
साउदी प्रो लिगमा आबद्ध अल इतिहादले मोहमद सलाह भित्र्याउन प्रस्तुत गरेको एक सय ५० मिलियन डलर पाउन्ड प्रस्ताव लिभरपुलले अस्वीकार गरेको छ । इतिहादले साउदी प्रो लिगमा अहिलेसम्मकै कीर्तिमानी प्रस्ताव लिभरपुलसमक्ष राखेको थियो । तर, इंग्लिस प्रिमियर लिगको क्लब लिभरपुलले आफ्ना महत्वपूर्ण खेलाडी बिक्रीमा नरहेको जनाएको छ । इतिहादले आफ्नो टोली बलियो बनाउन सलाहलाई भित्र्याउन एक महिनादेखि पछि लागेको थियो । लिभरपुलले उनलाई बेच्न नचाहेको बिबिसीले जनाएको छ ।
सलाह भित्र्याउन असफल भएपछि इतिहादले अब इंग्लिस क्लबका खेलाडीमाथि आँखा लगाएको छ । डिफेन्डर लुइस फिलिपे तथा डेमारी गायमाथि प्रस्ताव पठाउने तयारी गरेको छ । यस सिजनमा आक्रामक शैलीमा खेलाडी अनुबन्ध गरेको इतिहादले स्पेनिस क्लब रियल म्याड्रिडबाट करिम बेन्जिमा र चेल्सीका एंगोलो कान्टेलाई अनुबन्ध गरेको थियो । साथसाथै, फाविन्हो र जोटासमेत इतिहादले भित्र्याएको छ ।
साउदी प्रो लिगका निर्देशक माइकल इमेनालोले सलाहलाई अनुबन्ध गर्ने बाटो बन्द नभएको जनाएका छन् । ‘वर्तमान समयमै हामीले उत्कृष्ट खेलाडी अनुबन्ध प्रयास गर्यौँ, यद्यपि पहिलो चरणमा असफल भए पनि उनलाई ल्याउने बाटो पूरै बन्द भएको छैन,’ इमेनालोले भने । गत सिजनमा इजिप्टका खेलाडी सलाहले लिभरपुलसँग तीन वर्षको सम्झौता गरेका थिए । इमेनालोले निकै गोप्य रूपमा इजिप्टका खेलाडीसँग वार्ता चलिरहेको जनाए ।