१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ३ आइतबार १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङ बजारमा मापदण्डविपरीतका संरचना हटाउन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार १४:३८:oo

बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्रमा मापदण्डविपरीत बनेका संरचना हटाएको छ। आफ्नौ कार्यालयअगाडिको पर्खाल हटाएको नगरपालिकाले निश्चित समय दिएर मापदण्डविपरीतका संरचना हटाउन सुरु गरेको हो।

नगरपालिकाले दुई सय ३३ घर र पाँचवटा संघसंस्थाअगाडि मापदण्डविपरीत बनेका सडकपेटीमा रेखांकन गरेको थियो। उनीहरूलाई  साउन ३२ गतेसम्म त्यस्ता संरचना हटाउन समय दिइएको थियो। सो समयभित्र एक सय १५ वटा संरचना घरधनी स्वयंले भत्काए। तर, अटेर गर्नेहरूको संरचना नगरपालिकाले डोजर लगाएर हटाउन सुरु गरेको हो।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठको नेतृत्वको टोलीले शनिबार बागलुङ नगरपालिका– २ मरेपिपल धौलागिरी अस्पतालपछाडि अवैध रूपमा बनेको संरचनाबाट एक्सन लिन सुरु गरेको छ। शनिबार मात्रै ४० वटा घरअगाडि मापदण्डविपरीत बनेका सडकपेटी फालिएको नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए।

बागलुङ बजारको सौदर्यीकरणका निम्ति अवैध संरचनाहरू हटाउन लागिएको नगरपालिकाले जनाएको छ।  वडा नं.  १, २, ३ र ४ मा बजार क्षेत्र रहेको र सडक नै मिचेर विभिन्न संरचनाहरू बनेका कारण त्यस्ता संरचनाहरू भत्काउन लागिएको नगरप्रमुख श्रेष्ठले बताए। सडक साँघुरो र अव्यवस्थित संरचनाका कारण सर्वसाधारण र यातायातका साधन सञ्चालनमा नै निकै कठिनाइ भएकाले अवैध र अव्यवस्थित संरचना हटाइएको नगरप्रमुख श्रेष्ठको भनाइ छ।

अवैध संरचना हटाउँदा भत्किएका अन्य संरचना पुनर्निर्माणका निम्ति नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने जनाएको छ। ‘पहिलो चरणमा सबै नागरिकलाई सुसूचित गरी साउन मसान्तसम्मको समय तोकिएको थियो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘तोकिएको समयमा केही घरधनीले आफैँ हटाउनुभयो। उहाँहरूलाई नगरपालिकाले धन्यवाद पनि प्रकट गरेको छ। हटाउन अटेर गरेकालाई नगरपालिकाले आफैँ हटाउन लागेको हो।’

नगरपालिकाले बजार क्षेत्रमा मात्र नभएर क्रमशः ग्रामीण भेगमा पनि मापदण्डविपरीत बनेका संरचना हटाउने प्रस्ट पारेको छ।