यक्ष कार्कीले बताए ।
‘नेपाल सरकारले १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र २०३५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो क्षमतामा विद्युत् उत्पादन गर्न धेरै नै ठूलो लगानीको खाँचो पर्नेछ । त्यसैले इप्पानले नेपालमा चिनियाँसहित उनीहरूको सम्पर्कमार्फत आउन सक्ने सम्भावित लगानीका लागि पनि चिनियाँ पक्षसँग छलफल गर्नेछ,’ अध्यक्ष कार्कीले भने ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरू, व्यापारिक समुदायबाट इप्पानसँगै अन्य निजी क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी छन् । प्रधानमन्त्री दाहालसँगै उनको सचिवालयका सदस्यहरू भने अमेरिकाबाटै चीन प्रस्थान गरेका छन् ।