नेपाल तेक्वान्दो संघले ११औँ कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा आफूहरूलाई खेल्नबाट वञ्चित गराएको आरोप लगाएका छन् । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघकै संयुक्त आयोजनामा २७ देखि ३१ भदौसम्म कोरियन एम्बेसडर तेक्वान्दो हुँदै छ । यसै प्रतियोगितामा संघका केही पदाधिकारी र खेलाडीले प्रतियोगितामा सहभागिता गराउन पहल नगरेको ४० जना पीडित खेलाडीले बताएका हुन् ।
संघले ४ भदौमा खेलाडीको नाम दर्ताको सूचना निकालेको थियो । प्रतियोगितामा सहभागिताका लागि तयारी गरेका खेलाडीहरूले आफ्नो नाम दर्ता गर्न खोज्दा संघका पदाधिकारीले विभिन्न बहाना गरी नाम दर्ता गर्न नदिएको बताए । ‘संघले हामी खेलाडीमाथि तेक्वान्दो संघले विभेद गरेको छ,’ कोटेश्वर डोजाङका खेलाडी एलिस ठकुरीले भने, ‘यदि हामीले खेल्न पाएनौँ भने अधिकार प्राप्त गर्न कानुनी उपचारमा जान्छौँ ।’ सो प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपालबाट पनि खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । तर, प्रकाशशमशेर राणा नेतृत्वको संघले आफूहरूको दर्ता अस्वीकृत गरेको खेलाडीहरूले दाबी गरेका छन् ।
संघले स्वतन्त्रतापूर्वक खेल्न पाउने आफूहरूको अधिकारबाट वञ्चित गराएको उनीहरूले आरोप लगाएका छन् । संघभित्रको राजनीतिक खिचातानीका कारण आफूहरूको भविष्यमाथि समेत खेलबाड भइरहेको उनीहरूले निराशा पोखेका छन् । प्रतियोगितामा सहभागी हुन तयारी गरेका अधिकांश खेलाडीले संघबाट निरंकुशता लाद्न खोजेको जनाए । प्रतियोगितामा सहभागी हुनका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा समेत निवेदन दिए पनि कुनै सुनुवाइ नभएको खेलाडी ठकुरीले बताए ।
संघले तोकेकै शुल्क बुझाउँदा पनि भएन नाम दर्ता
इमेलमार्फत तेक्वान्दो संघलाई जानकारी गराउँदा सुनुवाइ नभएपछि आफूहरू बाध्य भएर अगाडि आएको खेलाडीले बताए । आबद्ध डोजाङमार्फत संघले तोकेको विभिन्न शुल्क बुझाएर तोकेको मापदण्ड पूरा गरी खेल्न योग्य हुँदा पनि प्रतियोगितामा भाग लिन नदिनु दुःखद भएको ठकुरीले बताएका छन् । ‘संघका पदाधिकारीबीच आपसी कुरा नमिल्दा हामी अन्यायमा परेका छौँ,’ उनले भने, ‘संघले खेलाडीलाई समान व्यवहार गर्नुपर्छ ।’ तेक्वान्दो संघमा आसीन केही पदाधिकारीको निरंकुशता हावी भएको उनको भनाइ छ । ‘संघ सबैको साझा हो, सबैलाई एकै नजरमा हेरिनुपर्छ,’ उनले भने, ‘नाम दर्ता गराउन जाँदा हामीलाई विभिन्न बहाना गरी फर्काइएको थियो ।’
नेपालस्थित दक्षिण कोरियाली दूतावासको पाँच लाख सहयोगमा हुँदै आएको तेक्वान्दो प्रतियोगितामा यसअघि खेलाडीले निःशुल्क खेल्दै आए पनि यसपटकदेखि एक हजार पाँच सय शुल्क लिएको र सोही शुल्क तिरेर पनि आफूहरूले खेल्न नपाएको तेक्वान्दो खेलाडीको भनाइ छ । संघको गतिविधिविरुद्ध दूतावासमा समेत निवेदन दिएको खेलाडीहरूले जानकारी दिए । कोही खेलाडीले संघको विरुद्धमा बोल्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नबाट वञ्चित गर्ने नियत भएको खेलाडीहरूले आरोप लगाएका छन् ।