१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भेरी अस्पतालमा छैन रेबिजविरुद्धको खोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१८:oo

कुकुरले टोकेपछि बाँके राप्तीसोनारी गाउँपालिका–१ कुसुमका अख्तर खान नेपालगन्जमा रहेको भेरी अस्पताल पुगे । जाँचपछि चिकित्सकले दिएको पर्चा लिएर उनी भेरी अस्पतालकै फार्मेसी पुगे । तर, फार्मेसीले निःशुल्क पाइने रेबिजविरुद्धको खोप नभएको बतायो । र, उनले छेउकै मेडिकलबाट ६ सय ३० रुपैयाँमा एक डोज खोप किने । थप १० रुपैयाँमा एउटा सुई र सिरिन्ज पनि किने । ‘सरकारले रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध हुने भन्छ । तर, अस्पतालको फार्मेसीमा पाइएन, मैले त एक डोजको ६ सय ३० तिरेँ,’ उनले भने । 

सरकारले सन् २०३० भित्र कुकुरको टोकाइबाट मानिसमा सर्ने रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । सोहीअनुसार रेबिजविरुद्धको खोप निःशुल्क घोषणा गरिए पनि सरकारी अस्पतालमा जहिल्यै अभाव हुन्छ । बजारमा महँगोमा खोप पाइने भएकाले विपन्न तथा असहाय बिरामी खोप नलगाएर फर्किने गरेका छन् ।

तीमध्ये नेपालगन्ज उपमहानगरपालिका–१४ का सरोज यादव पनि एक हुन् । उनलाई १० भदौमा कुकुरले टोकेपछि भेरी अस्पताल पुगे । अस्पतालले बाहिरबाट खोप किनेर ल्याउन भनेपछि उनी त्यत्तिकै घर फर्किए । ‘बाहिर किन्न जाँदा एउटा भ्याक्सिनको ६ सय ३० रुपैयाँ पर्ने रहेछ, किन्न सकिएन । पैसा तिरेर किन्न नसकिने भएपछि त्यसै फर्किएँ,’ उनले भने । 

रेबिजविरुद्धको खोप तीनपटक लगाउनुपर्छ । बाहिरको मेडिकलबाट खरिद गर्दा एकजनाको कुल खर्च एक हजार नौ सय २० रुपैयाँ हुन आउँछ । तर, एक भाइल भ्याक्सिनबाट दुईजनाले लगाउन मिल्छ । दुईजनालाई लगाउन कुकुरले टोकेको अर्को व्यक्ति सम्पर्कमा आउनुपर्ने हुन्छ । ‘मैले अर्को व्यक्तिलाई पर्खिरहेको थिएँ, तर कोही आएनन् । एक डोज अस्पतालको १८ नम्बर कोठामा छोडेर आएँ,’ अख्तरले भने । 

भेरीमा एक महिनादेखि रेबिजविरुद्धको खोप अभाव छ । तर, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले खोप सकिएको एक हप्ता मात्र भएको जिकिर गरे । उनले पहिलेदेखि लगाउँदै आएकालाई भ्याक्सिन दिँदै आएको बताउँदै एक हप्तायता अस्पतालमा भ्याक्सिन नभएको बताए । 

स्वास्थ्य सेवा विभागसँग माग गरे पनि नपाएको बताउँदै उनले ५०–६० भाइल माग्दासमेत नपाएको जिकिर गरे । स्वास्थ्य सेवा विभागमा समेत नभएकाले भ्याक्सिनबारे अझै निश्चित नभएको उनले स्पष्ट पारे । ‘खरिद भएपछि मात्र पठाउन सकिने जवाफ स्वास्थ्य विभागले दिएको छ । आउने–नआउने अझै निश्चित छैन,’ डा. रायमाझीले भने । 

बिरामीले बाहिरबाट खरिद गरेको गुनासो गरे पनि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रायमाझीले अति गरिबलाई सामाजिक सेवा एकाइमार्फत भ्याक्सिनमा सहयोग गरिरहेको दाबी गरे । बाहिरको मेडिकलबाट किन्न नसक्ने गरिब तथा असहायलाई खरिद गर्न सहयोग गरिरहेका छौँ,’ उनले भने ।

ad
ad