मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Tuesday, 17 December, 2024
एने–मेरी स्लटर
इलोना जाबो
जायाती घोष
पुनम घिमिरे
२o८o भदौ २८ बिहीबार o८:५o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ग्रह र मानिसको भविष्यका लागि ‘प्याक्ट’

Read Time : > 2 मिनेट
एने–मेरी स्लटर
इलोना जाबो
जायाती घोष
पुनम घिमिरे
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार o८:५o:oo

हाम्रो साझा भविष्य तब मात्रै सुरक्षित छ, जब हामीले पृथ्वीसँगको सम्बन्धमा रूपान्तरणकारी परिवर्तन ल्याउँछौँ । यो साता न्युयोर्कमा भइरहेको राष्ट्रसंघीय महासभामा सन् २०२४ का समिट ‘अफ द फ्युचर’को योजना बनाउन मन्त्रीस्तरीय संवाद सुरु हुनेछ । यी संवादमा हामीले हाम्रो साझा घर पृथ्वीको रक्षा गर्न एकतालाई प्राथमिकता दिनुपर्छ ।

जलवायु परिवर्तन, जैविक विविधता र प्रदूषणको त्रिआयामिक ग्रहीय संकट हरेक वर्ष तीव्र एवं पेचिलो हुँदै गइरहेको छ । हिउँका पत्र पातलिँदै छन्, कोरल चट्टान खिइँदै छन् र उष्ण वनमा दिनानुदिन क्षति पुगिरहेको छ । वास्तवमा विश्व अपरिवर्तनीय उच्चतम बिन्दुतर्फ गइरहेको छ । हालैको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी) को प्रतिवेदनले शून्य कार्बन उत्सर्जनका बाबजुद पनि सन् २०५० मा १.५ डिग्री सेल्सियसको औसत तापक्रम वृद्धिमै सीमित हुने–नहुनेमा निश्चिन्तता छैन ।

यी तमाम जोखिम एवं चुनौतीका बाबजुद हरित एवं समतामूलक विश्व अर्थतन्त्र हासिल गर्न सकिन्छ । वास्तवमा एक सुसंगत पहलकदमीको सुरुवात तब हुनेछ, जब ग्रहको दोहन गरेर ऐतिहासिक लाभ उठाएका धनी राष्ट्र र समुदाय आफ्नो लाभलाई स्विकार्दै जलवायु संकट न्यूनीकरणका लागि विशेष दायित्व वहन गर्नेछन् ।

ऐतिहासिक रूपमा हालसम्मकै कुल कार्बनको आधाभन्दा बढी हिस्सा उत्सर्जन गरेर नै धनी राष्ट्र विकसित भएका हुन् । यस सन्दर्भमा पेरिस जलवायु सम्झौताले स्पष्ट रूपमा सन् १९९२ को रियो दि जेनेरियोको विश्व सम्मेलन अर्थात् राष्ट्रसंघीय जलवायु परिवर्तन रूपरेखा सम्मेलनको मुख्य सिद्धान्त ‘साझा तर विविध जिम्मेवारी’मा जोड दिएको छ । धनी मुलुकले बढी उत्सर्जन गर्ने भएकाले वातावरणीय समाधानको जिम्मेवारी उत्सर्जनअनुसार तय हुनुपर्छ । निम्न एवं मध्यमस्तरका आय भएका मुलुकसँग स्वभावतः आर्थिक वृद्धिको लक्ष्य पछ्याउने अधिकार छ, तर यी लक्ष्य जनहितका लागि दिगोपनालाई केन्द्रमा राख्दै पूरा गर्नुपर्छ । 

ग्रहको दोहन गरेर ऐतिहासिक लाभ उठाएका धनी राष्ट्र र समुदायले जलवायु संकट न्यूनीकरणका लागि विशेष दायित्व वहन गर्नुपर्छ

मुलुकलाई स्वच्छ हरित रूपान्तरणका लागि राजनीतिक इच्छाशक्ति निर्माण गर्न प्रशस्त ऊर्जा, समृद्ध जैविक विविधता र फलिफाप हुने ग्रहलाई समावेश गर्ने दृष्टिकोण आवश्यक पर्छ । राष्ट्र संघका महासचिवका लागि प्रभावकारी बहुपक्षीयतावादको उच्चस्तरीय परामर्श बोर्डका सदस्यका नाताले यो उद्देश्य पूर्तिका लागि हामीले ‘प्याक्ट फर फ्युचर’ (भविष्यका लागि सम्झौता) लाई अघि सारेका छौँ । यी सम्झौतामा निहित सिफारिसले मानिस र ग्रहबीचको सम्बन्धलाई पुनः सन्तुलित गर्ने उद्देश्य राखेका छन् । एचएलएबीले यही अप्रिलमा राष्ट्र संघका महासचिवलाई बुझाएको प्रतिवेदनमा यी सिफारिस प्रस्तुत गरिएका थिए । 

हाम्रो सुझाबले एक सम्पन्न ग्रह एक विश्वव्यापी सार्वजनिक सम्पत्ति हो, जसले सबै मानवजातिका लागि लाभ पुर्‍याउँछ भन्ने स्विकार्छ । यी सुझाबले हालको सन्धि दायित्वको पालना गर्दै, साझा आकांक्षाको उत्थान गर्दै र औसत शून्य–कार्बन उत्सर्जनको भविष्य निर्माण गर्न दुवै राष्ट्र एवं गैरसरकारी संस्थाका लागि आवश्यक स्रोत उपलब्ध गराउनेछ ।

विकासोन्मुख मुलुकले हरित संक्रमणलाई उच्च आय भएका राष्ट्र बन्ने अवसर प्रदान गर्नेछ । अमेरिकी मुद्रास्फीति न्यूनीकरण ऐन र युरोपेली हरित सम्झौताजस्ता महत्वाकांक्षी नीतिका लागि पर्याप्त धनको अभाव भए पनि यी मुलुकसँग ग्रह संरक्षणका लागि आवश्यक वन र ऊर्जा संक्रमणका लागि आवश्यक महत्वपूर्ण खनिजजस्ता स्रोत छन् । यसबाहेक विश्वव्यापी शक्ति परिवर्तनले यी मुलुकलाई नयाँ कोषका अवसर र समतामूलक जलवायु सम्झौताको मौका दिएको छ । 

प्याक्ट फर द फ्युचरको संवाद–बहसका सहभागीका नाताले न्यून एवं मध्यम आय भएका मुलुकले आफ्नो हरित आकांक्षालाई प्रोत्साहन गर्न सक्छन्, दिगो भविष्यको खाका निर्माण गर्न नेतृत्व लिन सक्छन् भन्ने हामीले पाएका छाैँ । त्यति मात्रै नभई यी मुलुकले यसअघिको ‘श्रमको अन्तर्राष्ट्रिय विभाजन’लाई चुनौती दिन सक्छन् । स्मरण रहोस्, यो विभाजनमा उन्नत अर्थतन्त्रको फाइदाका लागि कमजोर अर्थतन्त्रको स्रोत–साधनको शोषण हुने गरेको थियो । समिट अफ द फ्युचरमा यी मुलुकले समतामूलक जलवायु रूपान्तरण र दिगो विकास लक्ष्यको पूर्तिको लागि अन्तर्राष्ट्रिय सम्झौता र वित्तीय संयन्त्रका लागि सुझाब र वार्ताको पहलकदमी लिन सक्छन् ।

मानिस र ग्रह दुवैलाई लाभ पुर्‍याउने प्याक्ट फर फ्युचरको जग तयार भइसकेको छ । हामीले पेरिस जलवायु सम्झौताजस्ता सन्धिमा हाम्रा प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुपर्छ, निश्चित समय सीमाभित्र प्रगतिलाई गति दिनुपर्छ, र शून्य उत्सर्जन हासिल गर्ने, जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने, विद्युत्मा पहुँच नभएका ८० करोड मानिसलाई स्वच्छ ऊर्जा प्रदान गर्ने, संरक्षणका नयाँ उपायका साथै वन विनाश रोक्न, प्रकृतिको सम्मान गर्ने लक्ष्य तय गर्नुपर्छ । आदिवासी र स्थानीय समुदाय, पारिस्थितिक प्रणालीको पुनस्र्थापना र प्रदूषण रोक्न पनि प्याक्टले प्रतिबद्धता जनाउनुपर्छ ।

कोषका अतिरिक्त एचएलएबीले एक निष्पक्ष हरित संक्रमणलाई प्राविधिक साझेदारी, कार्बन मूल्य निर्धारण, जीवाश्म इन्धन अनुदानको अन्त्य, पारदर्शिता र स्वच्छ ऊर्जा प्रोत्साहनमा पनि जोड दिन्छ । भविष्यलाई सुरक्षित बनाउँदै र अवसर सिर्जना गरेर जलवायु परिवर्तनलाई सम्बोधन गर्दा सबैलाई फाइदा हुन्छ । सम्झौतामा बलियो प्रतिबद्धता र स्पष्ट अपेक्षाको आवश्यकता हुन्छ । समिट फर द फ्युचर तयारी गर्दै गर्दा दिगो एवं निष्पक्ष रूपान्तरणको परिकल्पना आवश्यक छ ।
(स्लटर अमेरिकी विदेश मन्त्रालयको नीति योजनाकी पूर्वनिर्देशक, जाबो इगारेब इन्स्टिच्युटकी सह–संस्थापक एवं अध्यक्ष, घोष मेसेचुसेट्स एम्हेरेस्टका अर्थशास्त्रकी प्राध्यापक तथा घिमिरे एचएलएबीकी सदस्य हुन्) प्रोजेक्ट सिन्डिकेटबाट