पहिलो खेलमै नेपाल स्तब्ध, पाकिस्तान १–० ले विजयी

बिहिबार, ४ असोज, २०८०
डिजिटल संस्करण
पहिलो खेलमै नेपाल स्तब्ध, पाकिस्तान १–० ले विजयी

नेपालविरुद्ध गोल गरेपछि खुसी मनाउँदै पाकिस्तानी खेलाडी । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

साफ यू–१९ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो। 

जितसँगै पाकिस्तान पहिलो खेलमा तीन अंक जोड्न सफल भयो। नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। यसअघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। 

पहिलो २० मिनेटसम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गरे पनि त्यसपछि पाकिस्तानले घरेलु टोलीलाई दबाबमा राखेको थियो। 

खेलको ७६औँ मिनेटमा पाकिस्तानले खेलमा गोल गरेको थियो। मिडफिल्डर अली जफरले ३० यार्ड टाढाबाट हानेको प्रहार सीधै जाली चुमेको हो। जफरको प्रहार नेपाली गोलकिपर तथा कप्तान जियारथ शेखले बचाउने प्रयास गरे पनि सफल भएनन्। 

नेपालले दोस्रो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ। आज नै भएको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० ले हराएको थियो।
 

सुझावित समाचार