१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Saturday, 28 September, 2024
२o८o असोज ४ बिहीबार १३:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित भवनबाट सेवा सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १३:५५:oo

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ। संविधान दिवसको अवसर पारेर बुधबारदेखि नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो।

मण्डनदेउपुर नगरपालिका– ७ कुन्ताबेँसीमा भाडाको घरबाट सेवा दिँदै आएको नगरपालिकाले सोही वडाको मनमैतीमा नयाँ प्रशासनिक भवन निर्माणपश्चात् सेवा प्रारम्भ गरेको हो। भवन उद्घाटनअगावै सेवा सुरु गरिएको हो। भाडा तिर्दातिर्दा हैरान भएकाले नवनिर्मित भवनमा सर्नका लागि हतार गरेको नगरप्रमुख टोकबहादुर वाइबाले बताए। 

अघिल्लो कार्यकालमा भवन निर्माणको काम सुरु गरेकोमा सम्पन्न नभएकाले भवन निर्माणको काम सम्पन्न गर्न र पाँच शय्याको अस्पताललाई २० बेडको अस्पताल बनाउन पुनः जनप्रतिनिधि बनेको उनको भनाइ छ। 

उनका अनुसार नगरपालिकाको प्रशासनिक भवन करिब निर्माण सम्पन्न भइसकेको छ भने अब अस्पताल निर्माणको कामले गति लिनेछ। 

मालपोत र नापी नक्साको काम पनि नगरपालिकाले गर्न सक्षम भएको वाइबाले बताए। अहिले संघीय सरकारमातहत रहेको मालपोत, नापी नक्साको काम पनि संघीय सरकारले दिएमा सुरु गर्ने उनको भनाइ छ।

जग्गादाताहरूलाई धन्यवाद दिँदै सेवा गरिएको बताउँदै नगरप्रमुख वाइबाले भवन उद्घाटनको समयमा जग्गादातालाई सम्मान गर्ने बताए। 

नगरउपप्रमुख विष्णुमणि नेपालले भवन निर्माणका लागि अघिल्लो कार्यकालका जनप्रतिनिधिहरूको योगदानले आज नवनिर्मित भवन पाएको बताए।

नगरउपप्रमुख नेपालका अनुसार मण्डनदेउपुरको नागरिकले एउटै गेट प्रवेश गरेर सबै प्रशासनिक सेवा पाउन सक्ने गरी भवन निर्माण भएको छ। नागरिकको सेवालाई नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ०७७ पुस १० गते निर्माण कम्पनीसँग सम्झौता गरी सुरु गरेको थियो।

नगरपालिकाका सबइन्जिनियर सुदर्शनकुमार शाहका अनुसार सुरुमा २१ करोड ८० लाख ८६ हजार दुई सय ९० लागत अनुमानित गरेकोमा फेरि ८.२३ प्रतिशत थप गरी २३ करोड ८६ लाख ८१ हजार सात सय ९० पुगेको थियो। बिकेओआई जयमाता जेभी निर्माण कम्पनीले १५ करोड ३९ लाख ९९ हजार ७२ मा सम्झौता गरेका थिए। 

शाहका अनुसार तीनतले नवनिर्मित भवनमा क्यान्टिन र गार्डरुमसहित ६२ कोठा छन्। सो भवन पूर्ण रूपमा अपांगमैत्री र लिफ्टसहितको छ। यस्तै दुई सय दुईजनाको क्षमतासहितको सभाहल निर्माण अन्तिम चरण छ।