जुट विकास एकेडेमी सुनसरी ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जुट विकासले सोमबार भएको सेमिफाइनलमा पथरी–११ स्पोर्टिङ क्लब मोरङलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै अन्तिम दुई स्थान रक्षा गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि फाइनल पुग्ने टोलीको छिनोफानो टाइब्रेकरबाट भयो । प्रतिस्पर्धामा दुवै टोली आक्रामक रूपमा देखिन्थे । खेल सञ्चालन गरेका रेफ्री दीपेश लिम्बूले ६ पहेँलो कार्ड देखाए । उनले पहिलो हाफमा पाँच र दोस्रो हाफमा एक पहेँलो कार्ड देखाएका हुन् ।
मंगलबार रेड स्टार फुटबल क्लब बिर्तामोड झापा र रेड हर्स फुटबल क्लब इलामबीच दोस्रो सेमिफाइनल खेल हुने सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले बताए । प्रतियोगिताको पहिलो हुनेले ३ लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।