उनी एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । उनले दिउँसो बालबालिकाको परीक्षा लिएर परीक्षणका लागि उत्तरपुस्तिका घरमा ल्याएकी थिइन् । साँझ घरमा बसेर उत्तरपुस्तिका परीक्षण गर्दै गर्दा उनका आँखाबाट आँसु बग्न थाल्यो । उनका पति नजिकै सोफामा पल्टिएर मोबाइल चलाइरहेका थिए । उनले पत्नीसित रुनुको कारण सोधे ।
पत्नीले आँसु पुछ्दै भनिन्– आज मैले विद्यार्थीलाई ‘मेरो सबैभन्दा ठूलो इच्छा’ शीर्षकमा केही लेख्न लगाएकी थिएँ । एक बालकले लेखेको रहेछ– ‘भगवान्, मलाई मोबाइल बनाइदिनुहोस् ।’ पत्नीको कुरा सुनेर पति हाँस्न थाले । पत्नीले भनिन्– अगाडि उसले के लेखेको छ, त्यो त सुन्नुहोस् । उसले लेखेको छ– यदि म मोबाइल बनेँ भने घरमा म सबैको साथमा हुनेछु । सबैजना मलाई ध्यानपूर्वक सुन्नेछन्, हेर्नेछन् र रमाउनेछन् । मलाई कसैले रोकटोक गर्नेछैन र मसँग कसैले सवालजबाफ पनि गर्नेछैन । जब म मोबाइल बन्नेछु, तब अफिसबाट आएपछि थाकेको भए पनि मेरा बाबा मसँगै हुनुहुनेछ । आमालाई जब तनाव हुनेछ, तब उहाँले मलाई गाली गर्नुहुनेछैन । उल्टो मेरै साथ रहनुहुनेछ । मेरा दाजु र दिदीबीच मलाई हेर्न र चलाउन झगडा पर्नेछ । जब मोबाइल बन्द गरिनेछ, तब पनि मेरो निकै राम्रो हेरचाह हुनेछ । अँ साँच्ची, मोबाइलका रूपमा म सबैलाई खुसी दिन पनि सक्नेछु । यो सुनेपछि पति पनि थोरै गम्भीर भए र भने– हे भगवान् ! बिचरो बच्चा ! उसका बाबुआमाले त उसलाई कत्ति पनि ध्यान दिँदा रहेनछन्, हगि ?
पत्नीले आँसुले टिलपिल भरिएका आँखाले पतितिर हेरिन् र प्रश्न गरिन्– थाहा छ, यो बालक को हो ? यो अरू कोही नभएर हाम्रो आफ्नै छोरो हो, हाम्रै कान्छो !
कतै यो ‘कान्छो’ तपाईंको आफ्नै बच्चा त होइन ?