१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २० बिहीबार १३:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पश्चिम नेपालका थारू समुदायले आज ‘अट्वारी’ पर्व मनाउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o७:oo

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने पर्वको रूपमा पश्चिम नेपालको तराई र भित्री मधेसका थारू समुदायले आज अट्वारी पर्व मनाउँदै छन्।

महाभारतका पाण्डवमध्येका भीमको नाममा चढाइएको परिकार आफ्ना विवाहित चेलीबेटीलाई उपहारको रूपमा दिइने भएकाले यो पर्वलाई थारू समुदायले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध जोड्ने, बढाउने र सुधार्ने पर्वको रूपमा मनाउने गरेका छन्। यो पर्वमा दाजुभाइले विवाहित दिदीबहिनीलाई कोसेली दिने चलन छ। जुन यस पर्वमा अनिवार्यजस्तै मानिन्छ।

पश्चिम नेपालका थारूले कृष्ण जन्माष्टमीपछिको दोस्रो हप्तापछि पर्ने आइतबारका दिन अट्वारी मनाउँछन् । थारू जातिले ‘माघी’ र दसैँपछि ‘अट्वारी’ पर्वलाई तेस्रो ठूलो पर्वको रूपमा मनाउँदै आएका छन्। यो पर्व दुई दिनसम्म मनाइन्छ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेत जिल्लाका थारू समुदायले यो पर्व उल्लासका साथ मनाउने गर्दछन्। ‘अट्वारी’ पर्वमा थारू समुदायका प्रायजसो पुरुष व्रत बस्छन् । पुरुषहरू भालेले डाँको छोड्नुभन्दा पहिले दर खान्छन्। यसलाई थारू समुदायले ‘भिन्सर्या’ भन्दछन्।

पुरुषहरू निराहार व्रत बस्छन् र दिउँसो गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने रोटी पकाउँछन्। यो आगो मुखले फुक्न मिल्दैन। मुखले फुके अशुद्ध हुन्छ भन्ने मान्यता छ। ‘गन्यारी काठबाट निकालिएको आगो मुखले फुकेमा अशुद्ध मानिन्छ र फेरि अर्को आगो निकालेर रोटी पकाउनुपर्छ,’ थारू गुर्वा मोहनलाल चौधरीले भने।

पहिलो रोटीलाई एकतर्फबाट पकाएर भीमलाई चढाउँछन्। यो रोटी खान मिल्दैन। ‘थारू राजा दंगीशरणमाथि शत्रुले आक्रमण गरेपछि सुर्खेतको काँक्रेबिहारमा विहार गर्न गएका भीम पाक्दै गरेको रोटी छाडेर दंगीशरणलाई साथ दिएको र युद्ध जितेकाले थारू समुदायले भीमको नाममा एकतर्फबाट पकाएको रोटी चढाउने गरेको किंवदन्ती छ।

आइतबार व्रत बसेका पुरुषले बेलुका एक भाग भीमलाई चढाउँछन् र एक भाग आफ्ना विवाहित चेलीबेटीका लागि छुट्याउँछन्। यही परिकार सोमबारका दिन चेलीबेटीको घरमा पुर्‍याउँछन्।

सोमबार बिहान अट्वारीको फर्हार (फलाहार) गर्छन्। अट्वारीको व्रत बस्ने पुरुषहरू बिहानै उठेर नजिकैको नदी, खोलामा स्नान गरेर बैठक कोठालाई लिपपोत गरी तीन, पाँच या सात थरीका तरकारी पकाउँछन् । तरकारीमा चना, मटर, केराउ, सिल्टुङको तरकारी अनिवार्य हुन्छ । फर्हार गर्नका लागि पोइँको पातको तरकारी पनि अनिवार्य मानिन्छ।

यी विभिन्न थरीका तरकारी र भातको आधा भाग एउटा टपरीमा र आधा भाग आफ्ना चेलीबेटीका लागि अर्को टपरीमा राखिन्छ । सबै थरीका तरकारी र भात अलिकति झिकेर आगोलाई चढाइन्छ । यसलाई नै थारू समुदायले फर्हार कहर्ना (फर्हार गर्ने) भन्छन्।

व्रत बसेका सबैले फर्हार गरिसकेपछि घरका सबैजना सँगै बसेर भात खान्छन्। अट्वारीको बेलुकीपख चेलीबेटीका लागि छुट्याइएको अग्रासनको रोटी र सोमबार बिहान गरिएको फर्हारको भात तथा तरकारी आफ्नो विवाहित चेलीबेटीलाई अग्रासनको रूपमा दिने चलन छ।

थारू समुदायले अट्वारीको रोटीपुरी र तरकारी, भात आफ्ना चेलीबेटीलाई दिने चलन छ । यो अट्वारीको विशेषता हो । यसलाई थारू समुदायले ‘अग्रासन’ भन्छन्। परापूर्व कालदेखि नै अग्रासन दिने गरिएकाले विवाहित चेलीबेटीहरू अग्रासनको पर्खाइमा हुन्छन्। जबसम ‘अग्रासन’ दिन दाजुभाइ, काका, बाबा आउँदैनन् तबसम्म पर्खेर बसेका हुन्छन्।

‘अग्रासन दिन नआउँदासम्म केही नखाएर चेलीबेटी बसेका हुन्छन्,’ थारू अगुवा सुशील चौधरीले भने, ‘अघिपछिको भन्दा अट्वारीको अग्रासनको महत्व हुन्छ। अग्रासन दिन नजाने हो भने चेलीबेटीले पिर मान्दछन्। अरू पर्वको भन्दा चेलीबेटीलाई अग्रासनको बढी आशा राखेका हुन्छन्।’

ad
ad