विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल महासंघमाथि लगाएको प्रतिबन्ध हटाएको छ । फिफा महासचिव सामोउराले सोमबार श्रीलंका फुटबल महासंघलाई पत्र लेख्दै निलम्बन हटाएको जानकारी गराएकी छिन् । श्रीलंकाली फुटबल संघमा सरकारको हस्तक्षेप भएको जनाउँदै गत २१ जनवरीमा फिफाले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध पूर्ण रूपमा हट्न महासंघले विभिन्न काम गर्नुपर्ने सामोउराले बताइन् । फुटबल महासंघले १६ सेप्टेम्बरमा निर्वाचन गर्दै छ ।
महासंघले निर्वाचनमा फिफाको विधानअनुसार हुनुपर्ने र तेस्रो पक्षले हस्तक्षेप गर्नु नहुने फिफाले स्पष्ट पारेको छ ।‘श्रीलंकाली फुटबल महासंघले सेप्टेम्बरमा गर्ने निर्वाचन फिफाको विधानअनुसार हुनुपर्छ, यसपटक पनि सरकारी निकायको हस्तक्षेप हुँदा थप कारबाहीमा पर्न सक्छ,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
फिफा, एएफसी र खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै महासंघले अघिल्लोपटक निर्वाचन गरेको थियो । महासंघको चुनावलाई फिफा र एएफसीले मान्यता दिएको थिएन । फिफाको ब्युरो काउन्सिलले निलम्बन फुकुवा गर्ने निर्णय गरेको भन्दै त्यसका लागि महासंघले विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ । फिफाले फुटबल महासंघलाई नयाँ कार्यसमितिले सबै नियम पालना गर्नु भनेको छ । महासंघले फिफा र एएफसीलाई सबै नियम पालना गर्ने प्रतिबद्धता गरेको छ । ‘सेप्टेम्बरमा हुने महासंघको निर्वाचनमा हामी सबै नियम पालना गरी अगाडि बढछौँ,’ महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘अघिल्लोपटकको निर्वाचनमा हामीबाट केही गल्ती भएको थियो ।’
सात महिनाअघि फिफा र एएफसीको विधान पालना नगरेका कारण श्रीलंकन एफए कालोसूचीमा परेको थियो । श्रीलंकाली खेलकुद मन्त्रालयले सीधै फुटबलमा हस्तक्षेप गरेको जनाउँदै फिफाले कालोसूचीमा राखेको थियो । फिफाको विधानमा फुटबल संघ तथा संस्थामा सरकारी हस्तक्षेप स्वीकार्य छैन । यदि यस्तो कार्य हुँदा फुटबल संघ प्रतिबन्धमा पर्न सक्ने फिफाले जनाएको छ ।
एसिया र ओलम्पिक छनोट खेल्नबाट वञ्चित
फिफाको प्रतिबन्धमा रहँदा श्रीलंकाको युवादेखि सिनियर टोलीले महत्वपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्न वञ्चित भयो । प्रतिबन्धको समयमा सन् २०२४ मा पेरिसमा आयोजना हुने ओलम्पिक, यू–२३ एसिया कप तथा कतारमा आयोजना हुने एसिया कप छनोट खेलाडीले खेल्न पाएनन् । फुटबल संघ प्रतिबन्धमा रहँदा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न नपाउने फिफाले उल्लेख गरेको छ । ‘प्रतिबन्ध समयमा हामीले महत्वपूर्ण प्रतियोगिता गुमायौँ,’ महासंघले भनेको छ, ‘फुकुवासँगै अब हामीलाई केही सहज भएको छ ।’ यू–२३ एसिया कप १५ अप्रिल देखि ३ मे २०२४ सम्म कतारमा हुनेछ ।