
नेपाल आयल निगमको प्रादेशिक कार्यालय अर्थात् गगनगौँडा डिपो पोखरामा भएको तेल अपचलन घट्नाको छानबिन गरेको प्रहरीले प्रस्तावित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ । प्रहरीले घटनाको अनुसन्धान सकेर १९ भदौमा प्रतिवेदन बुझाएको हो ।
हंसपुरका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले जिल्ला प्रशासनको पत्रपछि आवश्यक छानबिन सकेर प्रतिवेदन पेस गरेको जानकारी दिए । आरोपितहरूलाई कस्तो कारबाहीका लागि प्रहरीले गरेको सिफारिस गोप्य हुने उनको भनाइ छ । यो नयाँ र नौलो घटना रहेकाले अनुसन्धानका काम अझै केही बाँकी रहेकाले प्रहरीले बुझाएको प्रतिवेदन के छ भन्न नमिल्ने भन्दै उनले केही जानकारी दिन चाहेनन् ।
सरकारी वकिलको कार्यालय कास्कीका सूचना अधिकारीसमेत रहेका सहायक न्यायाधिवक्ता महेन्द्रप्रसाद अधिकारीले प्रहरीले प्रतिवेदन बुझाएको र यसको अध्ययन हुँदै गरेको बताए । प्रतिवेदन अध्ययनपछि कार्यालले अभियोगपत्र तयार गर्ने उनको भनाइ छ । अभियोगपत्र तयार भएर दर्ता नभएसम्म अन्य केही बताउन नमिल्ने उनले जानकारी दिए ।
प्रहरीले दिएको प्रतिवेदनलाई आधार मानेर सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गरी दर्ता गर्ने जनाइएको छ । २५ साउनमा डिपोबाट १२ हजार लिटर डिजेल खरिद गरेर पोखरा २७ स्थित पश्चिमाञ्चल ट्रेडर्समा लाँदै गरेको ग.२ख ८३६ नम्बरको ट्यांकरमा डिपोमा रकम बुझाएको भन्दा तीन हजार दुई सय लिटर बढी डिजेल फेला पारेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले घटना भ्रष्टाचार निवारण ऐनसँग सम्बन्धित रहेको भन्दै आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयलाई २६ साउनमा लेखिपठाएको थियो भने आवश्यक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हंसपुरलाई लेखिपठाएको थियो ।
यसअघि प्रारम्भिक अनुसन्धान सकेपछि २९ साउनमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ को दफा २५२ बमोजिमको कसुरअन्तर्गत आपराधिक विश्वासघात (ठगी) शीर्षकमा जिल्ला अदालत कास्कीमा प्रहरीले मुद्दा दर्ता गरेकोे थियो । प्रहरीले मुद्दा दर्ता गरेपछि अदालतले ३० साउनमा चारजनालाई पक्राउ गरी थप अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको थियो । अदालतले अनुमति दिएसँगै घटनामा संलग्न रहेको आरोपमा गण्डकी धौलागिरि पोट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव वर्ष ५१ का जगन्नाथ ढुंगाना र ट्यांकरचालक वर्ष २८ का निर्मल थापालाई २९ साउनमा प्रहरीले पक्राउ गरेको थियो ।
दुईजना पक्राउ परे पनि फरार रहेका दुईजनामध्ये डिपोबाट खरिद गरेको भन्दा बढी तेल ल्याउँदै गरेको ट्ंयाकरसँगै लैजाने पेट्रोलपम्प पश्चिमाञ्चल ट्रेडर्स पोखरा २७ डाँडाकोनाकका सञ्चालक बाबुराम जमरकट्टेलले १४ भदौमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । जमरकट्टेल लेखनाथ उद्योग वाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन । निगमले २६ साउनदेखि उनको पम्पमा तेल ढुवानी रोकेको छ । डिपो प्रमुख चितरञ्जन दास भने हालसम्म फरार छन् ।