भक्तपुरको सल्लाघारी हुँदै कमलविनायक निस्कने सडकखण्ड दुई लेनको मात्रै छ । तर, त्यही सडकको दायाँ–बायाँ करिब एक लेन ढाक्ने गरी विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने बहानामा भत्काएर अलपत्र छाडेको छ । सडकको दुवैतिर ठाउँ–ठाउँँमा भत्काएका कारण ठूला सवारीसाधन मुस्किलले छिर्छन् भने पदैलयात्रीका लागि त बाटै छैन । प्राधिकरणले तार भूमिगत गरिसके पनि सडक मर्मत भने गरेको छैन । सडक खन्दा निकालेको माटो किनारमै थुप्रिएको छ । सल्लाघारीदेखि कमलविनायकसम्ममा करिब एक सय ठाउँमा यस्ता खाल्डाखुल्डी छन् ।
दूधपाटीका विनय सुवालका अनुसार सडकका खाल्डाखुल्डी र माटो थुप्रिँदा चार महिनादेखि स्थानीयले सास्ती भोगिरहेका छन् । तार भूमिगत सकिए पनि खाल्डाखुल्डी नपुर्दा कालोपत्रे सडकसमेत हिलाम्य भएको छ । ‘साँघुरो सडक भत्काएर त्यसै छाड्दा हिँडिनसक्नुभएको छ,’ सुवालले भने, ‘प्राधिकरणले काम सकेर पनि खाल्डो पुर्न चासो देखाएन ।’ दूधपाटीमा चारवटा अस्पतालसहित दमकल कार्यालय पनि छ । सडक यसरी अस्तव्यस्त बनाउँदा बिरामी बोकेका एम्बुलेन्स र दमकलले समेत सास्ती भोग्ने गरेका छन् ।
सुशीलबाबु ढकाल महानिर्देशक, सडक विभाग
असारअघिसम्म उपत्यकाका सडक लगभग खाल्डाविहीन थिए । तर, त्यसयता काम गर्न पाएका छैनौँ । बर्खाका वेला खाल्डा टाल्नै नहुने भन्ने पनि होइन । यसको मुख्य कारण लगातार पानी पर्नु र हामीसँग बजेट नहुनु हो । अहिले करिडोर सडक झन् घिनलाग्दा भएका छन् । अर्थ मन्त्रालयले बजेट निकासा गरेपछि १५ भदौसम्म खाल्डाखुल्डी पुरिसक्छौँ ।
सल्लाघारी–दूधपाटी सडक खण्ड त प्रतिनिधि उदाहरण मात्रै हो । बर्खा लागेसँगै काठमाडौं उपत्यकाका अधिकांश सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको छ । नियमअनुसार बर्खाका वेला सडक कालोपत्रे गर्न मिल्दैन, तर खाल्डाखुल्डी टाल्न भने मिल्छ । तर, बर्खाको बहाना बनाउँदै सम्बन्धित निकायले मुख्य सडककै खाल्डाखुल्डी टाल्न आलटाल गरिरहेका छन् । काठमाडौंका सडक मर्मत तथा टाल्ने जिम्मा सडक विभाग, काठमाडौं महानगरपालिका, सडक डिभिजन कार्यालय काठमाडौं, नेपाल विद्युत् प्राधिकरण, उपत्यका विकास प्राधिकरणलगायतको हो । यी निकायको बेवास्ताले उपत्यकाका सडक अस्तव्यस्त र धरापपूर्ण बनिरहेका छन् ।
सडक मर्मतलाई सरकारले प्राथमिकता नदिएको आरोप
यातायातविज्ञ आशिष गजुरेलले सरकारले सडक र यातायातलाई प्राथमिकतामा नराख्दा पदयात्री र सवारीचालकले सास्ती खेप्नुपरेको बताए । ‘उपत्यकाका सडक संरचना यसै पनि यात्रुमैत्री छैनन्, त्यसमाथि पनि मनलाग्दा खाल्डा टाल्ने, मन नलाग्दा बेवास्ता गर्ने सरकारी प्रवृत्ति छ,’ उनले भने, ‘सडक पूर्वाधार जीर्ण बन्दा सवारी ओहोरदोहोरमा समस्या भएको छ ।’
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले भने पर्याप्त बजेट नहुँदा खाल्डाखुल्डी टाल्न नसकेको बताए । ‘असारअघिसम्म उपत्यकालाई लगभग खाल्डाविहीन बनाएका थियौँ, त्यसयता भने खाल्डा टाल्ने काम भएको छैन, यसमा बजेटको समस्या पनि हो,’ उनले भने, ‘अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौँ, १५ भदौसम्म खाल्डा पुरिन्छन् ।’ उनले बालुवाटार क्षेत्रको सडक र करिडोर सडक घिनलाग्दो अवस्थामा भइसकेको बताए । यसलाई छिटो व्यवस्थित गर्ने दाबी पनि गरे । उनका अनुसार बर्खामा पानी निकास व्यवस्थित नहुँदा उपत्यकाका सडक बिग्रन्छन् ।
यस्तै, यहाँका सबै सडक मर्मत विभागको मात्रै जिम्मामा नरहेको उनको भनाइ छ । करिडोर सडक उपत्यका विकास प्राधिकरण, तार भूमिगत गर्दा खनेको सडक विद्युत् प्राधिकरण, सहायक भित्री सडक महानगरपालिका, चक्रपथ सडक डिभिजन तथा चक्रपथ सुधार आयोजनालगायतले गर्नुपर्ने महानिर्देशक ढकालले बताए । तर, ठूला सडक टाल्ने तथा कालोपत्रे गर्ने जिम्मा विभागकै हो ।
काठमाडौं र ललितपुरको सीमा बालकुमारी पुलमुिन सडकमा रहेको खाडल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
सिंहदरबारसँगै जोडिएका सडकमा खाल्डैखाल्डा
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै जोडिएका सडकमा परेका खाल्डाखुल्डीसमेत पुरिएको छैन । पुतलीसडक हुँदै माइतीघरतर्फ जाँदा सर्वोच्च अदालतको गेटनजिकै सडकमा खाल्डो परेको छ । यो एक सातादेखि मर्मत हुन सकेको छैन । यसैका कारण सवारीसाधनको गति कम हुँदा कार्यालय समयमा ट्राफिक जाम हुने गरेको छ ।
यस्तै, कमलादीस्थित काठमाडौं महानगरको नयाँ कार्यालय काठमाडौं प्लाजाअगाडिको सडकका खाल्डाखुल्डी महिनौँदेखि अलपत्र अवस्थामा छ । आफ्नै भवनअगाडिका खाल्डाखुल्डीसमेत महानगरले टालेको छैन । एक वर्षअघि (भदौ ०७९) महानगरले खाल्डाखुल्डी पुर्न पूर्वाधार एम्बुलेन्ससमेत सञ्चालनमा ल्याएको थियो । तर, उक्त एम्बुलेन्स पाँच महिनामै बन्द भएको थियो । उक्त एम्बुलेन्स हाल महानगरको वातावरण विभागपरिसरमा थन्किएको छ ।
खाल्डामा पानी जम्दा डेंगुको डर
सडकका खाल्डामा पानी जमेका कारण लामखुट्टेले लार्भा पार्ने र डेंगुको जोखिमसमेत बढेको जनस्वास्थ्यविज्ञले बताएका छन् । ‘सबैतिर अहिले डेंगु फैलिएको छ, डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्नुको विकल्प छैन । यसका लागि कतै पनि पानी जम्न दिनुहुँदैन,’ स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा प्रमुख अनुप बाँस्तोलाले भने, ‘तर उपत्यकाका सडकका खाल्डाखुल्डीमा पानी जमेको छ, त्यहाँ पनि लामखुट्टेले लार्भा पार्छ ।’ डेंगु नियन्त्रण गर्न सडकमा पानी जम्नै दिन नहुने उनी बताउँछन् ।
काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजाअगाडिको सडकको खाडल । यो महिनौँदेखि पुरिएको छैन ।
कहाँ–कहाँ छन् खाल्डाखुल्डी ?
सबैभन्दा धेरै खाल्डाखुल्डी त्रिपुरेश्वर–कलंकी सडकखण्डमा छन् । यस्तै, कोटेश्वरदेखि माइतीघरसम्म पनि फाट्टफुट्ट खाल्डाखुल्डी देखिन्छन् । भक्तपुर सल्लाघारी–कमलविनायक, कोटेश्वर–सल्लाघारी, सूर्यविनायक–जगाती, जगाती–च्यामासिंह, ललितपुरको मंगलबजार–ग्वार्काे, कुमारीपाटी–जावलाखेल, सातदोबाटो–हरिसिद्धि, चापागाउँ दोबाटो–चापागाउँ, काठमाडाैंको थापागाउँ–अनामनगर, चक्रपथको चाबहिल र गौशाला खण्ड, पुरानो बानेश्वर–मैतीदेवी, रत्नपार्क–जमल, कमलादीस्थित काठमाडौं प्लाजाअगाडि, पुतलीसडक माइतीघर, मैतीदेवी, कमलपोखरी, रातोपुल, बागमती करिडोर, विष्णुमती करिडोर, धोबीखोला करिडोर, चुच्चेपाटी–महाँकाललगायत सडकमा खाल्डाखुल्डी छन् ।
हिँडिसक्नु छैन करिडोर सडक
उपत्यकाका मुख्य सडकमा हुने सवारीसाधनको चाप घटाउन करिडोर र सहायक सडकले प्रभावकारी भूमिका खेलिरहेका छन् । तर, पछिल्लो सयम करिडोर तथा सहायक सडकका खाल्डाखुल्डीले हिँडिसाध्य छैन । बागमती करिडोर, विष्णुमती करिडोर, धोबीखोला करिडोरलगायत सडकखण्ड अहिले हिलाम्य, धुलाम्य र खाल्डाखुल्डीका कारण जोखिमयुक्त छन् ।
बागमती करिडोरको सिनामंगल पुलमुनि ढलान गरेर अझै सकिएको छैन । तिनकुनेको पुलमुनि ढलान भए पनि भिएस निकेतन कलेज हुँदै ललितपुरतर्फ जाने करिडोर सडक खाल्डाखुल्डीकै कारण जोखिमयुक्त छ । यस्तै, धोबीखोला करिडोरअन्तर्गत बिजुलीबजार पुलमुनिको सडक अझै खोलिएको छैन ।