१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नवराज पनेरू डडेल्धुरा
२o८१ बैशाख ३१ सोमबार o९:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

डडेल्धुरा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढ्यो

Read Time : > 2 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२९:oo

स्वीकृति पाएलगत्तै ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजोयोथेरापी र बिएस्सी नर्सिङका कक्षा सुरु गर्ने तयारी, अर्को वर्ष एमबिबिए अध्यापन गराइने

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आधार संकायका रूपमा सञ्चालन हुने डडेल्धुरा मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएपछि रणनीतिक योजना बनाएर काम अगाडि बढाइएको हो । 

अनुमतिको प्रतीक्षामा छौँ :हेमनाथ जोशी, डिन, सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय

डडेल्धुरा मेडिकल कलेजमार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगलाई अनुमति माग गरिएको थियो । कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन्–छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरिसकेको छ । अनुमति पाए तोकेको मितिमै कक्षा सञ्चालन गर्नेछौँ ।

सोही क्रममा केही दिनअघि चिकित्सा शिक्षा आयोगको टोलीले डडेल्धुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन होमनाथ जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगलाई अनुमति माग गरिएको थियो । ‘हामीले ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजोयोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डिन जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको छ ।’ डिन जोशीले पाँचवटा विषयका कक्षा सञ्चालनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापक भर्ना गर्न आवेदन पनि खुला गरिएको जानकारी दिए । 

चिकित्सा शिक्षा आयोगले पठाएको चार सदस्यीय टोलीले डडेल्धुरा अस्पतालका सम्पूर्ण विभागसँगै अस्पतालमा निर्माणाधीन भवन, मेडिकल कलेजको नाममा रहेको जग्गालगायतको अनुगमन गरेको हो । टोलीमा आयोगकी शाखा अधिकृत नारायणी जोशीसँगै प्राध्यापक भुवनकुमारी डंगोल, दीपेन्द्र झा र उपप्राध्यापक महेशप्रसाद भुसाल थिए । यस्तै, सो क्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशी, रजिस्ट्रार यज्ञराज पाठकलगायतको पनि सहभागिता रहेको थियो । सुदूरपश्चिम विश्वविद्यालयको आधार संकायका रूपमा सञ्चालन हुने डडेल्धुरा मेडिकल कलेजले अनुमति पाए माघदेखि कक्षा सञ्चालन हुने उपकुलपति जोशीले बताए । ‘हामीले पाँच विषयका लागि अनुमति मागेका थियौँ र चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन पनि गरिसकेको छ,’ उनले भने, ‘पाँचवटै विषयको पनि अनुमति पाए हामी आयोगले कक्षा सञ्चालनका लागि तोकेको मितिमै यहाँ पनि कक्षा सञ्चालन गर्न सक्छौँ ।’ 

यस वर्षदेखि ब्याचलरका कार्यक्रम सञ्चालन गरेर अर्को वर्षदेखि एमबिबिएसका कक्षा सञ्चालन गर्ने योजना रहेको उपकुलपति जोशीले बताए । ‘अहिले डडेल्धुरा अस्पतालमा सय शय्या सञ्चालनमा छ,’ उनले भने, ‘निर्माणाधीन भवनको काम पनि अन्तिम चरणमा पुगेको छ । भवन अस्पताललाई हस्तान्तरण भए अस्पताल तीन सय शय्यामा सञ्चालन हुनेछ । तीन सय शय्यामा अस्पताल सञ्चालन हुनासाथ हामी एमबिबिएसको अध्यापन पनि सुरु गर्छौं ।’

सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार पाठकले माघदेखि स्नातकका कक्षा सञ्चालन गर्न डडेल्धुरा मेडिकल कलेजसँग आवश्यक सबै पूर्वाधार रहेको बताए । ‘अनुगमन टोलीले चिकित्सा शिक्षा आयोगलाई प्रतिवेदन बुझाएपछि हामीले कक्षा सञ्चालनका लागि अनुमति पाउनेछौँ भन्ने विश्वास छ,’ उनले भने । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले चिकित्सा शिक्षा आयोगको टोलीबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । ‘चिकित्सा शिक्षा आयोगबाट डडेल्धुरा मेडिकल कलेजले अध्यापन अनुमति पाउनेमा विश्वस्त छौँ,’ उनले भने, ‘केही आधारभूत कुरा पूरा गर्न बाँकी भए पनि हामी तत्काल नै पूरा गर्न तयार छौँ । आयोगबाट अनुमति पाए यस वर्ष स्नातक र अर्को वर्षदेखि एमबिबिएसका कक्षा सञ्चालन गर्ने हाम्रो तयारी छ ।’ 

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । तर, भौतिक संरचना निर्माणका लागि डिपिआर निमार्णको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । 

ad
ad